‘भरतपुरलाई स्मार्ट सिटी बनाउँनेछाैँ’

देशका ६ वटा महानगरपालिकामध्ये भरतपुरको मात्र प्रमुख र उपप्रमुख दुवै जिम्मेवारी महिलाले सम्हाल्दै आएका छन् । भरतपुर महानगरमा प्रमुखको रूपमा तत्कालीन नेकपा माओवादीका तर्फबाट रेणु दाहाल निर्वाचित भइन् । उनी यतिवेला भरतपुर महानगरलाई सम्पूर्ण रूपमा स्मार्ट सिटी र सुन्दर नगर बनाउने काममा सक्रिय छिन् । भौगोलिक रूपमा समेत महत्वपूर्ण रहेको भरतपुरलाई केन्द्रीय राजधानीपछि दोस्रो आकर्षणको केन्द्र बनाउने योजना उनले अघि सारेकी छन् । महानगरको जिम्मेवारी लिँदा र अहिलेको उनको राजनीतिक समीकरण फेरिएको छ । हिजो उनलाई जिताउन लाग्नेहरू अहिले प्रतिपक्ष भएका छन् । हराउन लाग्ने विपक्षी अहिले सहयोगी भएका छन् । यसै सेरोफेरोमा केन्द्रित रहेर चितवन महानगरकी प्रमुख रेणु दाहालसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादको सम्पादित अंश :

महानगरको प्रमुख भएर काम गर्दा कस्तो अनुभव गर्नुभएको छ ?
मेरा लागि जनप्रतिनिधि भएर काम गर्नु नयाँ अनुभव हो । यसका साथै हामी राज्यको नयाँ अभ्यासमा पनि छौँ । राज्यको पुनःसंरचनापछि बनेको तीन तहको सरकारमध्ये स्थानीय सरकार एक हो । स्थानीय सरकारको जनतासँग बढी सरोकार रहने भएकाले पनि जनताका अपेक्षा धेरै छन् ।

फेरि लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएका कारण लामो ग्याप भएको र जनताको आवश्यकता धेरै भएकाले स्थानीय तहमा चुनौती पनि धेरै छन् । यी दुईका बीचमा हामीले जनताका लागि काम गर्ने अवसर पाएका छैनौँ । बाहिर बसेर जनताका समस्या सुन्नु र जिम्मेवार ठाउँमा बसेर काम गर्नु फरक कुरा हो, रहेछ ।

मैले प्रत्यक्ष रूपमा जनताका कुरा सुन्ने र काम गर्ने अवसर पाएकी छु । अनेक चुनौतीका बीचमा पनि जनतासँग प्रत्यक्ष काम गर्न पाउँदा आनन्दको अनुभूति भएको छ ।

लामो समय युद्ध लडेर आउनुभयो, यसरी जनप्रतिनिधि भएर काम गर्ने कुराको कल्पना गर्नुभएको थिएन होला । युद्ध लड्नु र जनप्रतिनिधि भएर काम गर्नुमा के फरक रहेछ ?


हिजो राजनीतिक लडाइँ लडिएको थियो । एउटा ठूलो उथलपुथलको अवस्थाबाट लडेर आएको हो । हिजो लडेको युद्ध पनि राज्यसत्ता प्राप्ति र जनताका लागि केन्द्रित थियो । आन्दोलन र कार्यक्रमका स्वरूप मात्रै फरक हुन् । तर, आज गरिरहेका काम पनि जनताकै लागि हो । दुवै उद्देश्य जनताका लागि काम गर्न सत्ताप्राप्तिकै लागि हो ।

हामीले गर्ने काम सत्तामा रहेर, जनप्रतिनिधि भएर वा युद्धको मार्फत सत्ताप्राप्ति गरेर जनताकै लागि हो । स्वरूप फरक हो । हिजो हामीले बसी खाने मुठीभरका विरुद्ध आम–श्रमजीवीका लागि लडेको लडाइँ थियो । आज जनताबाट अनुमोदित भएर उनीहरूकै विश्वासमा जिम्मेवारीपूर्वक काम गरिरहेको छु । यति मात्रै होइन, हिजो लडाइँ लडेकै वेला पनि उद्देश्य थियो, जनताका लागि काम गर्न ।

