नाचघरमा कवि अनिता

काठमाडौं । कवि अनिता लामाले वैदेशिक रोजगारीको तितो यथार्थ झल्किएको कविता सुनाउँदै गर्दा दर्शकदीर्घामा सन्नाटा छाएको थियो । वैदेशिक रोजगारीको पीडामा बाँधिएका नेपाली दाजुभाईका पिरमर्कालाई कवितामार्फत सुनाउँदा दर्शक भावुक बनेका थिए ।

सांस्कृतिक संस्थान (नाचघर) ले हरेक महिनाको अन्तिम बिहीबार आयोजना गर्दै आएको ‘स्रष्टा र सिर्जना’ को छैटौँ शृंखलामा यस पटक कवि लामालाई स्टेजमा उतारेको हो ।

उनले ‘सलाम आदरणीय आमाबुबा’ शीर्षकको कविता एकल वाचन सुरु गरेकी थिइन् । उक्त कवितामा सन्तान र आमा–बुबाबीचको सम्बन्धको सौन्दर्यलाई कलात्मक रूपमा उधिनिएको छ । त्यससँगै उनले नेपाली समाजका समसामयिक विषयमा लेखिएका करिब एक दर्जन कविता सुनाइन् ।

भिडियो कल’, ‘स्वस्थानी सांगे’, ‘मुसुरिया’, ‘आऊ बरु लास बनौँ’ लगायतका कवितामार्फत उनले वैदेशिक रोजगारीको तीतो यथार्थ, तराईको गरिबी तथा राष्ट्रिय विषयलाई भावुक ढंगले प्रस्तुत गरिन् ।

कविता सुनाउने क्रममा ‘डाक्टरहरू’ शीर्षकको कवितामार्फत उनले आफ्नो पेसागत कर्मलाई छाडेर राजनीति गरेका चिकित्सकमाथि हानिन् । उनले ‘विद्यार्थी,’ ‘संयुक्तता’, ‘संकल्प’, ‘बिर्खबहादुर माझी’ लगायतका कविता वाचन गरिन् ।

लामालाई कवि फूलमान बल र रंगकर्मी रोजिता बुद्धाचार्यले कविता वाचनमा सघाएका थिए । कार्यक्रममा साहित्यकार एवं पूर्वमन्त्री प्रदीप नेपालले कविले संघीयता र नयाँ नेपालका विषयमा कविता लेख्नुपर्ने विचार व्यक्त गरे ।

कवितामाथि टिप्पणी गर्दै रमेश शुभेच्छुकले निम्नवर्गीय पक्षधरतासँगै नारीवादी चेतना, राष्ट्रप्रेम लगायतका समसामयिक विषयका कविता लामाले सुनाएको बताए ।

संस्थानका महाप्रबन्धक राजेश थापाले कला, साहित्य, संगीत, रंगमञ्च लगायतका विविध विधामार्फत नाचघरले मासिक शृंखला चलाउँदै आएको बताए ।

उक्त कार्यक्रममा गायिका मधु गुरुङ, कवि वासुदेव अधिकारी, साहित्यकार राम विनय लगायतले कवि अनिताको व्यक्तित्व र कृतित्वबारेमा भने चर्चा गरेका थिए  । ‘अर्पण’, ‘अनुराग’ र ‘आतुङ’ तीनवटा कवितासंग्रह प्रकाशित गरिसकेकी छन् ।

प्रतिक्रिया