नाओमी र क्यारोलिनाको उपाधि भिडन्त


टोकियो । २ साताअगाडि मात्र युएस ओपनको उपाधि जितेकी नाओमी ओसाकाले जापानमा जारी पान प्यासिफिक टेनिसको उपाधिका लागि चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभासँग प्रतिस्पर्धा गर्ने भएकी छन् । विश्व नम्बर–३ जापनिज स्टार ओसाकाले घरेलु मैदानमा विश्व नम्बर–४ प्लिसकोभाको चुनौतीको सामना गर्नेछिन् ।

यसअघि, शनिबार ओसाकाले सेमिफाइनलमा इटालीकी क्यामिला जियोर्जीलाई हराउँदै पूर्व विश्व नम्बर–१ प्लिसकोभासँगको भेट पक्का गरिन् । जापानलाई पहिलो ग्रान्ड स्लाम जितताउन सफल ओसाकाले घरेलु कोर्टमा उत्कृष्ट प्रदर्शन गर्दै ३७ वर्षे जियोर्जीलाई खेलभरि नै दबाबमा राखिन् ।

पहिलो सेट ६–२ ले जितेकी ओसााकले दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारिन् । २० वर्षीया ओसाकाले जियोजीमाथि जित निकाल्न ७२ मिनेट समय लगाइन् । २ वर्षअघि पान प्यासिफिक टेनिसकी उपविजेता ओसाकाले यस हप्ता एउटा पनि सेट गुमाएकी छैनन्, जसमा उनीले १ सर्भिस मात्र खेर फालेकी छन् ।

ओसाकाले आइतबार उपाधिका लागि चेककी प्लिस्कोभासँग खेल्नेछिन् । पहिलो सेमिफाइनलमा प्लिस्कोभा सर्बियन स्टार डोन्ना भेकिकलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधिनजिक पुगिन् ।

प्लिस्कोभाले पहिलो सेटमा ६–२ को जित हात पारेकी थिइन् । तर, दोस्रो सेटमा भने भेकिकले ४–६ ले जितेपछि खेल तेस्रो सेटमा पुगेको थियो । यद्यपि, तेस्रो सेटमा ६–३ ले बाजी मार्दै प्लिस्कोभाले फाइनलको यात्रा तय गरेकी थिइन् ।

प्रतिक्रिया