अनुदानको मलमा कालोबजारी

वीरगञ्ज । अनुदानको मलमा पर्साका सहकारी संस्थाहरूले कालोबजारी गर्दै आएका छन् ।

पश्चिम पर्साको पकहामैनपुर १ ठोरेको नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी) ७ सयमा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा ८ सयमा बिक्री गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले उक्त संस्थाका अध्यक्ष माधवप्रसाद यादवलाई ढुवानी खर्चसमेत प्रतिबोरा ७ सय ५० भन्दा बढीमा बेचेमा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।

अध्यक्ष यादवले क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तव समक्ष गुनासो गर्दै भने ‘ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा ७ सय ५० मा बेच्दा घाटा लाग्दछ ।’ प्रतिबोरा ८ सयमा बेच्ने उक्त सहकारी एउटा प्रतिनिधिपात्र मात्र हो जिल्लामा १ सय १० सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले किसानमाझ रासायनिक मल पु¥याउँदै आइरहेको छ ।

रासायनिक मलको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि जिल्लाका ग्रामीण क्षेत्रका किसान प्रभावित हुँदै आएका छन् । माग अत्याधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एक पटकमा १ सय बोरा मात्र रासायनिक मल दिने गरेको छ, तर, ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्थाले मलको अभाव देखाएर बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।

सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नुजस्ता कारणले अहिले रासायनिक मल अभाव देखिएको छ । जबकि, कृषि सामग्रीसँग अहिले पनि रासायनिक मल ३ सय मेट्रिक टन, डिएपी ६ सय ५८ मेट्रिकटन तथा पोटास ६ दशमलव ९ मेट्रिक टन मौज्दात छ ।

एउटा ट्याक्टरमा १ सय बोराभन्दा बढी मल राखिएको पाइएमा अलौचोकमा रहेको ट्राफिक प्रहरीले जरिवाना लिने, जथाभावी रकम असुल्ने गरेकाले खर्च धान्न प्रतिबोरा ८ सयमा युरिया मल बेच्नुपर्ने गुनासो गर्दै नरसिंह बाबा सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद यादवले भने, ‘कृषि सामग्री कम्पनीले एक पटकमा १ सय बोरा मात्र मल दिने भएकाले खर्च उठाउन प्रतिबोरा ८ सय मा बिक्री गर्ने गरेको हो ।’

क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बढी मूल्यमा मल बेचेको सूचना आएमा टोली खटाई छानबिन गर्न लगाउने र बढी मूल्य लिएकोे पाइएमा त्यस्ता सहकारी संस्थाको प्रमाणपत्र खारेज गरिने बताए ।

उक्त कम्पनीले पर्सा जिल्लामा मात्र आर्थिक वर्ष ०७४-७५ मा युरिया मल १० हजार ३ सय ७५ मेट्रिक टन, डिएपी पाँच हजार ७ सय ९९ मेट्रिक टन तथा पोटास १ सय ५१ मेट्रिक टन रासायनिक बिक्री गरिसकेको छ । आर्थिक वर्ष ०७५÷७६ को साउन महिनामा मात्र नौ हजार ६ सय ९८ मेट्रिक टन मल बिक्री गरिसकेको जनाएको छ ।

कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौं, त्रिशूली, चितवनलगायतका क्षेत्रमा रहेको २० हजार १ सय १४ सहकारी संस्थामार्फत आर्थिक वर्ष ०७४-७५ मा ५८ हजार १ सय ३९ मेट्रिक टन मल बिक्री गरेको छ । आन्ध्र प्रदेशको विशाखापटन बन्दरगाहमा सात हजार पाँच सय मेट्रिक टन रासायनिक मल अड्किएको छ । बाटोमा पाँच हजार मेट्रिक टन मल आइरहेकाले हाल यस क्षेत्रमा मल अभाव देखिएको हो । रासायनिक मल अभावको मौका छोपी सहकारी संस्थाले आफूखुसी बढी मूल्यमा मल बिक्री गर्ने गरेकाले धानखेती गर्ने किसानलाई समस्या परेको हो ।

प्रतिक्रिया