१ लाख जनाको बिमा कार्ड जारी गर्दै काठमाडौँ

काठमाडौँ । जेठ १ गतेदेखि काठमाडौँ महानगरपालिकाले १ लाख बिमितको बिमा कार्ड जारी गर्ने भएको छ । महानगरभित्र स्वास्थ्य बिमा गराएका १ लाख बिमितको कार्ड जारी गर्न लागिएको हो । कार्ड जारी भएसँगै बिमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु हुनेछ । महानगरका अनुसार अहिले वडा–८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा–२६ को लैनचौर, वडा–१४ कलंकी, वडा–१९ कंकेश्वरी र वडा–३० ज्ञानेश्वरका स्वास्थ्य प्रवद्र्धन केन्द्र बिमा बोर्डमा सूचीकृत भएका छन् ।

उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिनेछ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालमा पठाइने महानगरले जानकारी दिएको छ । यसरी प्रदान गरिने उपचार सेवा अनलाइन प्रणालीमा आधारित हुनेछन् ।

बिमा बोर्डले आफूले रकम भुक्तानी गर्नुपर्ने बिरामीको स्वास्थ्य उपचार र अवस्थाबारे अनलाइन प्रणालीबाट सूचना तथा विवरण थाहा पाउनेछ । यस कार्यक्रममा बिमा गरेको प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर १ वर्षमा १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा प्रदान गरिनेछ । सो बराबरको रकम बिमा बोर्डले महानगरअन्तर्गत रहेका प्रवद्र्धन केन्द्रलाई शोधभर्ना गर्नेछ ।

यसका लागि महानगरले मेयर बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा ७ सदस्यीय स्थानीय तह स्वास्थ्य बिमा संयोजन समितिसमेत गठन गरेको छ । समितिले स्वास्थ्य संस्थाहरूमा उपकरण, प्रयोगशालाको सेवामा निरन्तता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग, स्वास्थ्य सेवा प्रदायक संस्थामा सेवाको गुणस्तर वृद्धि गर्ने, गराउने, कार्यक्रम विस्तार गर्न प्रवद्र्धनात्मक कार्यमा सहयोग तथा संयोजन गर्ने काम गर्नेछ । समितिले, सरकारी, सार्वजनिक संस्थाका कर्मचारी र परिवारलाई स्वास्थ्य बीमाको दायरामा ल्याउन नियमावलीले तोकेबमोजिम प्रिमियमको व्यवस्था गरेर कार्यक्रममा आबद्ध गर्नेछ ।

सूचीकृत भएकाबाहेक अन्य सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूको पूर्वाधार निर्माण (प्रयोगशाला, औषधिलगायत), जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरण जस्ता विषयमा काम गरिरहेको महानगरले जनाएको छ । महानगरले बिमितको कार्ड हरेक ३ महिनामा जारी गर्नेछ ।

प्रतिक्रिया