जातीय विभेद मुक्त ‘फाप्लु’


नेपालको कानुनले जात, वर्ग, लिंग र समुदायका आधारमा सबै समान हुन्छ भनेको छ । तर, कानुनले उक्त कुराको ग्यारेन्टी गरे पनि जातको आधारमा हुने गरेका सामाजिक विभेद जीवितै छन् । कतिपय ठाउँमा चेतनाका कारण विभेद हुने गरेको पाइन्छ भने कति पय ठाउँमा बैद्धिक भनिने वर्गबाटसमेत यस्तो हुने गरेको छ ।

केन्द्रीय राजधानी काठमाडौंमा दलित भएका कारण संसदहरूले समेत डेरा नपाएको समाचार वेलावेलामा सुन्नपर्छ । तर, दुर्गम भएर पनि सोलुखुम्बुको फाप्लु गाउँको कथा रमाइलो र प्रेरणादायी छ ।  सोलुखुम्बु जिल्लाको फाप्लु बस्ने उर्मिला श्रेष्ठ गाउँमा आफ्ना छिमेकी दलितको घरमा जाने, उनीहरू सँगसँगै बसेर उनीहरूकै घरमा आरामले खाना खाने गर्छिन् ।

केही वर्षअघिसम्म गाउँमा दलित र गैरदलितबीच हुने गरेको फरक व्यवहार पछिल्ला वर्षमा पातलिँदै गएको छ । आफ्ना गाउँ समाजमा जातीय विभेद कत्ति पनि नरहेको उनी बताउँछिन् । फाप्लु र आसपासका क्षेत्रहरू सुर्के, यमादिङमा गरी करिब दुई सय घर दलितहरू बसोवास गर्छन् ।

उक्त क्षेत्रमा शेर्पा, तामाङ, नेवारलगायत केही बाहुन र क्षेत्रीको पनि बसोवास रहेको छ । उनीहरूका बीचमा जातीय विभेद छैन । एकले अर्को जातिप्रति सम्मानपूर्वक व्यवहार गर्छन् । ‘उनीहरू हरेक क्षेत्रमा अब्बल छन्, उनीहरूका घर हाम्राभन्दा बढी सफासुग्घर छन्’, श्रेष्ठले भनिन्, ‘उनीहरूसँग बस्दा र सँगै खाँदा उनीहरू दलित हुन् त्यसैले बस्न हुँदैन भन्ने लाग्दैन ।

हामीबीच भात र भान्सा सबै चल्छ ।’ जसको घरमा जे पाकेको छ सँगै बसेर खाने गरेको उनले बताइन् । आफूहरूमा जातीय विभेदको सोचाइ नै नरहेको उनको भनाइ छ । कानुनले जातीय रूपमा कसैले कसैलाई विभेद गर्न पाइँदैन भने पनि त्यसको अवशेष भने अहिले पनि कयौँ स्थानमा जीवितै छ ।

तर, सोलुखुम्बुको फाप्लुमा बस्ने दलित र गैरदलितबीच देखिएको यो समानता राजधानीकै कतिपय क्षेत्रका लागि पनि नौलो मानिन्छ । काठमाडौं वरपरकै कतिपय गाउँमा अझै पनि दलितलाई गैरदलितले घर छिर्न नदिने, उनीहरूले छोएको पानी नचलाउने गर्छन्, अन्तरजातीय विवाह त परको कुरा ।

सामाजिक रूपमा जातपात नमान्ने भनिए पनि त्यसलाई व्यवहारमा पालना गर्न हत्तपत्त मान्छे तयार हुँदैनन् । तर, दुर्गम भएर पनि फाप्लुका वासिन्दाको सोचाइ निकै माथि छ । उनीहरूको सोचाइ र व्यवहार सबैले पालना गरे जातीय विभेद स्वतः अन्त्य हुने देखिन्छ । ‘घरमा फलेका तरकारी बिक्री गर्न टाढा जान पर्दैन, हाम्रै घरबाट यहाँका गैरदलितले किनेर लैजान्छन् ।

पितृकार्य, पूजामा गरिने भोजहरूमा उनीहरू गाह्रो नमानिकन आउँछन्, पाकेको कुरा खान्छन्,’ सोलु दूधकुण्ड नगरपालिका–४ की लली विश्वकर्माले भनिन्, ‘गैर दलितका लागि भनेर छुट्टै खानेकुरा पकाउने चलन छैन । हामी जे पकाउँछौँ त्यही सँगै बसेर खाने हो ।’ घर चलाउने महिलाहरूले नै कुनै विभेद नगरेपछि घरबाहिर काम गर्ने पुरुष वा बालबालिकामा त्यो हुने कुरै भएन ।

यसले सबैका बीचमा समानताको भावना विकास गराएको उनको भनाइ छ । परिवारका ठूलाले यस्तो व्यवहार गरेको देखेपछि पछि आउने पुस्ताले पनि त्यही सिक्ने उनीहरूको विश्वास छ । एक अर्कामा घरमा निर्बाध रूपमा प्रवेश गर्ने अनि मर्दापर्दा वा पूजाआजामा एक अर्कालाई सहयोग गर्ने यहाँका वासिन्दाको चलनले यहाँ आउने अन्य क्षेत्रका मान्छेलाई अनौठो लाग्छ ।

