मोहन विष्ट न्युयोर्क । झट्ट हेर्दा कुनै सामानको विज्ञापनजस्तो देखिने यी तस्बिरहरूमा न त कुनै सामानको विज्ञापन हुन् न त कुनै व्यापारको प्रचार । आफ्नो भीमकाय शरीरलाई मिहिनेत र सन्तुलित आहारविहारको माध्ययमद्वारा पूर्ण नियन्त्रणमा ल्याउन सफल एक नेपाली युवाको वास्तविक कथा हो । आजको व्यस्त समाजमा मोटोपना हरेक मानिसको साझा समस्या बनेको छ । शारीरिक सुन्दरतामा मात्र यसले धावा बोलेको छैन ।
सामाजिक, स्वास्थ्य र पारिवारिक तथा प्रेमको सवालहरूमा पनि यसले टाङ अड्याएर दुःख दिँदै आएको छ । पेट पुष्ट बढेको मानिस कुनै पनि दृष्टिकोणबाट सुन्दर देखिँदैन । जब आफ्नै स्वास्थ्यमा त सचेत छैन भने अन्य सवालमा के इमानदार होला भनेर उसलाई हेर्ने समग्र मानिसको दृष्टिकोणमा नै मोटोपनाले नकारात्मक सन्देश दिन सक्छ ।
शारीरिक व्यायामको कमी, अव्यवस्थित खानपान र मादक पदार्थको सेवन अनि बढ्दो उमेर नै मोटोपनको मुख्य आधार हो । जब मोटोपना बढछ, त्यसले विभिन्न रोग र समस्याहरू शरीरमा सिर्जना गर्न थाल्छ ।
मोटोपनाको चक्रव्यूहमा फसेर पारिवारिक, सामाजिक र स्वास्थ्यको क्षेत्रमा कठिनाइ झेलेर पीडित बनेका हरिहर महतले चक्रव्यूह तोडेर बाहिर निस्कन सफल भएका छन् ।
करिब १४ वर्षदेखि साउदी अरबमा कर्मभूमी बनाएर Rotana Hotels & Resorts मा Security Director को रूपमा महेन्द्रज्योती बाँसडोलमा स्थायी घरभई हाल बनेपा नपा गोदामचोक बस्ने ३८ वर्षीय हरिहर महतले १ सय १० किलो वजनलाई घटाएर ८० किलो बनाउन सफल भएका छन्।
उनको लक्ष्य ६५ देखि ७० किलोको बीचमा पुर्याएर तौल बढन नदिने रहेको छ । लामो विदेशी जीवनशैली, अनियन्त्रित खानपान, मध्यपान र व्यायामको अभावले उनले विदेशमा धनभन्दा द्रुत गतिमा शरीरमा मोटोपना कमाउन सफल भए । २०१६ को अप्रिल महिनामा उनले जिम भर्ना गर्दा उनको तौल १ सय १० किलो र कम्मरको गोलाइ ४२ इन्च पुगेको थियो ।
सोही महिनाको सेप्टेम्बरसम्म उनले आफनो तौल १ सय २ किलो र कम्मरको गोलाइ ४० इन्चमा झार्न सफल भए । हरेक वर्ष दसैँमा एक महिनाको बिदा लिएर नेपाल जान्थे । दसैँ मानेर फर्किएपछि उनी जिम जान अल्छी लागेर जान छोड्थे । २०१७ को नयाँवर्षको रिजुलोसन तौल घटाउने बनाएर फेरी जिम भर्ना गर्दा उनको तौल पहिलेकै अवस्थामा पुगिसकेको थियो ।
यसपटक अलि मिहिनेत गरेर सेप्टेम्बरसम्म नियमित जिम गएर तौल सय केजी र कम्मरको गोलाइ ३९ इन्चसम्म झार्न सफल भएका थिए ।
फेरी दसैँ आयो नेपालमा गएर आएपछि फेरी जिम जान बन्द भएकोले पुरानै कथा दोहोरियो ।
२०१७ को डिसेम्बर महिनामा एक सुन्दर बिहानीमा उनले आफैँलाई ऐना अगाडि उभिएर हेरे आफ्नो गालामा आफैँले हिर्काउँदै अब यस्तै गरी जीवन नजिउने र नयाँ वर्षलाई विशेष वर्ष बनाउने प्रतिज्ञा आफैँ सँग गरे ।
डिसेम्बर ३१ लाई अन्तिम दिन रक्सी पिउने भनेर हुस्की, वाइन, बियर, भोड्का सबैको स्वाद अन्तिमपटक लिने भन्दै भोलिपल्टसम्म बसेर पिए ।
त्यसको परिणम स्वरूप एक हप्तासम्म काममा पनि जान नसकी घरमै सुतेर बिताए । आठाैँ दिन डाक्टरकोमा फुलबडी चेक अप गर्नका लागि जाँदा, लिभर पाँच गुणा बढी तातेको, वरिपरि बोसो बढेको र साधारण मानिसको भन्दा सुन्निएर ठूलो भएको रिपोर्ट पाए ।
डाक्टरले यदि मर्ने नै इच्छा भए अन्य धेरै उपायहरू छन् । तर, यस्तो तरिकाले चाही नमर भनेर चेतावनी दिएपछि, म मरे भनेँ मेरी पत्नी र दुई छोरीहरूको के हालत होला भन्दै मनमनै प्रतिज्ञा गर्दै झोलाभरि तीन हप्ताका लागि औषधि बोकेर फर्किएका थिए । त्यसपछि केही दिन कोठाको कुनामा रहेको औषधिको झोला हेर्दै र परिवारलाई संझँदै यो समस्यालाई जित्ने महाअभियानमा लाग्न हौसला एकत्रित गर्नतर्फ लागे ।
२३ जनवरीमा २०१८ मा जिममा पहिलो पाइलो टेकेर कोचसँग सिरियस ट्रेनिङ गर्ने कुरा गरेर सहयोगको याचना गरे । कोच जो पहिलेको बडी बिल्डर च्याम्पियन पनि हुन्, उनले ९० दिनको च्यालेन्ज वर्कआउट दिए, जसमा केही सम्लिमेन्टहरू पनि समावेस थिए तर नो अल्कोहल ।
त्यसबखत कोचले उनको फोटो पनि खिचे जसमा सय केजीभन्दा बढी तौल थियो । एक महिनाको तालिममा दिनको ९० मिनेट कार्डियो र ९० मिनेट वेट ट्रेनिङ समावेस थियो । निश्चित समयमा खाना खानुपर्ने र एकैपटक होइन अलिअली गरी खानुपर्ने नियमअनुसार एक महिनामा उनको तौल ९४ केजीमा आइपुग्यो ।
अलीअली हौसलासहित अझै बढी घटाउनका लागि कार्बोहाइड्रेडलाई पूणरूपमा त्यागी, प्रोटिन, भेजीटेबल, फिस, अन्डा, चिकेन ब्रेस्ट, ब्रोकाउली, क्यारोट, काँक्रो लाइम, ग्रिन एप्पल, लो फ्याट मिल्क, दही, बदाम र हरियो गेडागुडीमा मात्र निर्भर रही नियमित अभ्यास कायम राखे ।
चमत्कारिक रूपमा ९० दिनमा २० किलो तौल र ६ इन्च कम्मरको गोलाइ घटेकोले उनलाई अति नै उत्साहित पारेको छ । गरे असम्भव केही रहेनछ भन्ने ज्वलन्त उदाहरण बनेका छन् उनी आफैँ ।
अबको ९० दिनमा अरू २० किलो घटाएर तौल ६० केजीसम्म पुर्याएर केही तौल थपेर ६५ देखि ७० को बीचमा रही स्वस्थ्य जीवन जिउने संकल्प गरेका छन् । यी मिहिनेती काभ्रेली युवालाई हाम्रो पनि शुभकामना छ ।
प्रतिक्रिया