प्रहरी अब डिजिटल प्रणालीबाट परिचालित : राई

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले, प्रदेशलाई अपराधमुक्त र सुरक्षित प्रदेश बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागेको बताएका छन् ।

पहिलो चरणमा मोरङ जिल्लाबाट सुुरु भएको डिजिटल प्रहरी परिचालन प्रणालीको बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा शुभारम्भ गर्दै मुख्यमन्त्री राईले प्रदेश–१ मा शान्ति सुरक्षा र सुशासन कायम गर्न प्रविधि मैत्री प्रणालीको विकास आवश्यक रहेको बताए ।

उनले प्रदेशको राजधानीलगायत छिमेकी मुलुकसँग जोडिएको सीमाक्षेत्रमा सुरक्षा सुदृढ बनाउन मोबाइल एप्स प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताए ।

मुख्यमन्त्री विगतको सात महिनामा प्रदेश सरकार आवश्यक संरचना तथा पूर्वाधार निर्माणमा लागेकाले अबको समय प्रदेशको समृद्धिमा लाग्नेमा जोड दिए ।

उनले संघीय सरकार तथा स्थानीय सरकारको संरचना र ढाँचाहरू पहिलेदेखि नै बने पनि प्रदेश सरकारको संरचना र कानुन तथा नीतिनियम नबनेका कारण सहज रूपले काम गर्न नसकेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नागरिकको सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रदेश–१ प्रमुख डिआइजी केदार रिजालले डिजिटल प्रहरी परिचालन प्रणालीलाई विस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मोरङका प्रहरी प्रमुख मनोज केसीले डिजिटल प्रहरी परिचालन प्रणालीको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया