पतिविरुद्ध अप्राकृतिक यौनसम्बन्धको आरोप

नयाँ दिल्ली । भारतमा एक महिलाले जबरजस्ती आप्राकृतिक यौन सम्बन्धको आरोपमा पतिविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेकी छिन् । बिहेको चार वर्षे यात्रामा पतिले पटक–पटक जबरजस्ती अप्राकृतिक यौनसम्पर्क (ओरल सेक्स) गरेको ती महिलाको आरोप छ । भारतीय सञ्चारमाध्यमका अनुसार महिलाका श्रीमान डाक्टर हुन् । रिट निवेदनमा उनले पतिको कर्तुत रोक्नका लागि कडा ऐन नियमको माग गरेकी छिन् ।

महिलाकी अधिवक्ता अपर्णा भट्टले दायर गरेको रिटमा पीडितसँग जबरजस्ती अप्राकृतिक यौनसम्पर्क गरेको र यो प्रकृतिको आदेशविरुद्धको सेक्स भन्दै धारा ३७७ अन्तर्गत यो अपराध भएको तर्क गरिएको छ । रिटमा सुनवाई गर्दै न्यायाधीशद्वय एनबी रमना, एमएम शांतनागौदरको इजलासले महिलाका पतिको नाममा नोटिस जारी गरेको छ ।

भारतीय सर्वाेच्च अदालतले आप्राकृतिक यौन सम्बन्धलाई अपराध मान्ने धारा ३ सय ७७ लाई चुनौती दिएका वेला महिलाले कडा नियमको माग गर्दै रिट दायर गरेपछि यो झन् जटिल बनेको समाचारमा जनाइएको छ । पीडित महिलाका अनुसार उनको बिहे २०१४ मा भएको थियो । बिहेपछि श्रीमानले आफ्नो इच्छाविना पटक–पटक अप्राकृतिक सम्बन्धका लागि बाध्य पारेको उनको आरोप छ ।

यसअघि महिलाले पतिविरुद्ध बलात्कार र अप्राकृतिक यौनसम्बन्धको आरोपमा प्रहरीमा उजुरीसमेत दर्ता गराएकी थिइन् । त्यो वेला घटना प्रहरीबाट गुजरात उच्च अदालतमा पुगेको थियो । तर, वैवाहिक बलात्कारको कुनै प्रावधान नभएको भन्दै अदालतले मुद्दा नै खारेज गरेको थियो ।

प्रतिक्रिया