पाँचतारे होटलमै स्वास्थ्य सेवा

काठमाडौं । बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने सरकार प्रमुखहरूको उपचारका लागि सरकारले पाँचतारे होटेलमै भिभिआइपी सेवा दिने भएको छ ।

राजधानीको होटल सोल्टीमा हुने सम्मेलनमा नेपालसहित सात सदस्य राष्ट्रका सरकार प्रमुखहरू सहभागी हुने भएपछि भिभिआइपी उपचार कक्ष सञ्चालनमा ल्याउने भएको हो ।

त्यस्तै वीर अस्पतालले उनीहरूको स्वास्थ्यमा पर्नसक्ने सम्भावित स्वास्थ्य खतराका लागि चार सदस्यीय टोली बनाएको छ । वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित ‘इयर्ली मेडिकल डिप्लोएमेन्ट’ टोलीमा एनेस्थेसिया विभागका डा.प्रदीप वैद्य, मेडिसिन विभागका डा.परिमल कोइराला र अहेब हिमालय तिवारी सदस्य रहेका छन् ।

सरकार प्रमुखहरूको जमघट होटेलमा हुन भएकाले त्यहाँ नै उपचारका लागि भिभिआइपी कक्ष स्थापना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीरका निर्देशक प्राडा बस्नेतका अनुसार होटेलमा विशेषज्ञ चिकित्सकसहितको कक्ष स्थापना हुनेछ ।

भैपरी आउने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै करिब एक दर्जन अस्पताललाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।

निर्देशक बस्नेतका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल सर्भिस अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिसिटी अस्पताल र नर्भिक अन्तर्राष्ट्रिय अस्पताललाई तयारी राखेको छ ।

सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित सदस्य राष्ट्रका उच्च अधिकारीहरू नेपाल आउँदै छन् । उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मन्त्रालयले सबै तयारी पूरा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा.दीपेन्द्ररमण सिंहले जानकारी दिए ।

‘वीर अस्पतालका निर्देशक प्राडा बस्नेतको संयोजकत्वमा टिम बनाएका छौँ उहाँहरूले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुहुन्छ,’ उनले भने ।

उनीहरू सम्मेलनमा रहँदासम्म चिकित्सक टिमको संयोजन डा. बस्नेतले गर्ने भएका छन् । राष्ट्रप्रमुखहरूको स्वास्थ्योपचारका लागि पहिलो प्राथमिकतामा भने वीर अस्पताललाई राखिएको छ । यता नेपाल एम्बुलेन्स सेवाले उच्च प्रविधियुक्त एम्बुलेन्सको व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया