बदाम, ओखरले बढाउँछ शुक्रकीट !

जेनेभा । नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनट (कटुस) आदिको सेवनले शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ । चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषमा शुक्रकीटको कुल संख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन् ।

पाश्चात्य जगत्मा प्रदूषण, धुम्रपान एव्र खानपिन आदिका कारण वीर्यमा शुक्रकीटको संख्या घट्ने क्रम देखिएका वेला सो शोध गरिएको हो। शोधकर्ताहरूका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाइदिने प्रमाण पनि भेटिएको छ । अहिले सातमध्ये एक जोडीमा गर्भाधान नहुने समस्या देखिएको छ । झन्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको बताइन्छ ।

वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका १ सय १९ स्वस्थ पुरुषलाई दुई समूहमा विभाजित गरे । एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलनट नियमित भोजनसँग दिइयो । अर्को समूहको भोजनमा परिवर्तन गरिएन । बदाम आदि फल खाने समूहको शुक्रकीटको संख्या र गुणमा सुधार आयो, संख्यामा १४ प्रतिशतले, क्षमतामा ४ प्रतिशतले, गतिशीलतामा ६ प्रतिशतले र आकारमा १ प्रतिशतले ।

यी सबै विश्व स्वास्थ्य संगठनले शुक्रकीटको गुणस्तरका लागि तोकिदिएका मापदण्ड हुन् । र, यिनको पुरुषको प्रजनन क्षमतासँग सम्बन्ध हुन्छ । ओमेगा–३ फ्याट्टी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन बी फोलेटले प्रजननशक्ति बढाउन सघाउँछन् भन्ने अरू शोधहरूको निष्कर्षलाई यसले समर्थन गरेको विज्ञहरूले बताएका छन् ।बदाम र ओखरजस्ता फलमा यी र अन्य पोषक तत्वहरू हुन्छन् ।

‘स्वस्थ आहार र जीवनशैलीले गर्भाधानको सम्भावना बढाउँछ भन्ने मान्यतालाई समर्थन गर्ने वैज्ञानिक प्रमाण थपिँदै छन्,’ शोधको नेतृत्व गरेका स्पेनस्थित रोभिरा ई भिर्जिलीका डा. अल्बर्ट सालास–हुएटोसले भने ।

तर, अध्ययनमा संलग्न पुरुषहरू स्वस्थ र प्रजनन गर्न सक्षम ठानिएकाले यो शोधको परिणाम प्रजननमा समस्या भएका व्यक्ति र अन्य पुरुषमा लागू होला कि नहोला, त्यो स्पष्ट नभएको शोधकर्ताहरूले बताएका छन् ।

सो शोधमा संलग्न नभएका सेफिल्ड विश्वविद्यालयका प्राध्यापक एवं पुरुष प्रजनन अंगमा हुने रोगका विशेषज्ञ आलन पेसीका अनुसार बदाम र ओखर ख्वाइएका पुरुषहरूमा शोधको परिधिमा नपरेका अन्य सकारात्मक प्रभावहरू पनि भएका हुन सक्छन् ।

भ्रुणशास्त्रमा विशेषज्ञता भएकी चिकित्सिक भर्जिनिया बोल्टनले यी खोजहरू ‘प्राज्ञिक रूपमा चाखलाग्दा’ भए पनि यिनले कसरी गर्भाधानको सम्भावना बढाउँछन्, त्यो भन्न भने असम्भव रहेको बताइन् । ‘तर हामीले बिरामीलाई मदिरा नपिउन, धुम्रपान नगर्न र स्वस्थ आहारविहार गर्न उत्प्रेरित गरिराख्नुपर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया