नजाव शरिफलाई स्वास्थ्य जाँचमा रोक

 

एजेन्सी । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी परे पनि सरकारले उनको स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ ।

उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिएको निवेदन पनि अस्वीकृत गरिएको समाचारमा जनाइएको छ ।

पाकिस्तान सरकारका स्वास्थ्य अधिकारीले नै उनको निवेदन अस्वीकार गरेको शरिफको पार्टी मुस्लिम लिग, नवाज (पिएमएल–एन) ले सोमबार सो जानकारी दिएको छ ।

पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन् ।

यसै महिनाको सुरुमा पाकिस्तान फर्किएका शरिफलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो ।

शरिफलाई हालै मात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो ।

उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ अर्थात् बुधबार हुन लागेको सो संसद्को निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरु उठाइएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा उनलाई नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथलको सम्भावना रहेको बताइन्छ ।

उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाउँदै आएको बताएका छन् । उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि अदालतले तोकिएका थियो ।

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ बेलायतको लण्डनमा गएका थिए । उनको श्रीमती क्यान्सर रोगबाट पीडित छिन् ।

प्रतिक्रिया