शान्त मन र सक्रिय जीवन

दृष्टिविहीन अभिभावक संघ–नेपालले गत फागुन महिनामा महाशिवरात्री पर्वको पावन अवसर पारेर ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, ललितपुर, सातदोबाटोमा एक आध्यात्मिक प्रवचन कार्यक्रमको आयोजना गरेको थियो । उक्त प्रवचन कार्यक्रमको मुख्य विषय थियो शान्त मन र सक्रिय जीवन ।

कार्यक्रमका प्रमुखवक्ता ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार रामसिंह ऐर हुनुहुन्थ्यो । उक्त प्रवचन रोचक एवं प्रेरणादायी रहेको कार्यक्रममा सहभागीहरूले आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए । सोही प्रवचनको विषयमा केन्द्रित रही यो लेख प्रस्तुत गरेको छु ।

मनको स्वभाव

मन मानिसको चैतन्य शक्ति हो । मन कुनै भौतिक तत्वद्वारा निर्माण भएको वस्तु होइन । मनको स्वस्थ, सबल र सकारात्मक विचारले संसारको कायाकल्पमै सुखद परिवर्तन ल्याउन सक्तछ भने मनमा उत्पन्न हुने अस्वस्थ, प्रदूषित र नकारात्मक विचारले संसारलाई दुःखद् र अशान्तिको स्थल पनि बनाइदिन सक्छ ।

आज विश्वमा जति पनि नवीन खोज, आविष्कार र भौतिक प्रगति भएका छन्, ती सबै मानव मनकै उपज र अभिव्यक्ति हुन् । यसबाट के स्पष्ट हुन्छ भने मानव मन यदि कुनै कुरामा उत्साह, उमंग र एकाग्र भएर लाग्ने हो भने उसले चामत्कारिक उपलब्धि हासिल गर्न सक्तछ । यद्यपि, मानव मन त्यत्तिकै चुप लागेर बस्ने स्वभावको हुँदैन ।

मनमा हरपल, हरक्षण कुनै न कुनै विचार वा संकल्प चलिनै रहेको हुन्छ । मनमा उत्पन्न हुने यस्ता संकल्प र विचारहरू विशेषगरी दुई प्रकारका हुने गर्दछन् । एउटा चिन्तनशील विचार र अर्को चिन्ताग्रस्त विचार । मनमा यदि चिन्ताग्रस्त विचार मात्र बारम्बार उठिरहन्छ भने हामी मानसिक रूपमा तनावग्रस्त बन पुग्दछौँ ।

र, यसले हाम्रो शरीरलाई पनि कमजोर र रोगग्रस्त तुल्याइदिन्छ । तर, मनमा यदि चिन्तनशील विचार उत्पन्न भइरहने हो भने यसले हाम्रो जीवनलाई समस्याको भुमरीबाट समाधानको दिशातर्फ उन्मुख गराउँदछ र समृद्धिको बाटोतर्फ अग्रसर गराउँछ ।

मन र तन बीचको अन्तरसम्बन्ध

मन र तनबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको हुन्छ । मनोचिकित्सकहरूको भनाइअनुसार मनमा उत्पन्न हुने खुसी, आनन्द र हर्षले हाम्रो अन्तःस्रावित प्रणालीमा इन्डोरफिन (endorphin) जस्ता हार्मोन्सहरू पैदा गरिदिन्छ जसले गर्दा मानव शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्न जान्छ र अनेक प्रकारका विषालु (Toxic) तत्व तथा रोगका भाइरसहरूले शरीरलाई कुनै हानी गर्न सक्तैन, नोक्सान पुर्याउन सक्तैन ।

तर, मानिस जब चिन्ता, आवेग र तनावपूर्ण मनस्थितिबाट ग्रसित हुन्छ उसको शरीरको अन्तःस्रावित प्रणालीले कार्टिको स्टेरोइड (cartico steroid) नामक हार्मोन्स पैदा गर्दछ । यसबाट हाम्रो शरीरमा युरिक एसिड, पेटमा घाउ अथवा अल्सर, कोलेस्टोरल आदिजस्ता तत्वहरू उत्पन्न हुन्छ र शरीर रोगको घर बन्न पुग्दछ । तसर्थ शरीरलाई निरोगी राख्ने अथवा रोगको घर बनाउने यो सबै बाह्य परिस्थितिभन्दा हाम्रो आन्तरिक मनस्थितिमथि नै निर्भर रहने गर्दछ ।

आज विश्वमा जति पनि अशान्ति, द्वन्द्व, हत्या, हिंसा, प्रदूषण आदिका घटनाहरू हामी देख्छौँ, सुन्छौँ त्यसको बीजांकुरण पनि कुनै न कुनै रूपमा मानव मनमा नै भएको हो । ईष्र्या, द्वेष, घृणा, क्रोध, वैमनस्यलगायत अनेकन् स्वार्थजन्य सोचाइ र भावनाले मानव मनलाई गाँजिरहेको हुन्छ, पिरोलिरहेको हुन्छ ।

