वीर अस्पतालमा एमआरआई ठप्प

यसिमा महत

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो र सस्तो अस्पतालको रूपमा रहेको वीर अस्पतालमा एमआरआई बिग्रिएर बिरामीले मार खेप्नुपरेको छ । ६ दिनदेखि एमआरआई बिग्रिएपछि बिरामीहरू निजी अस्पतालमा गएर महँगो शुल्कमा सेवा लिन बाध्य भएका छन् ।

अस्पतालमा यसअघि पनि एमआरआई मेसिन बिग्रिएको थियो । अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार १४ घण्टा चल्ने मेसिन बिग्रिरहनु सामान्य हो । उनले भने, ‘मेसिनजस्तो कुरा, त्यहाँमाथि दैनिक २०\३० जनाको सेवा गर्दा १४ घण्टाभन्दा बढी प्रयोग हुन्छ । त्यसैले, काम गर्दा मेसिन समय–समयमा बिग्रिरहनु सामान्य कुरा हो ।’ एमआरआई मेसिन रोग पहिचानमा महत्वपूर्ण मानिन्छ । वीरले निजी अस्पतालको भन्दा झन्डै ३० देखि ४० प्रतिशतसम्म सस्तो मूल्यमा सेवा दिने गरेको छ ।

निर्देशक बस्नेतका अनुसार वीरमा दैनिक २०\३० वटा एमआरआई गर्नुपर्ने केस आउने गरेका छन् । अन्य अस्पतालहरूमा पनि उपचार गर्ने उपकरण बिग्रिएको भन्दै वीरमा सेवा अवरुद्ध हुनु फरक रहेको उनले सुनाए । उनले भने, ‘वीरबाहेक अन्य अस्पतालमा धेरै समयसम्म उपचार गर्ने उपकरण बिग्रिएको हुन्छ, तर त्यहाँको कुरा बाहिर त्यति आउँदैन । वीर पुरानो र ठूलो अस्पताल भएकाले अरूभन्दा फरक पनि छ, सेवा अवरुद्ध भएको बारेमा जानकार छु । सम्भवतः शनिबारसम्म बन्छ, नभए एकदुई दिनभित्र सञ्चालनमा ल्याउँछौँ ।’ निर्देशक डा. बस्नेतले सेवाग्राहीको चाप र इलेक्ट्रोनिक्स मेसिन भएकाले समय–समयमा यस्तो समस्या आइरहने गरेको बताएका छन् ।

प्रतिक्रिया