कुनै न कुनै ठाउँमा गएर नेतृत्व गर्नैपर्ने हुन्छ भन्ने उतिवेला पनि लागेको थियो । त्यसैको निरन्तरता हो, अहिलेको जिम्मेवारी । कामको स्वरूप मात्रै फरक हो । हिजो भूमिगत रूपमा जनताका बीचमा काम गरिएको थियो, आज खुला रूपमा जनताको अपार विश्वासले उनीहरूकै लागि काम गरिरहेको छु ।

यसलाई अवसर वा चुनौती के ठान्नुभएको छ ?


यसलाई मैले देश र जनताका हितमा काम गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा लिएको छु । जहाँ, जसरी काम गरे पनि जनताको हितमा, राष्ट्रको हितमा काम गर्ने हो । हिजोको उद्देश्य पनि त्यही हो र आजको उद्देश्य पनि त्यही हो । मेरो सक्रियता त्यसैमा केन्द्रित छ । भरतपुरको मेयरमा निर्वाचित भएपछि मैले केही चुनौती महसुस गरेँ ।

त्यत्तिका जनताले विश्वास गरिसकेपछि उनीहरूको विश्वासमा आँच नआउने गरी काम गर्नुपर्छ भन्ने ठानेको छु । हिजो पनि मुलुकका लागि केही गर्नुपर्छ भन्ने ठानेको थिएँ । आज अलि बढी जिम्मेवारी पाएको ठानेको छु । मेयरको रूपमा काम गरेको करिब ढेड वर्ष भयो ।

यो बीचमा गरेको कामले मलाई पछुतो लाग्ने ठाउँ कहीँ पनि छैन । गरेका काम सन्तोषजनक रूपमा भएको ठानेको छु । पदीय जिम्मेवारीका हिसाबले बाँकी रहेको समय अझ बढी काम गर्नुछ । भरतपुरका जनताले मलाई चुनौतीपूर्ण अवसर दिएका छन् । म त्यसलाई पालना गर्नेछु ।

महिला क्षमतालाई कम ठान्ने सोचाइ जीवितै छ । महानगरपालिकाको पहिलो महिला मेयर हुनुहुन्छ । महिला भएका कारण काम गर्न कठिनाइ महसुस गर्नुभएको छ कि छैन ?
हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच बाँकी नै छ । मुलुकमा राजनीतिक परिवर्तन आंशिक रूपमा भए पनि सोचाइमा पूर्ण रूपले परिवर्तन हुन सकेको छैन । पुरुषवादी सोच, चिन्तनहरू अहिले पनि जीवितै छन् । त्यसका विरुद्ध पनि संघर्ष गर्न बाँकी छ । कुनै पुरुषलाई यत्तिकै जिम्मेवारीमा काम गर्न एउटा लडाइँ लडे पुग्छ । तर, महिलालाई भने त्यही जिम्मेवारीका लागि दोहोरो लडाइँ लड्नुपर्ने बाध्यता अहिले पनि छ।

त्यसैले, अझ हामीले त्यो पुरुषवादी मानसिकताका विरुद्ध पनि लडनुपर्ने छ । अर्को कुरा, महिलाको काँधमा दुई प्रकारका जिम्मेवारी पनि हुने गर्छ । घर र सामाजिक दुवै कामको जिम्मेवारी महिलाले पूरा गर्नुपर्ने हुन्छ । त्यसकारण महिलालाई कुनै पनि जिम्मेवारी पूरा गर्नु चुनौतीपूर्ण छ । यद्यपि, मैले व्यक्तिगत रूपमा महिला भएका कारण त्यस प्रकारको असहजता त झेल्नुपरेको छैन ।

तर, पनि चुनैती भने छ । देशभरका ६ वटा महानगरपालिकामध्ये एउटामा महिला प्रमुख हुने आवसर पाएकोमा मैले गर्वको अनुभूति गरेको छु । यसका साथै, मैले चुनौतीका रूपमा यस अर्थमा लिएको छु कि, धेरैले महिलाले नेतृत्व लिएको ठाउँमा काम कस्तो हुन्छ भनेर नियालिरहेका हुन्छन् ।

त्यसकारण पनि मैले महिलाले पाएको जिम्मेवारी राम्रोसँग, इमानदारीपूर्वक पूरा गरेर देखाउनुपर्छ भन्ने ठानेको छु ।महिलाले पुरुषजत्तिकै काम गर्न सक्छे कि सक्दिन भनेर समाजले पनि हेरिरहेको छ । महिला भएकै कारण रेणु दाहालले यो काम गर्न सकिन भन्ने अवस्था आउन दिन्न । मलाई राजनीतिक रूपले र महिला भएकै कारण पनि धेरै चुनौती छ । त्यसकारण पनि बढी जिम्मेवारी बोध भएको छ ।

महिलाले अवसर पाए भने जस्तो चुनौती पनि पूरा गर्न सक्छन् भन्न खोज्नुभएको हो ?
हो, मैले अत्यन्तै सचेतताका साथ काम गर्नुपर्नेछ । यो मेरो लागि पद मात्र होइन, चुनौती पनि हो । मेरो काम भोलिका दिनमा आउने पिँढीका लागि पनि उदाहरणीय बनोस् । र, हाम्रो समाजले महिलालाई जिम्मेवारी दिने सवालमा सोच्ने होइन, गर्वले भनोस्, काम भनेको त्यस्तो हुनुपर्छ भनेर ।

महिलालाई नेतृत्व दिँदा इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्छन् भन्ने विश्वास बनाउनु पनि मेरो लागि चुनौती हो । हामी महिला अवसर पाएमा सबै प्रकारका चुनौती पूरा गर्न सक्छौँ भनेर देखिने गरी काम गर्नु आवश्यक छ । अहिले मेरो ध्यान त्यतै केन्द्रित छ । भरतपुरका जनतालाई त्यो अनुभूति गराउनु छु । त्यसको प्रभाव अन्त पनि पुगोस् भन्ने ठानेको छु ।

भरतपुर महानगरमा प्रमुख, उपप्रमुख दुवै महिला हुनुहुन्छ । यो अवसर र गर्व दुवै हो, काम गर्न कत्तिको समस्या छ ? कि छैन ?
भरतपुर महानगरको स्थानीय तहको निर्वाचनपछिको राजनीतिक अवस्था अनौठो प्रकारको छ । भरतपुरको जस्तो राजनीतिक अवस्था कतै पनि छैन होला । विकास र समृद्धिको परिकल्पना गर्न यहाँका जनताको लागि अवसर पनि हो । हिजो निर्वाचनका वेला बनेको गठबन्धनमा मलाई जिताउन मरेर लाग्ने साथीहरू प्रमुख प्रतिपक्षमा हुनुहुन्छ ।

जो आफू जित्नका लागि मलाई हराउन मरेर लाग्नुभयो, उहाँहरू आज मेरो साथमा हुनुहुन्छ । हामी एकै ठाउँमा छौँ । भरतपुर महानगरपालिका प्रतिपक्षविहीन अवस्थामा छ । हिजो मलाई जिताउने र हराउने सबै एकै ठाउँमा छौँ । यहाँको उपमेयर वा अन्य पार्टीका प्रतिनिधिबाट काम गर्न अहिलेसम्म समस्या भएको छैन ।

सबैतिरबाट सहयोग र विश्वास पाएको छु । मेरो कारणले कसैलाई बेवास्ता गर्ने वा उहाँहरूको कुरा नसुन्ने अवस्था सकेसम्म आउन दिएको छैन । सकेसम्म सबैलाई समेटेर उहाँहरूको भावनाअनुसार काम गर्ने प्रयास गरेको छु । यसमा मैले कसैलाई गुनासो गर्नुपर्ने अवस्था आएकै छैन । मलाई गर्व पनि छ, महानगर हामी दुई महिलाले हाँकेका छौँ, यस्तो अवसर कमैले मात्रै पाउँछन् ।

स्थानीय निकाय स्वायत्त हुँदा–हुँदै पनि अहिलेको संरचनाका कारण केन्द्र र प्रदेशबाट दबाब आउँछ भनिन्छ, तपाईंकोमा कत्तिको दबाब आउने गरेको छ ?
माथिबाट दबाब त अहिलेसम्म आएको छैन । तर, कतिपय काम गर्न खोज्दा समस्या भने भएको छ । नगरपालिकाले गर्नुपर्ने काम सबै विधि प्रक्रिया पुर्याएर जाँदा पनि कहिलेकाहीँ माथिबाट अनुमोदन हुँदैन, विधिसम्मत गएका काममा केन्द्र सरकारले सहजीकरण गरिदियो भने हामीलाई काम गर्न सहज हुन्छ ।

एउटा उदाहरण छ, भरतपुर महानगरपालिका र चीनको सेन्टर साउथ युनिभर्सिटीबीच एउटा सम्झौता भएको छ । उक्त विश्वविद्यालयले भरतपुर महानगरका वार्षिक ७० जना विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति दिने सम्झौता गरेको छ । विभिन्न २ सय १६ वटा विद्यालयबाट छनोट गरी यहाँका विद्यार्थीलाई छात्रवृत्ति दिने भनेर हस्ताक्षर भएको छ ।

यसका लागि सहमति माग्दा माथिबाट त्यसलाई अलपत्र पारिएको छ । त्यसको समस्या के हो, नपुगेको कुरो के हो, प्रस्ट पार्दैन केन्द्र सरकारले । तर, ६ महिनादेखि त्यो अल्झेको छ, किन हो, मैले बुझेको छैन । यस्ता कार्यले हामीलाई काम गर्न समस्या हुन्छ । अरू दबाब भने आएको छैन अहिलेसम्म ।

त्यसो भए केन्द्र सरकारका कारण जनताको पक्षमा काम गर्न सहज भइरहेको छैन ?
अन्योलजस्तो भएको छ । नयाँ संरचानका कारण पनि होला, धेरै अन्योल छन् । यसले काम गर्न कठिन भएको छ । केन्द्र सरकारले हाम्रो काममा सहयोग गरोस्, सहजता बनाइदिओस् भन्ने हो । यसो भएमा हामीलाई जनताको काम गर्न सहज हुन्छ ।

निर्वाचनका वेला घोषणपत्रमा उल्लेख गरिएका कुरा कत्तिको पूरा गर्नुभएको छ ?
एक वर्षको समयमा जनताका लागि गर्न सकिने अधिकतम काम गरेका छौँ । महानगरपालिकाको वार्षिक बजेट चालु पुँजी, निःशर्त÷ ससर्त अनुदान सबै गरेर कुल साँढे तीन अरबभन्दा माथि छैन ।

तर, अनेक समस्याका बाबजुद हामीले केन्द्रबाट यही आर्थिक वर्षमा साँढे तीन अर्बभन्दा बढी बजेट ल्याएर लिंक रोड, सिटी हल, विद्युतीय शवदाहगृह, राजमार्ग व्यवस्थित गर्ने, मठमन्दिर बनाउनेजस्ता विकास निर्माणका काममा अघि ढाएका छौँ । छोटो समयमा धेरै गरिएको छ । अझ धेरै गर्ने प्रयासमा छौँ ।

भरतपुरलाई स्मार्ट सिटी बनाउने कुरा गर्नुभएको छ । भरतपुरलाई अझ राम्रो बनाउने यस्तै योजना के–के छन् ?
भरतपुर हरेक दृष्टिले महत्वपूर्ण छ । यो देशको केन्द्रभागमा छ । नारायणी र राप्ती नदी, राष्ट्रिय निकुञ्ज, आर्कषक जंगल, देवघाटजस्तो धार्मिक पर्यटकीय स्थान यहीँ छ । पर्यटकीय रूपमा चितवन तेस्रो गन्तव्यमा पर्छ । केन्द्रीय राजधानीपछि भरतपुरलाई दोस्रो आर्कषणको केन्द्रविन्दु बनाउनुपर्छ भन्ने उद्देश्यका साथ मैले कामलाई प्राथमिकतामा राखेर अघि बढेको छु । त्यो सम्भावना पनि छ ।

भरतपुर व्यवस्थित सहर हो र गुरुयोजनाका साथ अघि बढ्न सकियो भने अझ राम्रो हुन्छ भनेर लागेको छु । गुरुयोजनासहित काम नगरेर सोलोडोलो बनाउन थालियो भने भरतपुर पनि काठमाडौं बन्छ । अबको ६ महिनाभित्र महानगरको गुरुयोजना बनाउने र त्यसैअनुसार काम गर्ने तयारीमा लागेका छौँ । स्मार्ट सिटी बनाउने सोचका साथ सबै क्षेत्रका विज्ञहरूसँग छलफल भइरहेको छ ।

सहरी विकास मन्त्रलयले देशभर २० वटा सहरलाई स्मार्ट सिटी बनाउँदै छ । त्यसमा भरतपुर पनि परेको छ । यसका साथै घरधुरी, यहाँको जनसंख्या लागयतका विषयलाई नयाँ प्रविधिमा लाने योजनामा छौँ । चक्रपथ, रणनीतिक महत्वका सडक, लिंक रोड बनाउँदै छौ । महानगरस्तरको पार्क बनाउने, नारायणी नदीको बीचमा रहेको जमिनलाई सामुन्द्रिक मोडलमा लाने योजना छ ।

यहाँका मान्छेलाई घुम्न जाने स्थान पनि छैन । त्यसलाई अर्कषक, व्यवस्थित बनाउने योजनामा छु । यहाँको लागि धेरै अवसर छन् । बजारलाई पनि व्यवस्थित बनाउँदै छौँ । तीन ठाउँमा साना पार्किङ बनाएका छौँ, साना फुटपाथे व्यवसाय र तीन पांग्रे सवारीसाधनलाई पनि व्यवस्थित बनाएका छौँ । बजार व्यवस्थित बनाएका छौँ ।

अब, पुलचोकदेखि गोन्द्राङसम्मलाई बुटवलको जस्तै ६ लेनको हरियाली सडक बनाउँदै छौँ । त्यहाँ सबै प्रकारका सुविधा हुन्छन् । यसको डिपिआरको काम सम्पन्न भएको छ । दसैँपछि त्यसको काम सुरु हुनेछ । यहाँका जनताले भोट दिएर जिताएका छन् । म उनीहरूको सपना पूरा गर्छु, त्यो विश्वास ममा छ ।

मान्छेले कल्पनै नगरेका दुई पार्टी आज एकै स्थानमा आएका छन् । हिजो तपाईंका विरुद्ध लागेको पार्टी सँगै छ, उहाँहरूबाट काममा कत्तिको सहयोग पाउनुभएको छ ?
राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु भन्ने हुँदैन । निर्वाचन र आजको अवस्था फेरिएको छ । निर्वाचनका वेला कांग्रेससँग गठबन्धन थियो । तत्कालीन एमालेसँग निर्वाचन लडेका थियौँ । आज एमालेसँग पार्टी एकता भएको छ । मलाई पूर्वएमाले नेता कार्यकर्ताबाट कुनै असहजता, समस्या भएको छैन ।

एउटा निर्वाचनमा पार्टी फरक र अर्कोमा फरक समीकरण हुँदै एकता भएको छ । कसैले सोचेको थिएन, यति छिटो होला भनेर । यो ठूलो छलाङ हो । यो एक प्रकारले क्रान्ति नै हो । मैले कसैको कारण काममा अप्ठेरो वा असहयोगको अनुभूति गरेको छैन । सबैतिरबाट सहयोग र विश्वास पाएको छु ।

प्रतिक्रिया