यस्तो मानसिक अवस्थामा न मन शान्तमय हुन्छ न त आनन्दमय र सुखमय जीवनको नै परिकल्पना गर्न सकिन्छ ।बरु यस्तो अशान्त, असन्तुलित र तनावग्रस्त मन आफैँमा एक जटिल समस्या बन्न पुग्दछ । किनकि हाम्रो मनको सोचाइ, विचार वा दृष्टिकोणले नै हामीलाई उन्नति अथवा अवनतिको मार्गतर्फ धकेल्ने गर्दछ ।

तसर्थ जुनसुकै प्रकारका समस्याको सर्जक मानव मनको सोच र चिन्तन नै भएको हुँदा यसको समाधान पनि हामीले मानव मनको विचार वा भावनामै खोज्नुपर्दछ र त्यसमा सुधार अथवा परिवर्तन ल्याउने प्रयत्न गर्नुपर्दछ ।

आध्यात्मिक ज्ञान र योग

वास्तवमा हाम्रो मन यति चञ्चल र अस्थिर भइरहन्छ कि यसलाई शान्त र सन्तुलित राख्ने काम त्यति सहज र सजिलो पक्कै पनि छैन । तर, यदि हामीले निरन्तर अभ्यास गर्ने हो र निरन्तर साधना गर्ने हो भने यो असम्भव कुरा पनि होइन । त्यो साधना हाे आध्यात्मिक ज्ञान र योगको साधना । आध्यात्मिक ज्ञान र योगको साधना नियमित गर्नाले र दैनिक जीवनमा यसको व्यावहारिक प्रयोग गर्नाले मानव मन स्वच्छ, सबल र शक्तिशाली बन्दै जान्छ ।

अर्को कुरा आध्यात्मिक ज्ञान र योगको साधना गर्नु भनेको मनलाई दबाउनु अथवा दमन गर्नु होइन । बरु यस्तो अभ्यास र साधनाबाट मनलाई सुमन गर्ने अथवा मनलाई सुमार्गतर्फ लैजानेजस्ता व्यावहारिक पद्धतिको अवलम्बन गरिन्छ । त्यति मात्र नभएर आध्यात्मिक साधनाबाट मनभित्रको अथाह क्षमता र सम्भाव्यतालाई पनि सकारात्मक रूपमा उत्सर्जित गर्न सकिन्छ र आफ्नो कर्म क्षेत्रमा अग्रसर रहन सकिन्छ ।

जसले गर्दा मानव मनको अन्तरचेतनामा रहेको गुण र क्षमता पनि प्रष्फुटित हुन थााल्दछ र हामी पूर्ण सक्रियताका साथ प्रगतिको बाटोमा अगाडि बढ्न सक्तछौँ ।

अध्यात्म र स्व–परिवर्तन

आध्यात्मिक ज्ञानको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसले अरूलाई बदल्ने प्रयास अथवा परिश्रम गर्नुको साटो स्वयंलाई रूपान्तरित अथवा परिवर्तन गर्न अभिप्रेरित गर्दछ । जसबाट मानिस निहीत स्वार्थको त्याग गरी सर्वहित कल्याण र सेवाको लागि अभिप्रेरित हुन पुग्दछ, समर्पित बन्न पुग्दछ ।

आध्यात्मिक ज्ञानले मानिसको बाह्य सुधार र शृंगारभन्दा पनि अन्तरहृदयको शुद्धता र सशक्तीकरणलाई महत्व दिने गर्दछ । त्यसैले आध्यात्मिक साधना र योगको अभ्यासद्वारा मनलाई शान्त र सन्तुलित अनि शरीरलाई स्वस्थ र सक्रिय तुल्याई उन्नतिको बाटोतर्फ अग्रसर हुन सकिन्छ ।

आध्यात्मिक ज्ञानले मानिसलाई भौतिक प्रगति नै गर्नु हुँदैन अथवा आध्यात्मिक ज्ञानले मानिसलाई दीन, हिन र भिखारी नै बन्नुपर्दछ भन्दैन र भनेको छैन । बरु आध्यात्मिक ज्ञानले हामीलाई जहिले पनि सही मार्गको अवलम्बनद्वारा आफ्नो कर्तव्य पथमा अगाडि बढ्दै भौतिक उपलब्धि हासिल गर्ने र आफूले प्राप्त गरेको त्यस्तो भौतिक उपलब्धिलाई सही रूपमा उपयोग गरी मानव हित र कल्याणमा लगाउन अभिप्रेरित गर्दछ ।

अन्त्यमा प्रत्येक व्यक्तिले आफ्नो जीवन सुखी होस्, शान्त होस् र समृद्ध बनोस् भन्ने चाहना राखेको हुन्छ, परिकल्पना गरेको हुन्छ । यस्तो चाहना राख्नु स्वाभाविक हो र यो वास्तवमा हामी मानव मात्रको जन्मसिद्ध अधिकार पनि हो । तर, चाहना राख्दैमा अथवा परिकल्पना गर्दैमा मात्र कुनै पनि कुरा पूरा हुने त होइन ।

आफ्नो यस परिकल्पनालाई मूर्तरूप दिन हामीले आध्यात्मिक ज्ञान र योगको साधनाबाट आफ्नो आन्तरिक मनस्थिति शान्त, स्थिर र सन्तुलित राख्दै जीवनलाई सक्रिय र कर्मशील बनाउने तर्फ पनि निरन्तर प्रयत्नशील र अग्रसर रहनुपर्दछ ।

प्रतिक्रिया