प्रदर्शनको साइत हेर्दै अशोक

काठमाडौं । हास्यप्रधान चलचित्र ‘जय भोले’ को ट्रेलर सार्वजनिक गरिएको छ । अशोक शर्माको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा कमेडी स्वाद र आकर्षक दृश्य राखिएको छ ।

बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा बसुन्धरा भुसाल, सौगात मल्ल, बुद्धि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, जयनन्द लामा, खगेन्द्र लामिछाने, सलोन बस्नेत, स्वस्तिमा खड्का, अशोक शर्मा लगायतका कलाकारलाई देखाइएको छ ।

अभिनेता खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ । राजनराज सिवाकोटीको संगीत र वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको यस चलचित्रको ‘उम्लियो भने पोखिन्छ’ गीत यसअघि नै सार्वजनिक गरिएको थियो ।

चलचित्रको प्रदर्शन मिति नतोकिए पनि दसैँको छेको पारेर देशव्यापी रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ३’ ले प्रदर्शन मिति नतोक्दा ‘जय भोले’ ले पनि मिति तोक्न नसकेको जनाइएको छ ।

यस वर्ष छक्का पञ्जा ३ सँग जय भोले भिड्न खोजिरहेको बताइएको छ । निर्माता तथा निर्देशक शर्माका अनुसार चलचित्र घटस्थापनादेखि पूर्णिमासम्म जुनसुकै दिनमा देशव्यापी प्रदर्शनमा आउन सक्छ ।

शर्माले दसैँमा रिलिज हुने दुवै चलचित्र चल्नुपर्ने जनाउँदै भने, ‘काठमाडौंका मुख्य र काठमाडौं बाहिरका केही हलमा चलचित्र रिलिज गर्ने सम्झौता गरिसकिएको छ ।’ अभिनेता लामिछानेले चलचित्रको कथा आफूले लेखेको भए पनि हाबी हुन नखोजेको जिकिर गरे । त्यस्तै, अर्का अभिनेता मल्लले आफूले बोलेपछि धेरै बोल्ने भन्दै चलचित्रमा काम गर्दा रमाइलो लागेको बताए ।

प्रतिक्रिया