एसिड अपराधको बिगबिगी

विगत केही वर्षदेखि नेपालमा पनि एसिड आक्रमणका घटना बढ्न थालेका छन् । तीन वर्षअघि राजधानी काठमाडौंको वसन्तपुरमा एसएलसी परीक्षाको तयारी गर्दै गरेका दुईजना किशोरीहरू एसिड प्रहारबाट घाइते भएको घटनाले निकै सनसनी पैदा गरेको थियो । गतसाता मात्रै रौतहटको चन्द्रनिगाहपुरमा पनि एसिड प्रहारबाट दुईजना युवती घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था चिन्ताजनक छ । यी दुवै घटनाका प्रकृति मिल्दाजुल्दा छन् । तीन वर्षअघि वसन्तपुरमा भएको घटनाका अपराधीले आफूले राखेको प्रेम प्रस्ताव स्वीकार नगरेका कारण आक्रमण गरेको बताएको थियो । गतसाता रौतहटमा भएको घटनाका अभियुक्तले पनि प्रेम प्रस्ताव अस्वीकार गरेका कारण आक्रमण गरेको बताएको प्रहरीले जनाएको छ । अपराधीहरूले आक्रमणको हतियारका रूपमा एसिड प्रयोग गर्ने घटना भारत, बंगलादेश तथा पाकिस्तानमा धेरै पहिलेदेखि नै हुुँदै आएका थिए । ती मुलुकमा अहिले पनि यस्ता अपराधले निरन्तरता पाइरहेका छन् । अधिकांश अपराधमा किशोरीहरू पीडित हुने गरेका छन् । आक्रमणकारीहरू पुरुष नै हुनै गरेका छन् । धेरैजसो घटना एकतर्फी प्रेमसँग नै जोडिएका छन् । नेपालमा एसिड आक्रमणको अपराध, भारत, बंगलादेश तथा पाकिस्तानबाट भित्रिएको हो । केही वर्ष अघिसम्म नेपालीहरूलाई एसिडबारे खासै थाहा थिएन । भारतीय सिनेमा तथा टेलिभिजन च्यानलहरूले व्यापकता पाएसँगै एसिड आक्रमण गर्न पनि नेपालीहरूले सिके ।

खासगरी, नेपालमा विषादी उत्पादन तथा ब्याट्री सुरक्षित राख्ने लगायतका काममा एसिडको प्रयोग गरिन्छ । यसको उपयोग सम्बन्धित क्षेत्रका सीमित मान्छेलाई मात्रै थाहा छ । तर, दुरुपयोग भने धेरैलाई थाहा भइसकेको छ । सायद यसरी दुरुपयोग हुन्छ भन्ने थाहा पाएको भए एसिडका आविष्कारकले पनि आविष्कार गर्नुपूर्व धेरैपटक सोच्थे होलान् । आक्रमणका लागि सबैभन्दा सजिलो हतियारका रूपमा एसिड प्रयोग हुनु धेरै नै चिन्ताको विषय हो । यसबारे हरेक देशले सोच्नुपर्ने वेला आइसकेको छ । मनिसको शरीरमा पर्नासाथ एसिडले छोएको छालाका तन्तुहरू खुम्चिन्छन्, बिग्रन्छन्, आकार बदलिन्छन् वा कुरूप हुन्छन् अनि डढ्छन् । मात्रा बढी भएमा एसिडले छालाभित्रको मांसपेशीलाई समेत असर गर्दै हाडसमेत पगाल्ने काम गर्छ । आगोको पोलाइ र एसिडको पोलाइ मिल्दोजुल्दो हुन्छ।

दक्षिण–पूर्वी एसियाका देशहरूमा गरिएको एसिड आक्रमणको अध्ययनअनुसार कुल आक्रमणको ५५ प्रतिशत विवाहको प्रस्ताव नस्विकार्दा भएको छ । १८ प्रतिशत आक्रमण पारिवारिक झगडाका क्रममा भएको छ । ११ प्रतिशत आक्रमण सम्पत्तिसम्बन्धी झगडाका क्रममा भएको छ । एसिड आक्रमणको सबैभन्दा ठूलो बिगिबिगी रहेको बंगलादेशमा एसिडको किनबेचमा कडा नियन्त्रण गरेपछि घटना अलि कम भएको छ । बंगलादेशले सन् २००२ मा एसिड आक्रमण गर्नेलाई मृत्युदण्ड दिने र एसिडको बिक्री, भण्डारण र अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण गर्ने कानुन नै ल्याएको छ । भारत र पाकिस्तानले पनि कडा कानुन ल्याएका छन् । नेपालमा भने केही वर्ष अघिसम्म एसिड आक्रमणको अपराधसम्बन्धी छुट्टै कानुनी प्रावधान थिएन । वसन्तपुरको घटनापछि छुट्टै कानुनी प्रावधानको आवश्यकता महसुस भयो । गत १ भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ०७४ मा एसिड आक्रमणकारीलाई ५ देखि ८ वर्षसम्म कैद र एकदेखि डेढ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ । तर, यतिले मात्रै पुग्दैन । सदुपयोगका लागि अत्यावश्यक पर्ने व्यक्तिबाहेक अरूका हातमा एसिड पुग्नै नसक्ने गरी बेचबिखनको व्यवस्था गर्नुपर्छ । एसिड आक्रमण गर्ने मात्रै होइन आक्रमणकारीको हातसम्म एसिड पुर्याउनेलाई पनि कारबाहीको व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया