कीर्तिपुरमा खानेपानीको हाहाकार

काठमाडौं । बस्ती विस्तारसँगै परम्परागत मूल मासिँदा कीर्तिपुर नगरपालिकामा खानेपानीको हाहाकार रहँदै आएको छ । ऐतिहासिक सहर, मुलुककै शैक्षिक केन्द्र भए पनि किर्तिपुरको खानेपानी समस्या अझै समाधान हुन सकेको छैन ।

मुलुककै जेठो र ठूलो विश्वविद्यालय रहेको कीर्तिपुरमा देशैभरिबाट उच्च शिक्षाका लागि विद्यार्थीको ओइरो लाग्छ । तर, खानेपानीकै समस्याका कारण विद्यार्थी काठमाडौंका विभिन्न भागमा छरिएर बस्ने गरेका छन् ।

कीर्तिपुरको अधिकांश भू–भाग अग्ला डाँडा छन् भने केही कालिमाटीले भरिएका छन् । उच्च भाग र कालीमाटी भएकास्थानमा खानेपानीको हाहाकार भएको हो । तर, स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नगरपालिकाले खानेपानीको समस्या समाधान गर्न चासो देखाएको छ ।

कीर्तिपुर नगरपालिकाले राउटे भिर, सिमपोखरी र जातीय संग्र्रहालय आसपासको क्षेत्रको खानेपानी समस्या समाधानको लागि काम सुरु गरेको नगरपालिकाले जनाएको छ ।

‘कीर्तिपुरको उच्च भागमा रहेको क्षेत्र चोभार, गाम्चा र पाँगा पनि खानेपानीको समस्या छ’ नगर प्रमुखका निजी सचिव विकास महर्जनले भने, ‘सल्यानथान क्षेत्रको खानेपानी समस्या समाधानको लागि नगरपालिकाले डिप बोरिङको काम सम्पन्न गरिसकेको छ ।’ सल्यानथानको डिप बोरिङमा प्राविधिक समस्या देखिँदा त्यहाँका जनताले अझै खानेपानी प्रयोग गर्न पाएका छैनन् ।

कीर्तिपुर नगरपालिका वडा नं १, २, ३, ५, ६, ९ र १० का जनता अझै ट्यांकरकै पानी प्रयोग गर्न बाध्य छन् । नगरपालिकाले त्यस क्षेत्रमा ५ लाख लिटरको खानेपानी योजना अघि सारेको छ ।

वडा ७ र ८ मा खानेपानीको समस्या हल गर्न नगरपालिकाल डिप बोरिङको काम सम्पन्न गरिसकेको छ । महर्जनले भने, ‘स्थानीय जनप्रतिनिधिको आएसँगै वडा ७ र ८ का जनताले बोरिङको पानी प्रयोग गर्न थालेका छन्,’ जनताले माग गरे बमोजिम खानेपानीको सुविधा प्रदान गर्न नसक्दा नगरपालिकाले लज्जित महसुस गरेको महर्जनले बताए ।

क्वाचो, उमामहेश्वर र चिलंचोक क्षेत्रमा नगरपालिकाले मेलम्चीको पानी ल्याउन पाइपलाइन विस्तार गरिरहेको छ । ‘जनप्रतिनिधिको आएपछि खानेपानीको समस्या केही हल होला भनेको उस्तै अवस्था छ’, स्थानीय उद्धव बाँस्कोटाले बताए ।

कीर्तिपुर–६ नौमूलेमा भने खानेपानी समस्या छैन । खानेपानी सुपरीवेक्षण कार्यालय सिनामंगलले नौमूले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको गठन गरी त्यहाँका ८ सय ५० घरलाई साढे ६ करोड खर्च गरी खानेपानी सुविधा दिएको छ ।

‘नौमुलेमा करिब १२ सय घर छन् । ८ सय ५० घरले नौमूले मूलको पानी उपभोग गर्दै आएका छन्’, खानेपानी उपभोक्ता समितिका अध्यक्ष रूपेश बुढाथोकीले भने, ‘करिब ४ सय घरले स्थायी रूपमा आवास निर्माण नगर्दा खानेपानीको स्वीकृति दिएका छैनौँ । ’

नौमुलेको पानी जलविनायकदेखि टौदह अनि चारघरेदेखि लङ्गोल खत्री छापसम्मका जनताले नौमूलेको पानी खाने कुरा समितिकोे विधानमा उल्लेख छ । नौमूले क्षेत्रको खानेपानीका लागि सिनामंगलले वर्षैपिच्छे ६० देखि ७० लाख दिने गरेको बुढाथोकीले बताए ।

प्रतिक्रिया