अन्तर्राष्ट्रिय युवा दिवस र नेपाल

नयाँ नेपाल बनाउने अभिभारा सबैभन्दा बढी आजको युगमा युवाहरूको काँधमा आइपरेको छ । जनताले माग गरे अनुसारको स्वर्ग भूमि नेपाल बनाउनका लागि वेलैमा सोचविचार गरेर राजनीतिक पार्टीहरू, नागरिक समाज, सरकार र युवा शक्तिहरूले युद्धस्तरमा लाग्नुपर्ने वेला आएको छ ।

लेखकः विश्वनाथ खरेल 


प्रत्येक वर्ष अगस्ट १२ तारिखका दिन अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभरि नै मनाइँदै छ। यस अवसरमा आ–आफ्नो देश सुहाउँदो नाराको तय गरेको हुन्छ। हरेक वर्ष यसै दिन भव्यताका साथ यो दिवस मनाइँदै आइएको छ।

सन् २००० देखि मनाउन थालिएको युवा दिवसका संस्करणहरूमा यस वर्ष सन् २०१८ सम्म आइपुग्दा यो १९औँ युवा दिवस हो । यसरी व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिंगो विश्वकै विकासमा युवाहरूको भूमिका र महत्वलाई दर्शाउन हरेक वर्ष संसारभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

यस दिवसले युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपायहरू र युवाको सक्रियताले संसारमै ल्याउन सकिने सकारात्मक परिवर्तनलाई पनि उजागर गर्दछ । युवा भन्नाले पुरुष र महिला दुवैलाई जनाउँछ । तर, कति उमेरसम्मकालाई युवा भन्ने ? विभिन्न तर्कवितर्क भएको पाइन्छ । युवाशक्ति मुलुकका अमूल्य निधि हुन् ।

देश निर्माणमा युवा जनशक्तिको अति महत्वपूर्ण भूमिका हुन्छ। यसकारण युवा वर्तमान र भविष्य दुवैका आधार हुन् ।युवाको परिभाषा विभिन्न देशमा फरक–फरक भएको पाइन्छ। संयुक्त राष्ट्रसंघले १८ देखि २४ वर्षका व्यक्तिलाई युवा मानेको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठनले शारीरिक स्वस्थताका दृष्टिकोणले १५ देखि २४ वर्षकालाई युवा भनेको छ ।

हाम्रो देशको कुरा गर्ने हो भने युवा क्रियाकलापसम्बन्धी उच्चस्तरीय प्रतिवेदन ०५३ अनुसार १५ देखि २५ वर्षकालाई युवा मानिएको छ । प्रस्तावित युवा नीतिको मस्यौदाले १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषामा राखेको छ । यो मापदण्ड भारतीय र दक्षिण अफ्रिकी मापदण्ड नजिक देखिन्छ। भारतमा १३ देखि ३८ र दक्षिण अफ्रिकामा १४ देखि ३५ वर्षकालाई युवा भनिएको छ। नेपालमा नीति निर्माणतहमा युवाको पहुँच निकै कम देखिन्छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार १८ देखि ३५ वर्षसम्मका मतदाता ५० दशमलव ७५ प्रतिशत छन् । कुल जनसंख्याको झन्डै एकतिहाइ संख्या ओगटेको युवाका लागि अलग्गै मन्त्रालयको आवश्यकता महसुस गरेर पहिलोपटक ०५२ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरिएको थियो । पछि युवा हटाइयो र त्यसलाई शिक्षा तथा खेलकुद मन्त्रालयको युवा कार्यक्रम शाखामा संकुचित गरियो।

जनगणना ०६८ सालको तथ्यांकअनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहेकोमा एक करोड ६ लाख ८९ हजार आठ सय ४२ युवा छन् । त्यसमध्ये ५४ दशमलव ५ प्रतिशत महिला र ४५.५ प्रतिशत पुरुष छन् । १६ देखि ४० वर्षका युवाको साक्षरतादर ७० प्रतिशत मात्र छ। हरेक वर्ष करिब चार लाख युवाहरू रोजगारीको सिलसिलामा विदेश पलायन हुने गरेका छन् ।

यसरी विदेसिने युवाहरूमध्ये ८५ प्रतिशत अदक्ष, १० प्रतिशत अर्धदक्ष तथा पाँच प्रतिशत दक्ष रहेका छन् । मुलुकको अहिलेको समग्र बेरोजगारको दर हेर्दा ४ दशमलव १ प्रतिशत रहेको छ । आन्तरिक रोजगारको व्यवस्था नहुनु, उद्योग कलकारखानाको स्थापना नहुनु, सरकारी नीति नियमको प्रभावकारी कार्यान्वय हुन नसक्नु युवाहरू विदेसिनुका मुख्य कारण हुन् ।

कर्मशील युवाहरूको बढ्दो विदेश जाने संख्यासँगै गाउँ–बस्तीसमेत युवाविहीन बन्दै गएका छन् भने कृषिका लागि उर्वर भूमि मानिएका जमिनहरू पनि बाँझो हुँदै गएका छन्। यसले एकातर्फ खाद्यान्नको डरलाग्दो अभावलाई निम्त्याइरहेको छ, भने अर्कोतर्फ खाद्यान्न आयातका कारण देशको अर्थतन्त्र धराशायी बन्दै गएको छ। यसका साथै औद्योगिक उत्पादनसमेत नराम्रोसँग प्रभावित भएको छ।

आर्थिक विकासको प्रमुख ऊर्जाका रूपमा रहेका युवाहरू अधिकांश अदक्ष रहेकाले विदेशमा गएर पनि न्यून पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य भएका छन् । देशको आठौँ र नवौँ पञ्चवर्षीय योजनामा समेत १५ देखि २९ वर्ष उमेरलाई युवा मानिएको थियो । त्यस्तैगरी शान्ति–नेपालले १५ देखि ४० वर्ष उमेर समूहलाई र राष्ट्रिय युवा नीति मस्यौदा समितिले पनि १५ देखि ४० वर्षलाई युवाको समूहमा राखेको छ।

त्यसकारण नेपालको विद्यमान कानुनले १६ वर्षमुनिका नाबालकमा पर्नेहुँदा १६ देखि ३० वर्षसम्मका पुरुष तथा महिलालाई युवाको परिभाषित हुन उपयुक्त देखिन्छ। हाम्रो देशको ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गका अधिकांश किशोर किशोरीहरू आफ्नो जग्गा जमिनमा उब्जिएको अन्नपातले परिवार धान्न छाडेपछि धन कमाउन विदेश पलायन हुने क्रम एकातिर छ भने, अर्कोतिर उच्च शिक्षा हासिल गरेर पनि रोजगार पाउन नसक्नु विदेश पलायन हुनुको प्रमुख कारण हो।

वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने २० वर्षदेखि ४० वर्षसम्मका युवाहरू बढी देखिएका छन् । हालसालै कृषिप्रधान देश नेपालमा किसानहरूले असार पन्ध्र मनाएका वेला काम गर्ने युवा कोही पनि छैनन् । देशको प्रमुख आयस्रोत नै कृषि भएकाले कृषि कर्म गर्ने ऊर्जाशील युवा युवती वर्गको कमीले गर्दा बुढाबुढीहरूलाई सास्ती खेप्नुपरेको सबैलाई विद्यमान नै छ।

हाम्रो समाजमा मानिसको शारीरिक र मानसिक अवस्था हेरेर उनीहरूलाई तीनवटा वर्गमा विभाजन गरिएको छ। ती, बालक, युवा र वृद्ध हुन् । मानिसका यी तीन वर्गमध्ये सबैभन्दा शक्तिशाली, शारीरिक र मानसिकरूपले परिपक्क र जोस र जाँगरले ओतप्रोत भएको वर्ग भनेको नै युवा वर्ग हो ।

त्यसैले, युवावर्गहरूले देश विकासका निम्ति आफ्नो तर्फबाट शतप्रतिशत सहभागिता जनाउनै पर्दछ किनभने, देशको विकास न त भर्खरै उभिन मात्र सिकेका बालकहरूका कोमल हातले नै गर्न सक्छन् न त डाँडामाथिको घामजस्तै भएर आफ्नो मृत्युलाई कुरेर अरूको भरमा बाँचिरहेका रोगी र अशक्त वृद्धले नै गर्नसक्छन्।

त्यसैले, युवा वर्गहरूले आफूभित्र भएको शक्ति, जोस र जाँगरको सदुपयोग गरी देशको विकासका निम्ति एकजुट भएर लाग्नुपर्छ ।अहिलेसम्म नेपाल र नेपालीको परिचय गरिब र गरिबी मात्रै बन्दै आएको छ । सरकारदेखि जनतासम्म सबैको मानसिकता उस्तै रहेको छ ।

परम्परागत रूपमा कृषिले धानेको अर्थतन्त्रको स्वरूप र अवस्था अब फेरिँदै गएको छ । सेवा क्षेत्रको सक्रियता र नयाँ पुस्ताका रुचिले गर्दा नेपालीको आम्दानी बढ्न पुगेको देखिन्छ । त्यसबाहेक ग्रामीण क्षेत्रबाट लाखौँ नेपाली युवा विदेशमा काम गर्न गएपछि गाउँको कायापलट भएको छ ।

पछिल्लो तथ्यांकहरूले पनि अर्थतन्त्रमा रेमिट्यान्सको बढ्दो भूमिका उल्लेखनीय भएको देखाएका छन्। सरकारले वैदेशिक रोजगारलाई समेत व्यवस्थित गर्न सकेको छैन् । यो क्षेत्र सम्भावनायुक्त भएको महसुस बल्ल मात्र सरकारले गर्न थालेको छ ।

