जन्म र मृत्यु दर्ता गर्दा प्रोत्साहन रकम

इलाम । व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउँसभाले जन्मदर्ता र मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो । व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।

गाउँपालिकाले तोकिएको समयमा व्यक्तिगत जन्मदर्ता गर्दा प्रसूति स्याहार भत्ताबापत तीन हजार र मृत्यु दर्ता गरेमा मृतक परिवारलाई पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउने छ ।

जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रियासमेत सहज हुने भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको हो, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘यो प्रक्रिया चालु आवदेखि लागू भएको छ ।’

यस्तै, बिरामी र दीर्घ रोगीलाई पनि गाउँपालिकाले उपचार खर्च प्रदान गर्ने भएको छ । क्यान्सर रोगी, मृगौला पीडित, मुटु रोगी, ब्रेन ट्युमर तथा ब्रेन ह्यामरेज, प्यारालाइसिस भई हिडडुल गर्न नसक्ने, दुर्घटनामा परी अंगभंग भएका तथा आगलागीमा परी अपांगता भएका व्यक्तिलाई वार्षिक २० हजार र अन्य दीर्घरोगीलाई वार्षिक पाँच हजारका दरले उपचार खर्च उपलब्ध गराउने बताइएको छ ।

सम्बन्धित वडाको सिफारिसका आधारमा प्रोत्साहन रकम तथा उपचार खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गरेको यो निर्णयप्रति फाकफोकथुमबासी हर्षित भएको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया