औकात भन्दामाथि उठ्ने संकल्प

रमेश ढकाल जीवनका विभिन्न कालखण्डमा भिन्न–भिन्न मानिसहरूले गरेका भिन्न–भिन्न अनुभूतिका आधारमा सफलताको अर्थ पनि भिन्न–भिन्न नै हुने गरेको हामीले सुनेका छौँ, अनुभव गरेका छौँ । जस्तैः कसैका लागि नाम कमाउनु, कसैका लागि पैसा कमाउनु त कसैका लागि प्रतिष्ठा ।

विद्यार्थीका लागि परीक्षामा प्रथम आउनु सफलता होला भने खेलाडीका लागि कुनै खेल जित्नु । त्यस्तै, एउटा नेताका लागि चुनाव जित्नु सफलता होला भने कुनै प्रेमी–प्रेमिकाका लागि कसैको मन जित्नु । साधारणतया कसैले गरेको प्रयास सार्थक हुन या कसैको सपना साकार हुनुलाई नै सफलता प्राप्त भएको मान्ने गरिन्छ ।

यदि, अहिले १०औँ वा १२औँ कक्षामा अध्ययन गर्दै गरेका हाम्रा भाइ–बहिनीहरूलाई सफलता के हो भनेर सोध्ने हो भने, के कस्ता जवाफहरू आउन सक्लान् भनेर हामी थोरबहुत अनुमान लगाउन त सक्छौँ नै । कल्पना गर्नुस् कुनै दूरदराज गाउँकी एकजना बहिनी दुःख गरेर स्कुलको पढाइ सक्छिन्, घरपरिवारको राम्रो साथ नहुँदा नहुँदै पनि सहर जान्छिन्।

दुःख गरेर पढिछन् (मासकम्युनिकेसन एन्ड जर्नालिजममा स्नातक तहसम्मको पढाइ पूरा गर्छिन्) र लगत्तै कुनै प्रतिष्ठित टिभी च्यानलमा न्युज रिडर र उद्घोषकको रूपमा काम गर्ने अवसर प्राप्त गर्छिन् ।अब हामीले यी बहिनी र अहिलेको चल्तीको हिरो अनमोल केसीको सफलतालाई तुलना गरेर हेर्ने हो भने, कसलाई बढी सफल भएको मानौँला ? पक्का पनि हामी धेरैले उद्घोषक बनेकी बहिनीलाई नै ज्यादा सफल मान्ने छौँ ।

किनकी अनमोल केसीलाई प्राप्त भएको सफलता जति स्वाभाविक छ, ती बहिनीको केसमा भने परिस्थिति धेरै नै फरक हुन्छ । तर, पनि उनले त्यो गरेर देखाइन् जसको बारेमा उनको परिवार, आसपासका मानिस वा उनको त्यहाँको समाजले सोचेको पनि हुँदैनथ्यो । यसै, सिलसिलामा यहाँहरूलाई म अर्को एउटा उदाहरण सुनाउँछु । यहाँहरूले भारतका अहिलेका एक प्रसिद्ध अंग्रेजी नोभेलिस्ट, राइटर, मोटिभेसनल स्पिकर चेतन भगतको नाम त सुन्नु भएकै होला ।

साथै उनले लेखेका अंग्रेजी नोभेलबाट बनेका हिन्दी फिल्म टु स्टेट, हाफग्रल फ्रेन्ड, आदि यहाँहरूमध्ये धेरैले हेर्नु पनि भएको होला । चेतनले भारतको आइआइटी दिल्लीबाट इन्जिनियरिङ र आइआइएम अहमदावादबाट एमबिए गरेका छन् । यहाँहरू मध्ये कतिलाई थाहा नहुन पनि सक्छ, उनले एसएसएलसी (हाम्रोमा एसइई भनिन्छ) पास गर्दा उनको मात्र ७ सय ६५ (द्यं) अंक आएको थियो, जुन उनको परिवारले अपेक्षा गरेको भन्दा निक्कै कम्ती थियो ।

हरेकका आमाबाबुहरूले जस्तै चेतनका आमाबाबुले पनि हाम्रो छोराको (ब्ं० भन्दामाथिको अंक आओस् ताकि भोलि गएर छोरालाई इन्डियाका टप आइआइटी कलेजबाट इन्जिनियरिङ गर्ने अवसर प्राप्त हुनसकोस् । तर, वास्तविकतामा त्यस्तो हुन सकेन, जसका कारण रिजल्ट आएको दिन बेलुका चेतनको घरको माहोल शोकमग्न थियो, सबैको मुहारमा बादल छाएको अवस्था थियो ।

