ह्याप्पी वर्थ डे नागरिक: महाराज ज्ञानेन्द्र

‘१५ जेठमा गणतन्त्र घोषणा गर्ने तत्कालीन संविधानसभाका ज्येष्ठ सदस्य तथा सभामुख कांग्रेसका नेता कुलबहादुर गुरुङले नै आफ्नो सो कदमप्रति सार्वजनिक आत्मालोचना गरिसके । अहिले कुलबहादुरहरूको ठूलै समूह जननायक बिपी कोइरालाको पथमा फर्कने भगिरथ प्रयत्नमा संगठित रूपमा नै लागिरहेको छ । तर, कर्ता नै पछुतोमा परेका वेला पनि उतिवेलाका राजा ज्ञानेन्द्रमा पछुतोभाव छैन ’

लेखकः सूर्य खड्का

जानेर होस् वा नजानेर अढाई तीन वर्षकै बाल शिरमा उनले श्रीपेच पहिरिए । ०७ सालमा नै उतिवेलाको शासकीय अभिभारा उनलाई ग्रहण गराइदिइयो । हजुरबुबा पिता त्रिभुवन सपरिवार भारत शरणमा परिसकेका वेला तत्कालीन नेपालको शासनसत्तामा आएको गम्भीर रिक्तताको पूर्ति गर्ने, त्यो शाही बालकको ज्ञान, विवेकका कुरा नगरौँ ।

तर, तत्कालीन राणा र उनको योगदानको आधारमा भन्न करै लाग्छ, देशलाई भगौडा शासकका बीच पनि नेतृत्व दिने ती बालक वास्तवमा इतिहासका एक नायक थिए । त्यो इतिहासको व्याख्या जजसले आआफ्नो अनुकूलमा गरे पनि त्यो अनायासै अवोध रूपमा नै गरिएको भए पनि अतुलनीय नेतृत्व कर्र्म थियो उनको । त्यस अर्थमा उनी सदा सम्मानित स्मरणीय पात्र हुन्, शासकीय इतिहासका हरपानामा ।

नेपाललाई शासकको रिक्ततामा पर्न नदिने त्यो बालक र त्यो बालकलाई श्रीपेच भिराएर पनि देशलाई नेतृत्वको शून्यतामा पर्नबाट जोगाउने श्री ३ मोहन शमशेर नै त्यो कालखण्डका असल देशभक्त हुन् । आज्ञाकारिता के हो र कसरी पालना गर्नुपर्छ ? अर्थात् जनादेशको सम्मान कसरी गर्नुपर्छ ? त्यसको सिंगो प्रतिमूर्ति उनै निवर्तमान राजा ज्ञानेन्द्र हुन् ।

दाजु वीरेन्द्रको अकल्पनीय वंश विनाशको त्यो वियोगान्त घडीमा तत्कालीन शासकीय परम्पराअनुसार उनले फेरि पनि श्रीपेच पहिरिदिएर नै देशलाई शासकीय नेतृत्वको शून्यतामा जानबाट रोकेकै हुन् । कोमामा रहेका भतिज दीपेन्द्र अर्थात्, श्रीपेच पहिरिन नपाएका राजा दीपेन्द्रको राज्यसहायक भएर पनि आफूले निर्वाह गर्नुपर्ने राजधर्म निभाएकै हुन् । ०४७ को संविधानले जसो भन्यो उसै उसै उनले आफूलाई अभ्यस्त गराए ।

त्यो व्यक्ति ज्ञानेन्द्रको आज्ञाकारिता र जनादेशको सम्मान तथा संविधानको परिपालनामा उतिवेलाको स्वर्णाक्षरमा लेखिनुपर्ने योगदान हो, भलै धेरै दलीय मठाधीश र तिनका नोकरशाही चरित्रका कार्यकर्ता, समर्थकलाई यो कुरा हजम नहोला । ०६३ को जनआन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्रले सैनिक दमनको बाटो समातेको भए के हुन्थ्यो ?

उनले तत्कालीन शाही गृहमन्त्री कमल थापाको गलत सुरक्षा ब्रिफिङलाई स्वयंचेक गरेर स्वयं विवेकसम्मत् निर्णय नलिएर जनआन्दोलनलाई सम्झौतामा नटुंग्याएको भए नेपाल अहिलेकै अवस्थामा रहन्नथ्यो । यी त इतिहासमा अनुत्तरित प्रश्नरू हुन् । ०६५ जेठ १५ मा गणतन्त्र घोषणा गर्ने तत्कालीन संविधानसभाका ज्येष्ठ सदस्य तथा सभामुख कांग्रेसका नेता कुलबहादुर गुरुङले नै आफ्नो सो कदमप्रति सार्वजनिक आत्मालोचना गरिसके ।

