यातायातमा पुनः मनोमानी, फेरी सूरु भयाे व्यवसायीकाे मनाेमानी

पेट्रोलियम पदार्थमा बढेको भाउ नघटाएको भन्दै व्यवसायीद्वारा शुक्रबारबाट सुरु गर्ने भनिएको दसैँको अग्रिम बुकिङ नखोल्ने निर्णय

काठमाडौं । सरकारले यातायात क्षेत्रको सिन्डिकेट तोडेको घोषणा गरे पनि यातायात व्यवसायीहरूले पुनः मनोमानी गर्न थालेका छन् । व्यवसायीले दसैँको अग्रिम बुकिङ नखोल्ने, आफू खुसी सवारीसाधन नचलाउने, चालकको नाममा बन्द गर्नेजस्ता कार्यलाई बढुवा दिँदै आएका छन् ।

चाडबाड नजिकएसँगै रोक्का रहेको बैंक खाता खोल्नुपर्ने र भाडा बढाउनुपर्ने मुख्य माग गर्दै व्यवसायीले सरकारसँग निरन्तर बार्गेनिङ गरिरहेका छन् । ३१ भदौदेखि यातायात व्यवस्था विभागसँग दुईबुँदे सहमतिअनुसार शुक्रबारबाट दसैँको अग्रिम बुकिङ खुलाउने सहमति गरे पनि अन्तिम समयमा आएर नखुलाउने निर्णय गरेका छन् ।

अग्रिम बुकिङ खुलाउने सहमति गरेलगत्तै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा बढाउन दबाब दिने उद्देश्यले बुकिङ नखुलाउने निर्णय गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको छ ।

नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ३÷३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाएको थियो । यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको थियो ।

आफूहरूको माग सुनुवाइ नगरेको भन्दै महासंघले बैठक बसेर शुक्रबारदेखि गर्ने भनिएको दसैँको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासचिव सरोज सिटौलाले जानकारी दिए । उता, यातायातका चालकहरूले पनि मुलुकी संहिताको विरोधमा विभिन्न सहरमा जारी राखेको प्रदर्शन र सवारी नचलाउने निर्णय अराजक बन्दै गएको छ ।

उनीहरूले आफ्नै सहकर्मी चालकलाई सार्वजनिक स्थानमा जुत्ता–चप्पलको माला लगाइदिएका छन् । सडकमा गुडेका सवारीहरूलाई रोक्ने र विभिन्न ठाउँमा जुत्ताको माला लगाउने काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । कतिपय जिल्लामा सवारी अहिले बन्द छ भने कतिपय ठाउँमा बन्द रहेका सवारीसाधन बिहीबार अपराह्नबाट खुलेका छन् ।

प्रतिक्रिया