वैदेशिक रोजगारप्रति जनताले देखाएको आधार त्यसको प्रतिफलबाट राज्यले सिक्नुपर्ने कुरा पनि यही हो।हाल रेमिट्यान्स कुल ग्रार्हस्थ उत्पादनको तीन प्रतिशतबाट बढेर २१ प्रतिशत हुन पुगेको अनुमान छ । आव ०६२÷६३ को लोकतान्त्रिक जनआन्दोलनमा युवा वर्गले अकल्पनीय भूमिका खेले ।

जसका लागि नेपाली युवायुवतीहरूले १९ दिने महान जनविद्रोहको निरंकुश सामन्ती राजतन्त्रलाई ध्वस्त हुने प्रशस्त आधारहरू तयार पारी आन्दोलनमार्फत् गरेको बलिदानीपूर्ण संघर्षपछि देशमा लोकतन्त्र स्थापना भएको थियो ।

त्यसमा सबै तह र तप्काका युवावर्गले मुख्य भूमिका खेली रातदिन खबरदारी गरिरहेका छन् । युवा समूह जिम्मेवार वर्गका रूपमा प्रस्तुत भइरहेका छन्। अझ राजनीतिको कुरा गर्ने हो भने त यसवर्ष नयाँ नेपाल निर्माणको अभियानमा लागेका सबै कार्यकर्ता र समर्थक युवा हुन्।

यसर्थ, देशमा शान्ति सुरक्षा र व्यवस्थापन कार्यमा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर एक दशकभन्दा बढी समयदेखि द्वन्द्वग्रस्त बनेको हाम्रा मुलुकले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक तथा विकासका हिसाबले पनि काँचुली फेर्नसक्ने अवस्था युवावर्ग आफैले सिर्जना गर्नुपर्छ ।

युवा समूह जिम्मेवार वर्गका रूपमा प्रस्तुत भइरहेको छ । यस युवा शक्तिको सीप र क्षमता अभिवृद्धि गरी राष्ट्र निर्माणमा लगाई नयाँ नेपालको विकास गर्नु आजको समयको माग पनि हो । समग्रमा भन्नुपर्दा युवाहरू देशका वर्तमानका आधार र भविष्यका कर्णधार हुन् । अतः युवाहरूले सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक आदि क्षेत्रमा ठूलो भूमिका खेलेका छन् ।

किशोर वर्गको क्षमता वृद्धि र विकासका लागि राज्यले प्राथमिकता दिई राष्ट्रिय युवा नीति, कार्यनीति, रणनीति, कार्यक्रम र कार्य योजना बनाई मुलुकलाई आवश्यक मार्ग निर्देशन जरुरी भएको छ । आज आएर देशमा झन्डै दैनिक १ हजार ५ सयको हाराहारीमा विदेसिने क्रमलाई कसरी हुन्छ रोक्न सकिन्छ । त्यसको वैकल्पिक उपायहरू के हुन सक्छन् ?

तिनीहरूको बाटो पहिलाएर वेलैमा त्यसप्रति सजग हुन सकिएन भने भोलि गएर राज्यले ठूलो मूल्य चुकाउनु नपर्ला भन्न सकिन्न। त्यसकारणले गर्दा मुलुकलाई आवश्यक पर्ने ज्ञान र दक्षता भएका व्यक्ति भविष्यमा राज्यका वैज्ञानिक हुन सक्ने युवाहरूले देश निर्माणमा अग्रणी भूमिका खेल्नुपर्दछ। जसले गर्दा झन्डै तीन करोड नेपालीहरूको भविष्यलाई सुनियोजित रूपमा फूल्न र फलाउन सकियोस् ।

हाल देशमा आइपरेको जल्दोबल्दो समस्या भनेकै स्थानीयस्तरको चुनाव सम्पन्न भई केन्द्रीय र प्रदेशको चुनाव शान्तिपूर्वक गराउनसमेत युवा शक्ति ठूलो योगदान रहेको पाइन्छ। यस्तो किसिमको कार्य तोकिएको समयमा नै सम्पन्न गरी दिगो शान्तिको आभास जनताले पाउन सकून्। यो विषय नै अहिलेको प्रथम प्राथमिकताको रूपमा रहेको छ ।

अतः नयाँ नेपाल बनाउने अभिभारा सबैभन्दा बढी आजको युगमा युवाहरूको काँधमा आइपरेको छ । जनताले माग गरे अनुसारको स्वर्ग भूमि नेपाल बनाउनका लागि वेलैमा सोचविचार गरेर राजनीतिक पार्टीहरू, नागरिक समाज, सरकार र युवा शक्तिहरूले युद्धस्तरमा लाग्नुपर्ने वेला आएको छ ।

प्रतिक्रिया