दाता खोज्दै गाईखुरा महादेव

चरिकोटदेखि ३१ किमिको दुरीमा रहेको गाईखुरा महादेव मन्दिर आध्यात्मिक तथा धार्मिक पर्यटकको रूपमा परिचित छ । धार्मिक पर्यटकलाई विचार गरेर यस ठाउँमा होमस्टेको व्यवस्थासमेत गरिएको छ


दोलखा जिल्ला मेलुङ गाउँपालिका–२ सुकाठोकरमा प्रसिद्ध तीन शक्ति भएका श्री गाईखुरा महादेव मन्दिर निर्माण गर्नका लागि आर्थिक सहयोग जुटाउन दाताको खोजी गरिएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि कुनै निकाय पुनर्निर्माणका लागि अगाडि बढेका छैनन् ।

भूकम्पका कारण मन्दिर अगाडिको भाग पूरै लडेको छ । यसले मन्दिरलाई पनि जोखिमपूर्ण बनाएको छ । मन्दिर संरक्षणका लागि स्थानीय युवा क्लबले सक्रियता देखाएको छ । क्लबको सक्रियतामा कम्पाउन्ड निर्माण गर्नका लािग मेलुङ गाउँपालिकाले २५ लाख बजेट विनियोजन गरेको छ ।

जिल्लाकै प्रख्यात धार्मिक स्थल भएकाले उक्त मन्दिरको संरक्षणका लागि २५ लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने, ‘जसरी पनि गाईखुरा महादेवको मन्दिर तीन वर्षभित्रमा बनाएरै छाड्छौँ ।

यसका लागि हामीले पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराएका छौँ ।’ चरिकोटदेखि ३१ किमिको दुरीमा रहेको गाईखुरा महादेव मन्दिर आध्यात्मिक तथा धार्मिक पर्यटकको रूपमा परिचित छ । यहाँ पुग्न तामाकोसी, पवटी हुँदै जानुपर्दछ ।

यस क्षेत्रमा पर्यटकहरूका लागि चार÷पाँच घर लामा होमस्टेको व्यवस्था गरिएको छ । आफ्नो सवारी साधन हुनेले चरिकोटमा आएर बस्ने बिहान दोलखा भीमेश्वर मन्दिरको दर्शन गरी गाईखुरा महादेवको दर्शन गर्न जाने गर्दछन् ।

नीराहार बसी खाली पेटमा पुगेर दर्शन पूजापाठ गरेपछि केही दिनभित्रै आफ्नो मनोकामना पूरा हुने भक्तजनको विश्वासले धेरै टाढाटाढादेखि यहाँ वेद, चण्डी, लाख बत्ती बाल्न भक्तहरू आउने गरेको कुरा पुजारी हरिप्रसाद पण्डितले बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक विशालबजार कठमाडौंमा रहेको क्लबको खाता न. १०९००६६१५८०१ मा केही भक्तहरूले सहयोग जम्मा गर्ने गरेकोसमेत पुजारीले बताएका छन् । पण्डितका अनुसार दोलखामा सरुवा भएर आएपछि धेरैजसो प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत कार्यालय प्रमुखहरू गाईखुरा महादेवको पूजापाठ गर्न पुग्ने गरेका छन् ।

यस मन्दिरमा दर्शन गरेपछि आपत्विपतलगायत दैवी विपत्ति हुँदैन भन्ने विश्वास रहेको छ । यसैले दोलखा भीमेश्वर आउने धार्मिक पर्यटकहरू गाईखुरा महादेवको पनि दर्शन गर्न जाने गर्छन् ।

तर, तामाकोसी, पवटी गाईखुरा १५ कि.मी. सडक व्यवस्थित नभएकोले धार्मिक पर्यटकलाई मन्दिरसम्म आउन अहिले कठिनाइ भइरहेको छ । गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिंग र दुई वटा पहेँला नाग प्रष्ट देख्न सकिन्छ । जलधाराबाट चढाएको गाईको दूध शिलामै हराउने गरेको छ ।

सोमबार निःसन्तान दम्पती यहाँ आएर दर्शन गरेमा सन्तान प्राप्त हुने जनविश्वास रहेको छ । यहाँ पूजाआजा गर्दा विधि पुर्याएर गर्नुपर्ने हुन्छ । नत्र, बाघ र सर्पले दुःख दिन्छ भन्ने अर्काे मान्यता रहेको छ । हाल मन्दिरको क्षेत्र विस्तार गर्ने कार्य पनि भइरहेको छ ।

वडा नं. २ का वडाध्यक्ष जीतबहादुर भण्डारीले मन्दिर वरपर कम्तीमा सात रोपनी जग्गा मन्दिरको नाममा ल्याउने पहल सुरु भएको बताएका छन् । यसले मन्दिरमा आउने भक्तजनका लागि सुविधा प्रदान गर्न र यस क्षेत्रको धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।

सम्पूर्ण निकाय जुटेर अघिबढेमा दोलखा जिल्लाको दक्षिणी भेगको सबैभन्दा ठूलो धार्मिक पर्यटनस्थल गाईखुरा महादेवस्थान बन्ने निश्चित छ । वर्तमान समयको मागअनुसार कुनै पनि दाता वा निकायले यस मन्दिरको निर्माणमा पहलकदमी गरेमा मन्दिरबाट प्राप्त हुने फल सजिलैसँग आर्जन गर्न सकिने विषय निर्विवाद छ ।  (लेखक गाईखुरा युवा क्लबका अध्यक्ष हुन्)

प्रतिक्रिया