सांस्कृतिक पर्वको राजनीतिक महत्व

हाम्रो देशमा पञ्चायती व्यवस्था अन्त्य गर्न र लोकतान्त्रिक व्यवस्था स्थापना गराउन गाईजात्रा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । देशमा विदेशी भाषा, शैली र परम्परा भित्रियो भन्दैमा आफ्नो देशको धर्म, संस्कृति, भाषा र शैलीलाई चटक्क बिर्सिनु हुँदैन ।

नेपाल धार्मिक एवं सांस्कृतिक विविधता भएको देश हो । यहाँ विभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छौँ । विभिन्न धर्म मान्ने मानिसहरू विभिन्न चाडपर्व मनाउँछौँ । त्यसमध्ये गाईजात्रा पनि एक हो । यो चाड विशेषगरी काठमाडौं उपत्यकाका नेवार जातिले मनाउने गर्छन् । प्रत्येक जात्रा तथा मेलाको आफ्नै विशेषता र महत्व हुन्छ ।

गाईजात्राको सुरुआत राजा प्रताप मल्लले गरेका हुन् भन्ने कुरा इतिहासमा पाइन्छ । आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात् प्रताप मल्लले आफ्नी रानीलाई सान्त्वना दिन गाईजात्रा पर्वको सुरुआत गरेका हुन् । उनले गाईजात्राको सुरुआत गर्दै ‘हाम्रा घरमा मात्रै मान्छे मरेका होइनन्’ अरूको घरमा पनि मरेका छन् भन्ने महसुस आफ्नी पत्नीलाई गराएका थिए ।

गाईजात्राका दिन सोही वर्षभित्र मरेका आफन्तका नाममा गाई वा मरेका मानिसको तस्बिर लिएर राजधानी घुम्ने चलन छ । यसलाई अत्यन्त महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । किनभने, यसदिन आफन्त र परिवारका सदस्यलाई गुमाएकाहरूले पनि दुःख प्रकट गर्ने अवसर पाउँछन् । त्यसैगरी, मृत्यु भएका आफन्तको सम्झनामा दीनदुःखीलाई दान दिने चलन छ ।

गाईजात्राको अवसर पारेर थुप्रै कलाकारले विभिन्न हास्यव्यंग्य कार्यक्रम प्रस्तुत गर्छन् । देशका विभिन्न क्षेत्रमा रहेका विकृति र विसंगतिमाथि व्यंग्य गर्दै सबै नेपालीलाई मनोरञ्जन प्रदान गर्छन् । हाम्रा पुर्खाले गाईजात्रालगायतका अन्य थुप्रै संस्कृति र चाडवर्पको सुरुआत गरेर तिनको निरन्तरता एवं संरक्षण गर्न हाम्रा हातमा सुम्पिएका छन् गाईजात्राको चलन नेवार समुदायमा मनाइने ठूलो पर्व हो ।

यो पर्व जहाँजहाँ नेवारहरूको बसोबास छ त्यहाँ विशेष रूपमा मनाइएको पाइन्छ । गाईजात्राको दिन गाई घुमाउनुको अर्थ हो, ‘मरेका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो हुन्छ र यमराजले पनि स्वर्गको ढोका खोलिदिन्छन् भन्ने जनधारणा रहेको छ । यसदिन गाई निकाल्ने घरमा आफ्नी छोरीबेटी, इष्टमित्र, गाउँटोलका सम्पूर्ण मानिसलाई बोलाई भोज खुवाउने गरिन्छ ।

काठमाडौंका टोलटोलमा घुमेर नाच्दै–घुमाउँदै आफ्नो घरमा फर्कने गर्दछन् ।  यसदिन स्वर्गको ढोका खुला हुन्छ । गाईलाई यसरी घुमाउनाले मृतक स्वर्ग जान सक्छन् भन्ने जनधारणा रहेको छ । गाईजात्राको दिन वाक स्वतन्त्रताको सुरुआत भएको पाइन्छ ।

ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा भक्तपुरका मल्ल राजा जगतप्रकाश मल्लको पालादेखि यो पर्व चलेको पाइन्छ । तत्कालीन मल्ल राजाले जनताको अभिव्यक्ति के कस्तो किसिमको छ ? भन्ने कुरा जान्नका लागि यो चलन चलाएका रहेछन् । त्यसपछि राजाले गाईजात्रा महोत्सव चलाई जनतालाई चित्त नबुझेका कुरा समसामयिक विषयमा निर्धक्क साथ बोल्न र हिँड्न पाउने अधिकार दिए ।

यसप्रकार प्रजातन्त्रको आभास दिने खालको चलन राजा जगतप्रकाशले सुरुआत गरे । त्यस वेलादेखि जनताले गरेका आलोचनाहरू राजाका गुप्तचरहरूले बटुली राजासमक्ष पेस गर्दथे । त्यस वेलाका शासकहरूलाई आफूले गल्ती गरेको गलत कानुन र शासन व्यवस्थालाई सुधार गर्दै लैजाने अवसर पाएका थिए ।

यसबाट राजा र जनतामा राम्रो सम्बन्ध कायम भएको थियो । तसर्थ, जनता र राजाका बीच सम्बन्ध सुमधुर भयो । पछि गएर राजा र जनताका बीच छलफलका लागि एक सन्देशमूलक रूपमा गाईजात्राको परम्परा सुरुआत भयो । गाईजात्रा पर्व मनाउने क्रममा केही वर्षयता केही नयाँ चलन पनि थपिँदै आएका छन् ।

घरमा कोही पनि नमरेका परिवारले पनि विशुद्ध मनोरञ्जनका लागि भए पनि यो चाड मनाउन थालेका छन् । अनुहारमा मुकुन्डो लगाएर वा मुखमा अनेकौँ चित्र कोरेर अथवा जोगीको भेषमा थोत्रो लुगा लगाएर मानिस सडकमा निस्केको देखेर त्यसलाई हेर्ने जो कोहीलाई हाँसो उठ्नु स्वाभाविक हो ।

गाईजात्राले कुनै पनि सरकारको कार्यशैलीलाई जनमुखी रूपमा जस्ताको त्यस्तै रूपमा छर्लंग उतार्नु नै वास्तविक हो । हाम्रा पुर्खाले थुप्रै संस्कृति र चाडवर्पको सुरुआत गरेर तिनको निरन्तरता एवं संरक्षण गर्न हाम्रा हातमा सुम्पिएका छन् । गाईजात्रा त हाम्रो संस्कृतिको एक नमुना मात्र हो ।

यस्ता जात्रा हाम्रो देशमा थुप्रै छन् र तिनको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । यस पर्वले सामाजिक एवं राजनीतिक विकृतिहरूलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिन्छ । हाम्रो देशमा पञ्चायती व्यवस्था अन्त्य गर्न र लोकतान्त्रिक व्यवस्था स्थापना गराउन गाईजात्रा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

देशमा विदेशी भाषा, शैली र परम्परा भित्रियो भन्दैमा आफ्नो देशको धर्म, संस्कृति, भाषा र शैलीलाई चटक्क बिर्सिनु हुँदैन । गाईजात्रा आरम्भ हुने केही दिन अघिदेखि नै विभिन्न पत्रपत्रिकामा गाईजात्रे विशेषांक प्रकाशन गरेर राजनीतिक, सामाजिक, प्रशासनिक र पारिवारिक विकृतिमाथि तिखो व्यंग्य प्रहार गरिन्छ ।

कहिलेकाहीँ यस्ता व्यंग्यात्मक प्रस्तुतिमा निकै नराम्रा शब्द पनि प्रयोग गरिएको पाइन्छ । त्यसैले, यस्तो काम रोकेर गाईजात्रालाई आफ्नो धर्म र संस्कृति अनुकूलको मौलिकता र स्वच्छ मनोरञ्जन दिने चाडको रूपमा मनाउनु उपयुक्त होला ।

प्रतिक्रिया