सुन्नेलाई विश्वास गर्न गाह्रो भए पनि त्यहीँ जानेलाई भने यसले प्रभाव पर्ने उनीहरू ठान्छन् । बाहिरबाट आउनेलाई नौलो लाग्ला सधैँ सँगै बसेर समान व्यवहार गर्नेका लागि त्यो सामान्य भइसकेको उनीहरूको दाबी छ । झापा घर भई आठ वर्षदेखि सोलुखुम्बुको फाप्लुमा शिक्षण गराउँदै आएका श्रीकृष्ण गौतम नेपालका नमुना जिल्लाका रूपमा सोलुखुम्बुलाई लिनुपर्ने बताउँछन् ।

‘नेपालका प्रायः सबै जिल्लाहरूमा दलित र गैरदलितबीच विभेद कायमै छ । तर, यहाँ त एकदमै फरक छ । मलाई सुरुसुरुका दिनमा अचम्म लाग्थ्यो, समय बित्दै जाँदा सामान्य लाग्न थाल्यो ।’ उनले भने । एउटै परिवारका रूपमा उनीहरू मिलेर बसेको देख्दा गौतमजस्तै अन्य भेगबाट आएका मानिसहरू आश्चर्य मान्छन् ।

जातीय विभेद अन्त्यको ठूला कुरा गर्ने र व्यवहारमा ठीक उल्टो गर्ने मान्छे धेरै देखेको गौतमले बताए । समाजका बौद्धिक वर्ग भनिनेहरू आज पनि दलितले छोएको खान, उनीहरूको घरमा जान र उनीहरूलाई आफ्नो घरमा प्रवेश गराउन हिचकिचाउँछन् । तर, फाप्लुका जनता हेर्दा र उनीहरूले एक–अर्कालाई गरेको व्यवहार देख्दा लाग्छ, यहाँ सबै एकै जातिका मान्छे बस्छन् ।

जातका आधारमा कोही ठूलो वा कोही सानो भन्ने यहाँ छैन । न ठूलो जातिको नाममा कसैसँग दम्भ छ न सानो जाति भएकोमा कसैमा हिनताबोध । यस्तै, सोलु दूधकुण्ड नगरपालिका–४ दलित बस्तीकी कृष्णकुमारी विश्वकर्मा भन्छिन्, ‘छुवाछुत, सानो जात र ठूलो जात भनी गरिने विभेद र अन्य कुनै किसिमको दुव्र्यवहार हाम्रो समाजमा पाइँदैन ।’ यहाँका सबै सबैको नजरमा समान छौँ ।’

उनीहरूका बीच एकको घरमा अर्काले खाने बस्ने मात्र होइन । अन्तरजातीय बिहेवारीसमेत हुने गरेको छ । आवश्यक पर्दा रकम सरसापटीदेखि लिएर तरकारी र अन्नपात पैँचो चलाउँछन् । किन फरक गर्नु ? यस क्षेत्रका दलित युवाहरूले गैरदलित समुदायका छोरीचेली विवाह गरेर घरबार बसाएका छन् । उनीहरू त्यसलाई पनि सामान्य ठान्छन् ।

बिहे भनेको मन र भावना मिलेर हुने हो । घर व्यवहार पनि त्यसैअनुसार चलाउने हो भन्नेमा उनीहरू विश्वस्त छन् । एकै जातिमा बिहे गरेर घरजम नटिकेका धेरै मान्छे देखेका छन् उनीहरूले । तर, अन्तर जातीय बिहे गरेर सुखको जीवन बाँचेकोमा दंग छन् । यस्ता धेरै कारणले जसले गर्दा जातीय रूपमा समेत फरक दृष्टिकोण नभएको गौतमको ठहर छ ।

सामाजिक रूपमा एक ढिक्का भएर बस्न थालेपछि कुनै असजिलो पर्दा एक अर्काको सहयोग लिन सजिलो भएको फाप्लुकै उर्मिला श्रेष्ठ बताउँछिन् । शिक्षा र चेतनाको विकास भएसँगै विभेद न्यूनीकरण हुँदै गएको फाप्लुकी सुमजोक लामा बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो गाउँमा मान्छेले मान्छेलाई विभेद गर्नु सामाजिक लज्जाको विषय हुन्छ ।

दलित र गैरदलित हाडछालाले बनेको उस्तै मानिस त हो किन फरक गर्नुपर्यो ? हाम्रो गाउँमा मान्छेले मान्छेलाई विभेद गर्नु सामाजिक लज्जाको विषय हुन्छ । सुमजोक लामा, फाप्लु, सोलुखुम्बुमा प्रायः सबै जातिले सबैको संस्कार र संस्कृतिलाई उतिकै महत्व दिने गर्छन् ।

उनीहरूले एक–अर्काको संस्कार र परम्परालाई सम्मानको रूपमा लिने गरेका छन् ।  हिन्दू धर्मालम्बीहरूले मनाउँदै आएका चाडबाडहरू र बौद्ध धर्मालम्बीहरूले मान्ने चाडहरू प्रायः सबै मिलेर मनाउँछन् । जसको प्रभाव स्वरूप दलित र गैरदलितबीचको एकता सम्भव भएको अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया