स्वदेशमै मुटुको दुर्लभ शल्यक्रिया

काठमाडौं। रामेछाप सुनापती गाउँपालिकाकी गर्भवती प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रूपमा सम्पन्न भएको हो ।

२४ वर्षीया प्रमिला र उनको बच्चाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको शल्यक्रियाको नेतृत्व गरेका डा. भट्टराईले जानकारी दिए । अर्याललाई ‘टाइप ए अरोटिक डिसेक्सन विथ प्रेगनेन्सी’ रोग लागेको हो । यो रोग निकै दुर्लभ रहेको चिकित्सकले जनाएका छन् ।

‘यो रोग लागेपछि बिरामी बाँच्ने सम्भावना अत्यन्तै न्यून हुन्छ, भट्टराईले भने, ‘यो अस्पतालको नौ वर्षमा यो पहिलो हो ।’ बच्चा जन्मिँदा बेहोस थियो, तीन घण्टापछि उसको होस आएको छ । आमालाई अहिले भेन्टिलेटरबाट छुट्याएर आइसियुमा सारिएको उनले जनाए ।

आमा र बच्चा दुवैलाई बचाउन सफल भएकोमा उनले खुसी व्यक्त गरे । सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले दुर्लभ रोग लागेको बिरामीको सफल शल्यक्रिया सम्पन्न गरेर आमा र छोरा बचाउन सफल भएकोमा खुसी व्यक्त गरे ।

उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराईका साथै डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी सहभागी थिए । त्यस्तै, एनेस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङ सहभागी थिए । गाइनाकोलोजीमा भने डा. ज्योति शर्मा, डा. बेखा लक्ष्मी मानन्धर, डा. सुनीति रावल, डा. सुनीता बज्राचार्य र डा. सुभाना मास्केको समूह उपचारमा खटिएको थियो ।

त्यस्तै, बालरोग विशेषज्ञमा डा. प्रदीप पौडेल र डा. कविता मानन्धर उपचारमा संलग्न थिए । परफ्युजन टिममा महेन्द्र भट्ट, पूर्ण मोक्तान र रवीन्द्र शाह संलग्न थिए ।

डा. भट्टराई सामाजिक सेवामा समेत सक्रिय छन् । उनको पहलमा सयौँ असहाय, गरिब तथा दुर्गमका मुटुरोगीहरूको सफल उपचार भएको छ । अहिलेसम्म उनले ९० भन्दा बढी बिरामीको निःशुल्क मुटुको शल्यक्रिया गरिसकेका छन् ।

डा. भट्टराईले रुकुम, रोल्पा, कालिकोट, पर्वत, पाल्पालगायत ४० भन्दा बढी जिल्लामा आफ्नो नेतृत्वमा निःशुल्क मुटु शिविर लिएर गएका छन् । शिविरको क्रममा भेटिएका गम्भीर प्रकृतिका मुटुरोगीलाई आफ्नो पहलमा काठमाडौं ल्याई सफल उपचार गराएर घर पठाएका छन् । उनले ‘सेभ द हार्ट’ नामक सामाजिक संस्थामार्फत कार्य गरिरहेका छन् ।

प्रतिक्रिया