लम्बियाे लएकता प्रक्रिया


प्रतिवेदनमा सहमति भए पनि कुन संगठनको नेतृत्व कसले पाउने भन्नेमा विवाद, स्थायी समिति बैठक पुनः सर्यो

काठमाडौं । नेतृत्वमा विवाद बढेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश तथा जिल्ला कमिटीको एकता लम्बिँदै गएको छ । प्रदेश, जिल्ला र जनसंगठनको एकताका लागि तिनका नेतृत्वमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिँदै गएको हो ।

कतिपय कमिटीले सर्वसम्मत रूपमा नेतृत्व चयन गरे पनि केहीले शीर्ष नेतालाई नै चुन्ने जिम्मा दिँदै प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन बुझाएका कतिपय जिल्लामा नेतृत्वका विषयमा विवादसमेत छन् । पार्टी एकतामा देखिएको सबै समस्यालाई निरुपण गर्न बोलाइएको स्थायी समितिको बैठकसमेत प्रभावित हुने संकेत देखिएको छ ।

एकता र नेतृत्व चयनलाई अन्तिम रूप दिन १९ र २० भदौका लागि तय गरिएको स्थायी कमिटी बैठक एक साता पर धकेलिएको छ । सांगठनिक एकतामा प्रगति हुन नसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी कमिटीको बैठक एक साता पर सार्ने सहमति भएको हो ।

बिम्स्टेकको सम्मेलन परेकाले यसै साता बोलाइएको स्थायी समिति बैठक प्रभावित भएको नेकपाका एक नेताले जानकारी दिएका छन् । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुनुपर्ने भएकाले थप गृहकार्य गर्न नसकिएकाले बैठक प्रभावित भएको बताए ।

नेकपा स्रोतका अनुसार स्थायी कमिटी बैठक भदौ २६ र २७ गते बस्ने गरी बोलाइएको छ । ‘अध्यक्षद्वयले २६ र २७ भदौमा स्थायी कमिटी बैठक बस्ने तय गरेका छन्, अब त्यसै अनुसार जानकारी गराइन्छ,’ नेकपाका एक नेताले भने । प्रदेश, जिल्ला र जनसंगठनको एकतामा सहमति जुटन नसकेपछि दोस्रोपटक स्थायी कमिटी बैठक सरेको हो ।

अहिलेसम्म सबै प्रदेशबाट एकता प्रतिवेदन आउन सकेको छैन भने एकाधबाहेक अधिकांश जनसंगठनको एकता प्रतिवेदन बुझाइएको छैन । प्रतिवेदन बुझाइएका जनसंगठनको पनि नेतृत्वको विषयमा निर्णय गर्ने जिम्मा अध्यक्ष ओली र दाहाललाई नै दिइएको छ ।

अध्यक्षद्वय ओली र दाहाल प्रदेश, जिल्ला र जनसंगठनको एकता गृहकार्यमा लगातार प्रयास गरिरहे पनि पूर्व एमाले र माओवादी केन्द्रभित्रै केही असहमति देखिएपछि दुवै नेता गम्भीर छलफलमा रहेका छन् । नेकपाले यसअघि भदौ ५ भित्र सांगठनिक एकता सक्ने घोषणा गरेको थियो ।

तर, तोकिएको समयमा प्रतिवेदन नआएपछि ७ भदौसम्म प्रतिवेदन बुझाउने अन्तिम समय दिई ८ र ९ भदौमा बोलाइएको स्थायी कमिटी बैठक १९ र २० गतेका लागि तोकिएको थियो । सो अवधिसम्म पनि सांगठानिक एकताको काम नसकिने भएपछि २६ र २७ गते बोलाउने सहमति ओली र दाहालबीच भएको एक नेताले बताए ।

प्रतिक्रिया