संविधानको मर्मअनुरूप गोपनीयताको कानुन बनाउनुपर्ने

काठमाडौँ । संविधानको मूल मर्मअनुरूप गोपनीयता हकसम्बन्धी कानुन निर्माण गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

राज्य व्यवस्था समितिको आइतबारको बैठकमा सांसदहरू दिलेन्द्र बडू, शेरबहादुर तामाङ, नवराज सिलवाल, प्रेम सुवाल र कृष्णभक्त पोखरेलले संविधानको मूल मर्मअनुसार गोपनीयताको हकसम्बन्धी कानुन निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा २८ लाई कार्यान्वयन गर्न तीन वर्षभित्र कानुन बनाएर लागू गर्नुपर्ने व्यवस्थाअनुरूप गोपनीयताको हक कार्यान्वयन गर्न ऐन बनाउन लागिएको हो । सो ऐनलाई अन्तिम रूप दिनका लागि सो समितिमा दफावार छलफल भइरहेको छ ।

गोपनीयताको हकमा कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखित तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिमबाहेक अतिक्रम्य हुनेछ भनी व्यवस्था गरिएको छ ।

सोही मर्मलाई ध्यान दिएर कानुन निर्माण गर्नका लागि समितिमा दफावार छलफल सुरु भएको हो । कानुन आयोगका अध्यक्ष माधव पौडेलले राज्यको नागरिकको गोपनीयताको हकको संरक्षण गर्नका लागि निर्माण हुन लागेको कानुन भएको उल्लेख गर्दै सामान्य नागरिक र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि पनि यो हक लागू हुने धारणा राखे ।

समितिमा गोपनीयताका विषयमा नागरिकको राहदानी, धर्म, सम्पत्ति, रगत समूहजस्ता विषयमा गोपनीयता हुने कि नहुने भन्ने विषयमा छलफल जारी छ । सोमबार पुनः दिउँसो १ बजे बैठक बसी दफावार छलफल हुनेछ ।

प्रतिक्रिया