बाजुरा जिल्लाको हिमाली गाउँपालिका–२ बिच्छ्याँ गाउँका गोकुल रोकाया र उनकी पत्नी धनमतिका चार सन्तान छन् । तीन सन्तान विद्यालयको पढाइ पढ्दै छन् । उनीहरूको साथमा तीन वर्षे एउटा काखे छोरा छ । उसको स्कुल जाने दिन पुग्दै छ । रोकाया दम्पतीको आम्दानीको मुख्यस्रोत भनेकै खेतीपातीबाट हुने उब्जाउ हो । उनीहरू खेतीपातीबाटै जीवन निर्वाह गर्दै आएका छन् । यसमा उनीहरूको कुनै गुनासो पनि छैन ।
उक्त गाउँका अधिकांश परिवारमा महिला र पुरुषले गर्ने कामको विभाजन जन्म पहिले नै निर्धारण गरिएभैmँ हुन्छ । भात भान्छा, चुलो चौको, घाँस दाउरालगायत घरभित्रको काम महिलाले गर्छन् । पुरुष कि त कमाउन घरबाहिर जान्छन् । नभए चोकमा भेला हुने, रक्सी खाने, तास खेल्ने र दिनभर बेकाम बिताउनेबाहेक उप्पादनको क्षेत्रमा उनीहरूले काम गरेको भेटिनु गाह्रो छ ।
उनीहरू कुनै उपलब्धीमूलक काममा सहभागी हुँदैनन् । उनीहरूलाई आफ्नो काम भनेकै त्यही हो भन्ने छ । यति मात्रै होइन, उनीहरू रक्सीको नशामा साँझ घर आएर पत्नी र छोराछोरी कुट्ने, परिवारलाई सताउनेसम्म गर्छन् ।
तर, त्यही गाउँको भएर पनि रोकाया दम्पतीको परिवारमा यस्तो क्रियाकलाप हुँदैन । उनीहरूको परिवार सुखी र खुसी छ । एकले अर्काको काममा साथ र सहयोग गरिरहेको हुन्छ । उनीहरूको घरमा लैंगिक रूपमा कामको विभाजन छैन ।
‘हाम्रो घरमा मैले मात्रै भात भान्छा गर्नु पर्दैन’, धनमतिले भनिन्, ‘पति र म सबै कामसँगै गर्छौं ।’ उनी पत्नीका हरेक काममा सहयोग गर्छन् । जसले जे भ्याउँछ त्यही काम गर्छन उनीहरू । आफूले गर्ने सबै काममा पतिको साथ पाएकोले होला धनमतिको अनुहार हँसिलो छ । उनी खुसीसँगै स्वस्थ पनि देखिन्छिन् । उनलाई अरू महिलाले जस्तो घरको काममा एक्लै जोतिनुपर्ने सास्ती छैन । न त पतिको हिंसा नै खेप्नुपरेको छ । उनका पति उनका लागि साच्चै जीवनसाथीका रूपमा छन् ।
उनको पति गोकुललाई पनि पुरुषले खाना पकाउनु हँुदैन, भाँडा माझ्नु, लुगा धुन हुँदैन भन्ने कहिल्यै लागेन । उनी भन्छन, ‘घरको सारा काम महिलाले मात्रै गरे उनी चाँडै रोगी हुन्छिन् । त्यसपछिको भार त मलाई अझ बढी हुन्छ ।’ घरका काममा दुवैको दायित्व हुनुपर्ने उनको धारणा छ । यसैले उनको भूमिका सधैँ पत्नीको सहयोगीका रूपमा रहिआएको छ ।
गोकुलको परिवारभैmँ आफ्नो पनि परिवार खुसी, सुखी बनोस् भन्ने चाहना मनमति भोटेलाई पनि छ । उनी पतिसँग मिलेर पारिवारिक योजना बनाउन चाहन्छिन् । दुई सन्तानको राम्रो रेखदेख गर्न चाहन्छिन् ।
बाजुराकै बडीमालिका–७ की मनमतिले चाहेजस्तो उनको परिवार बन्न सकेन । पति सधँै मदिरा पिउँछन् । तास खेल्छन, साँझ घर आएर कामले लखतरान् भएकी मनमतिलाई कुट्छन् । हरेक दिन पतिले कतिबेला वितण्डा मच्चाउँछन् भन्ने चिन्ता र त्रासमा हुन्छिन् उनी । एकातिर घरको कामको बोझ एक्लै धान्नुपर्ने अर्कोतर्फ पतिको कुटाइले शरीर थिलथिलो हुने । पतिले मीठो बोलेको र काममा सहयोग गरेको उनका लागि कल्पनाबाहेक केही हुँदैन ।
मनमति २६ वर्षकी भइन् । उनका आँखा भास्सिएका छन् । अनुहार चाउरिएको छ । झट्ट हेर्दा ३५ वर्षमाथि भैmँ देखिन्छिन् उनी । उनका निरस अनुहार हेर्दा लाग्छ जतिवेला पनि कोही आक्रमण गर्न आउँछ कि भैmँ त्रसित छिन् उनी ।
‘पतिले कहिल्यै सघाउँदैनन्’ उनले भनिन्, ‘उल्टै कुट्छन् । मलाई जतिवेलै तनाव मात्रै दिन्छन् ।’ अहिले उनलाई काम गर्ने मन नहुने, परिवारदेखि नै वितृष्णा हुने, एक्लै बस्न मन लाग्ने हुने गरेको बताइन् । उनको दैनिकी घरको काम एक्लै गर्नु, सन्तानको हेरविचार गर्नु र साँझमा रक्सीले मातेका पतिको कुटाइ खाएर बित्ने गरेको छ ।
परिवारलाई बलियो बनाउन महिला पुरुष दुवै मिलेर घरको काम गर्नुपर्छ । पारिवारिक योजना बनाउनुपर्छ । सन्तानको रेखदेखमा दुवैले समय दिनुपर्छ । जब एक अर्कामा राम्रो सहयोग हुन्छ । परिवारको सामाजिक प्रतिष्ठा बढ्नुका साथै पारिवारिक जिम्मेवारी पनि एकअर्कामा बाँडिन्छ ।
बिच्छ्याँकै जैधन रोकाया पनि परिवारमा सहयोगी छन् । त्यसैले उनकी पत्नी मालती मनमति भैmँ चिन्तामा छैनन् । जैधनलाई घरको कुनै पनि कामप्रति घृणा आउँदैन । पत्नी मालतीसँगै मेलापात जान्छन् । भातभान्छाको काम पनि गर्छन् ।
रोकायाका पाँच सन्तान छन् । जेठो छोरा १९ वर्ष र काखमा एक वर्षको छोरा छ । ‘छोराछोरी धेरै छन् । आन्दानीको अरू कुनै बाटो छैन । ‘बेकाम जाँडभट्टीमा बसेर तास खेल्नु र जाँड खानुभन्दा त परिवारलाई सहयोग गर्दा काम पनि हुने परिवार पनि खुसी हुने’, उनले बताए । उनी पत्नीको काममा सहयोगी बन्नुलाई सामान्य ठान्छन् । परिवार दुवैको हो भने जिम्मेवारी पनि दुवैले लिँदा घर राम्रोसँग चल्छ ।
‘पत्नीलाई सहयोग गरेको र सँगसँगै काम गरेको देखेपछि कतिपयले त जोइटिंग्रेसमेत भने’, जैधनले भने, ‘मलाई मतलव छैन । मेरो परिवारको खुसीमा मेरो खुसी छ । कसले के भन्छ मतलब गर्दिनँ ।’ राम्रो काम गर्दा कसले के भन्छ उनलाई पर्वाह छैन ।
पति सहयोगी हुँदा हरेक काम एक्लै कसरी सक्ने भन्ने चिन्ता मालतीलाई मात्रै हुँदैन । उनीहरू बिहान घरको काम मिलेर गर्छन् । भातभान्छा गरेर खेतीपातीमा पनि जान्छन् । त्यसैले वरपरका गाउँमा पनि उनीहरूको परिवारलाई सम्मानित रूपमा हेरिन्छ ।
तर, बिच्छ्याँबाहेक बाजुराका अधिकांश परिवारमा पुरुषले महिलामाथि हिंसा गर्ने तथ्यांकहरूले देखाउँछ । जिल्ला अस्पताल बाजुराका चिकित्सक डा. टीकाराम राई परिवारमा पुरुषले असहयोग गरेमा महिलालाई मानसिक असर बढी पर्ने बताउँछन् ।
त्यतिमात्रै होइन पुरुष परिवारप्रति गैरजिम्मेवार हुँदा पारिवारिक र आर्थिक अवस्था पनि कमजोर हुन्छ । महिलामा दीर्घकालीन मानसिक असर पर्न सक्छ । र, अन्त्यमा महिलाले आत्महत्या गर्ने अवस्थासम्म आउने डा. राई बताउँछन् । डा. राइले भनेजस्तै अवस्था छ बडीमालिका नगरपालिका–२ की मनमति नेपालीको । उनलाई पती वास्ता गर्दैनन् । न त राम्रो व्यवहार नै गर्छन् ।
‘जब महिलालाई सहयोग हुँदैन, तब पारिवारिक विकास र व्यक्ति विकासमा असर पर्न जान्छ ।’ डा. राई भन्छन्, ‘जब घरमा कलह हुन्छ, तब समाजले समेत अपहेलना गर्छ । स्वास्थ्यमा निकै असर पर्न जान्छ ।’
मनमतिका पतिले बिहे गरेको केही समय राम्रो व्यवहार गरे । पतिले राम्रो गर्दा घरपरिवार र समाजले पनि राम्रो हिसाबले हेर्थे र त्यही अनुसारको व्यवहार गर्थे । तर, पतिको व्यवहार फेरिएसँगै छरछिमेक, आफन्तको पनि व्यवहार फेरियो । सधँैजसो पतिको हप्कीदप्की । परिवारको अपहेलनापछि आफू मानसिक रूपमै कमजोर भएको उनले बताइन् ।
बाजुरामा सबैभन्दा बढी महिलाहरूमा पारिवारिक हिंसा हुने गरेको छ । हिंसा बढ्दै गएपछि महिलाले आत्महत्याको बाटो रोज्ने गरेका बाजुराको सदरमुकाम मार्तडीमा रहेको हिंसापीडित महिलाका लागि सञ्चालन गरिएको सुरक्षित आवास गृहमा कार्यरत सीता विकले बताइन् ।
बाजुराका अधिकांश पुरुषको दैनिकी बिहानदेखि भट्टीमा मदिरा पिएर, तास खेलेर बित्छ । घरमा खानेकुरा छ छैन उनीहरूलाई चासो हुँदैन । बेलुका घर जान्छन् । अनि मीठो खाना नपकाएको भन्दै पत्नी कुट्छन् । यो अधिकांश गाउँ र घरका महिलाले भोग्ने पीडा हो ।
तर, बिच्छ्याँमा भने अन्य गाउँमा भैmँ छैन । यहाँका पुरुष र महिला सँगै काम गर्छन् । परिवारको योजनामा महिला पनि सहभागी हुन्छन् । सदरमुकाम मार्तडीबाट पैदल पाँच दिन टाढा रहेको यो गाउँ बाजुराकै नमुना गाउँ मानिन्छ । यहाँका सबै मानिस खुसी छन् । परिवारमा कलह छैन । यस्तो हुँदा सन्तानको पढाइ र क्षमता वृद्धिमा सहयोग पुग्छ ।
‘त्यसैले त यहाँका महिला अन्य गाउँका महिलाभन्दा स्वस्थ देखिन्छन् । खुसी पनि देखिन्छन् । अन्य गाउँभन्दा फरक गाउँका रूपमा चिनिन्छ’, बिच्छ्याँ गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले गर्वका साथ भने । बिच्छ्याँ गाउँमा ८१ परिवारको बसोबास छ । अपवादबाहेक ती सबै परिवारले महिलाको काममा सहयोग गर्ने गरेको दाबी गाउँपालिका उपाध्यक्ष चन्द्रकला बुढाले बताइन् ।
अरू ठाउँमा पुरुषहरूले महिलाको काममा सहयोग गरेमा उल्टै हेला गर्छन् । तर, यो गाउँमा भने महिला पुरुषको काम नभनी सबैले समान काम गर्ने उनले बताए । महिलाको काममा मात्र सहयोग नभई गाउँमा महिलामाथि हुने हिंसा विभेद पनि नभएको उनको भनाइ छ ।
जब पुरुषले महिलालाई सहयोग गर्छन् तब पारिवारिक योजना बन्छ । कसरी आर्थिक आर्यआर्जन गर्ने योजना बन्छ । जसले गर्दा परिवार सबल बन्ने अधिकारकर्मी सीता थापा बरालको भनाइ छ ।
उनले थपिन, ‘परिवारबाटै महिला सम्मानित हुँदा समाजले पनि उनीहरूलाई सम्मान गर्छन् । जीवनस्तर पनि सुधार हुन्छ । मन स्वस्थ भए मात्रै शरीर स्वस्थ हुन्छ ।’ (समाचारमा उल्लेख हिंसा प्रभावित महिलाका नाम परिवर्तित हुन् ।) (पत्रकार प्रकाश सिंहद्वारा लिखित महिला खबरबाट)े
प्रतिक्रिया