राती खाना खान बसेको वेला चेतनका मामाले चेतनकी आमालाई सान्त्वना दिँदै भन्छन्, यसको औकात नै यति नै थियो, चिन्ता गर्नु पर्दैन आफ्नो औकात बराबरको केही नकेही त गरिहाल्छ नि । यो सुनेर चेतनले पनि मनमनै अब बरू एसटिडी आइएसडीको टेलिफोन बुथ खोल्नु पर्यो भन्दै योजना बनाउँछन् । तर, भरे फेरि सोचे, अहिले म भर्खर १५ वर्षको हुँदै छु । अझै त केही पनि बिग्रिएको छैन ।

यदि, कुनै संकल्पका साथ मेहनत गरेर अगाडि बढ्ने हो भने, म अझै पनि आफ्नो औकातभन्दा माथि उठेर देखाउन सक्छु । त्यतिखेरसम्म उनलाई अब अगाडि कहाँ पढ्ने, के पढ्ने भन्ने बारेमा खासै जानकारी पनि हुँदैन । त्यसैले सबैभन्दा पहिला त यसका बारेमा इन्फर्मेसन ग्यादर गर्छन्। यसै सिलसिलामा उनले पत्ता लगाउँछन्, भारतमा सबैभन्दा राम्रो कलेज भनेको आइआइटी हुने रहेछ र त्यसमा भर्ना पाउन भने धेरै नै कठिन हुने रहेछ ।

उनले कसरी हुन्छ आफूलाई यसका लागि तयार पार्ने निर्णय गर्छन्, जसका लागि उनीसँग दुई वर्षको समय हुन्छ । उनले संकल्प गर्छन्, यो दुई वर्षको अवधिमा आफूलाई यसरी तयार पार्नेछु ताकि, आफ्नो औकातभन्दा माथि उठेर देखाउन सकियोस् । यही सोच र संकल्पका साथ चेतन आफ्नो अगाडिको पढाइ सुरु गर्छन् ।

यो क्रममा उनको जीवनमा पनि कैयौँ अप्ठ्यारा परिस्थितिहरू आउँछन्, तर उनी कहिल्यै बिचल्लीत हुँदैनन् । आफ्नो संकल्पअनुसार लक्ष्य प्राप्तिका लागि लगातार मेहनत गर्छन् । फलस्वरूप १२औँ कक्षाको अध्ययन पूरा गरेसँगै इन्जिनियरिङ पढ्नका लागि प्रवेश परीक्षा दिन्छन्,पास गर्छन् र भारतको टप आइआइटी कलेजहरू मध्येको आइआइटी दिल्लीबाट इन्जिनियरिङ (मेकानिकल) र आइआइएम अहमदाबादबाट एमबिए गर्छन् ।

सन् २०१० मा अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागजिनले त्यो सालको विश्वका एक सय प्रभावशाली व्यक्तिहरूको सूचीमा चेतन भगतको नाम पनि राखेको थियो ।  माथिका कथा वस्तु त केवल प्रतिनिधि पात्रका रूपमा लिएका उदाहरण मात्र हुन् । हाम्रो आफ्नै गाँउ सहरलगायत देश विदेशमा हेर्ने हो भने यस्ता कैयौँ पात्रहरू भेट्ने छौँ, जसले जीवनमा कठिनभन्दा कठिन परिस्थितिमा पनि आफूप्रतिको दृढ विश्वास र संकल्पलाई कायम राख्दै लगातार मेहनत गरेर आ–आफ्नो स्तरमा आफ्नो औकातभन्दा माथि उठेर देखाउन सफल भएका छन् ।

मूल रूपमा हाम्रा परिवारजन, गुरुजन, आसपसका मानिसलगायत हाम्रो गाउँ समाज देशले हामीबाट जे–जति अपेक्षा राखेका हुन्छन् त्योभन्दा धेरै गरेर देखाउन सक्नु पर्छ अर्थात् आफ्नो औकातभन्दा माथि उठेर देखाउन सक्नु नै साँचो सफलता रहेछ भन्ने कुरालाई माथि उल्लेखित उदाहरणले यहाँ सिद्ध गरेको छ । यहाँसम्म हामीले यो त बुझ्यौँ कि, सफल बन्नका लागि आफ्नो औकातभन्दा माथि उठेर देखाउन सक्नुपर्ने रहेछ ।

तर, सबैभन्दा मुस्किलको कुरा, अब आफ्नो औकातभन्दा माथि उठ्ने कसरी ? औकातभन्दा माथि उठ्न त्यति सजिलो त छैन । घरमा आमालाई दुई÷तीन दिन खान बनाउन सघाएर अथवा दुई चार हप्ता लगातार बुबालाई अन्य कुनै काममा सहायता गरेर त आफ्नो औकातभन्दा माथि उठ्न सकिँदैन । आफ्नो औकातभन्दा माथि उठ्नका लागि त कुनै निश्चित् समयसम्मका लागि लगातार मेहनत गर्नुपर्ने हुन्छ ।

कसैले धक्का लगाएर अथवा बल गरेर थोरै समयका लागि गरिने मेहनतले यहाँ काम गर्ने वाला छैन । यसका लागि एक दुई घण्टा र दिन हैन, एक दुई वर्ष नै लगातार कडा मेहनत गर्नुपर्ने हुन्छ, हैन त ? जब हामीले यो कुरालाई आफ्नो अन्तर आत्मबाट महसुस गर्छाैँ र बुझ्छौँ । अब अर्को महत्वपूर्ण स्टेप भनेको लक्ष्य निर्धारण गर्नु हो । अब यो लक्ष्य निर्धारण गर्ने कसरी ?

अब हेर्नुस्, भन्न त घरमा आमाबुबाले तिमी डाक्टर बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ, पाइलट बन्नुपर्छ, वकिल बन्नुपर्छ, फलानाको छोराछोरी त बने भने तिमी किन बन्न सक्दैनौ, आदि कुराहरू भन्नु र सुनाउनु हुन्छ । तर, घरमा आमाबुबाले भनेर मात्रै त यो सम्भव हुँदैन, हुन्छ त ? निश्चित् रूपमा पनि हुँदैन । अब यसै अनुरूप आफ्नो लक्ष्य निर्धारण गर्नुस् ।

अब यो लक्ष्यलाई आफ्नो सपना बनाउनहोस् र यसलाई हरेक क्षेत्रमा परिणत गर्नका लागि कति समय आवश्यक पर्ने हो, यसै अनुरूप एउटा निश्चित् समय अवधि पनि निर्धारण गर्नुहोस् संकल्प गर्नुहोस् । यो निर्धारित समय अवधिभित्र यसलाई जस्तो सुकै अवस्थामा पूरा गरेर छोड्ने छु, यो संकल्प पूरा नभएसम्म मेरा लागि अरू केही पनि महत्वपूर्ण छैन र हुन सक्दैन । यसको मतलब, यहाँ तपाईंले राम्ररी बुझ्नु भएको छ ।

जुन लक्ष्य तपाईंले निर्धारण गर्नु भएको छ, यो लक्ष्य प्राप्तिका लागि ‘धक्कामार मोटिभेसन’ ले काम गर्ने वाला छैन । जब यो बुझाइका साथ मानसिक रूपले तयार भएर आफ्नो लक्ष्य अनुरूप मेहनत गर्न सुरु गर्नुहुन्छ, तपाईंलाई आफ्नो औकातभन्दा माथि उठ्न सक्ने सफलता हासिल गर्नबाट कसैले पनि रोक्न सक्दैन। यदि, यहाँहरू चेतनले जस्तै जीवनमा आफ्नो औकातभन्दा माथि उठ्ने संकल्प गर्नुहुन्छ ।

अर्थात् अरूले सोचेकोभन्दा पनि राम्रो गरेर देखाउने लक्ष्य राख्नु हुन्छ (यस्तो लक्ष्य पढाइमा मात्र हुनुपर्छ भन्ने हैन, तपाईंहरूको रुचिअनुसारको जुनसुकै क्षेत्रमा पनि हुन सक्छ ) । त्यसो हो भने आजैबाट आफ्नो संकल्प र लक्ष्य अनुरूप कडा मेहनत गर्न सुरु गर्नुहोस्, यहाँहरू पनि आ–आफ्नो क्षेत्रमा आफ्नो औकातभन्दा माथि उठेर देखाउन सफल बन्नुहुनेछ ।

प्रतिक्रिया