इडलिब बारे इरानमा शिखर बैठक

तेहरान । इरान, रसिया र टर्कीका राष्ट्रपतिहरूको शुक्रबार तेहरानमा बस्ने शिखर बैठकले सिरियाको इडलिब प्रान्तमा प्रभुत्व कायम राखेका विद्रोही लडाकूको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

यो शिखर बैठक रुसी सेनाको सहयोगमा सिरियाली सेनाले इडलिबमा आक्रमण गर्ने अन्तिम तयारी गरिरहेको पूर्वसन्ध्यामा हुन लागेको हो । सिरियाली विद्रोहीको मुख्य अखडा मानिएको इडलिबमा आक्रमण भए सात वर्षयताकै सबैभन्दा ठूलो मानवीय विपत्ति निम्तिने चेतावनी दिइएको छ ।

दमास्कस र मस्कोले इडलिबमा रहेका विद्रोहीलाई परास्त गर्ने प्रतिज्ञा गरिसकेका छन्, तर शुक्रबारको शिखर बैठकले इडलिबमाथिको प्रत्याक्रमणको समय निर्धारण गर्नेछ । ‘हामीलाई थाहा छ कि सिरियाली सैनिक यो समस्या सुल्झाउन तयारी अवस्थामा छन्,’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए ।

सरकारी फौजबाट सन् २०१५ मा कब्जा गरिएको इडलिब र त्यस वरपरका इलाका मात्र विद्रोहीको नियन्त्रणमा रहेका छन् । विद्रोहीको नियन्त्रणमा रहेको यो नै अन्तिम क्षेत्र हो ।

टर्कीले भने यी विद्रोही समूहलाई विगतमा मद्दत गरिआएको थियो । इडलिबसँग सीमा जोडिएको टर्कीले यहाँ १२ वटा सैनिक जाँच चौकी स्थापना गरेको छ । सिरिया सरकारले इडलिबमा सैनिक क्षमतालाई एकीकृत र सुदृढ गरिरहेको भए पनि हालैका सातामा कुटनीतिक पहल व्यापक बनाइएको छ ।

सरकार निकट सिरियाली एक दैनिक अखबार अल–वतनले तेहरानको शिखर बैठकमा वार्ताका नतिजालाई छलफलमा राखिने लेखेको छ । बैठकमा सिरियाली सैनिक परिचालनका बारेमा प्रस्तुतीकरण पनि हुने बताइएको छ ।

संयुक्त राष्ट्रसंघ र दातृ समूहले इडलिबमा यदि पूर्णक्षमताको आक्रमण भए यो सिरियाको इतिहास मै सबैभन्दा ठूलो मानवीय विपत्ति हुने बताएका छन् । सिरिया युद्धका सातवर्षमा हालसम्म ३ लाख ५० हजारको ज्यान गइसकेको छ भने १ करोड १० लाख मानिस विस्थापित छन् ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इडलिबमा रहेका सशस्त्र समूहहरुले अझै पनि सिरियाली सरकारी कार्यालय र रुसी हवाई अखडामा आक्रमण गरिरहेको जानकारी दिँदै त्यस्तो समूहलाई जरैदेखि उखेल्नुबाहेक अर्को विकल्प नरहेको बताए ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले विद्रोहीको कब्जामा रहेको सिरियाको इडलिब प्रान्तमा जथाभावी बम र क्षेप्यास्त्र प्रहार गरिए त्यहाँ नरसंहार हुने चेतावनी दिएका छन् । ‘त्यस्तो नहोस् भन्ने भगवानसँग मेरो प्रार्थना छ । बमबारी भएमा त्यहाँ नरसंहार अवश्य हुन्छ,’ एर्डोगानले किर्गिजस्तानको भ्रमणका क्रममा पत्रकारलाई बताए ।

टर्कीका विदेशमन्त्री मेभ्लुट काभुसोग्लुले अझै पनि सम्झौताको सम्भावना रहेको बताउँदै भने, ‘शिखर बैठक हुनुअघि हामीले निरन्तर सम्पर्क गर्ने प्रयत्न गरेका छौँ र राम्रो नतिजा निस्कियोस् भन्नेमा हामी सचेत छौँ ।’

रुसले मंगलबारदेखि नै २२ दिनको विश्रामपछि पहिलोपटक इडलिबमा आक्रमण सुरु गरेको छ

प्रतिक्रिया