अहिले कुलबहादुरहरूको ठूलै समूह जननायक बिपी कोइरालाको पथमा फर्कने भगिरथ प्रयत्नमा संगठित रूपमा नै लागिरहेको छ । तर, कर्ता नै पछुतोमा परेका वेला पनि उतिवेलाका राजा ज्ञानेन्द्रमा पछुतोभाव छैन । बरु आफूले छोड्दाताकाको भन्दा पनि तन्नम अवस्थामा देश र जनताको अवस्था नपुगोस् भन्नेमा स्वभाविक मानवीय चासो र चिन्ता मात्रै छ ।

शासकीय विरासत वा शक्ति होइन सुख र खुसीको स्रोत, बरु त्यसको समुचित नेतृत्वमा आफ्नो भूमिकाप्रतिको इमानदारी नै सुख र खुसी हो भन्ने व्यावहारिक नमुनाका जीवन्त नायक हुन् उनै पूर्वराजा शाह । ‘हाँसी–हाँसी श्रीपेच नेपाल सरकारलाई बुझाएको घोषणा गरेर नागार्जुनतिर सरेका उनले नागार्जुनबाट कहिल्यै यो शासन व्यवस्थाको खोइरो खनेनन्, कहिल्यै घटिया आलोचना गरेनन्, यस व्यवस्थाका विरुद्ध संगठित दृश्य अदृश्य षड्यन्त्र गरेनन् ।

यो व्यवस्थाका विरुद्ध जाहेर गर्न आउनेरूलाई जनतामा जान सल्लाह दिए । उनले हरपटक दोहोर्याए यत्ति कि, मेरो जरुरत हो भने जनता जाग । व्यवस्था परिवर्तन हुँदा पनि जनताको अवस्था परिवर्तन नहुँदा मात्रै उनले चिन्ता जाहेर गरे । बस, जनताको दुःख कसैलाई दुख्यो भने बढी उनै ज्ञानेन्द्रलाई दुख्यो, तर दुःखलाई उनले प्रतिशोधमा होइन, धैर्यतामा बाँधे ।’  संस्कार र सिद्धान्त जनताप्रतिको निःस्वार्थ समर्पणबाहेक केही थिएन । उनको भन्ने जीवन्त उदाहरण हुन् बितेका १० वर्षे उनका जीवन दैनिकी ।

पूर्व हुनेबित्तिकै आलोचक नै बन्नुपर्ने, होइन रहेछ, ‘राजनेताले भनेर कसैले सिक्नु छ भने’ उनै पूर्व महाराजबाट सिके हुन्छ, नै । मन्दिर पूजा गर्नु, लोकको भलो चिताउनू र त्यही अनुसारका दैनिक कर्म गर्नुमा नै रमाएर दशक बढी बिताएका ज्ञानेन्द्र यो पछिल्लो समयमा जनताको मन जित्ने एक्लो व्यक्ति हुन् भन्दा धेरैलाई पंक्तिकारले पूर्वराजाको चाकरी गरेको लाग्ला । तर, यथार्थ यही हो कि, समकालीन नेपालमा ज्ञानेन्द्र शाह जति लोकप्रिय व्यक्ति कुनै नागरिक सन्तान छैनन् नै । सत्य तीतो हुन्छ, तथ्य यही हो । कुनै पनि कालखण्डका शासकीय जिम्मेवारीरू ज्ञानेन्द्र शाहका रुचि वा जिद्धिका प्राप्ति थिएनन् ।

उनले ती सबै भूमिका आज्ञाकारी शाही परिवारका सदस्यका रूपमा वरण र सम्पादन गरेका थिए । सायद त्यसैले उनमा आफ्ना कुनै पनि वेलाका शासकीय भूमिकाप्रति कुनै प्रकारको आत्माग्लानी वा पश्चात्ताप छैन । एक विशिष्ठ नागरिकको भूमिकाकाबीच दुईपल्ट राजा हुँदा र पुनः नागरिक हुँदा पनि उत्तिकै शान्त, शिष्ट, शालीन, भद्र र हँसिलो रूपमा परिस्थिति सामना गर्ने ज्ञानेन्द्र साहस सत्ताशक्ति नै सर्वेसर्वा ठान्ने जो कोहीका लागि सकारात्मक प्रेरणाको खुला पुस्तक नै हो ।

अन्तिम राजाका रूपमा नारायाणहिटीबाट बाहिरिनुपूर्व तत्कालीन सेनाका परमाधिपति रहेका उनले सेनासँगै कुनै परामर्श नगरी गद्धी त्यागिदिए । सबैलाई अचम्मलाग्दो इतिहास हो यो । सेनाले राजा जोगाउन भूमिका खेलेन उतिवेला भनेर जति आलोचना राजावादीरू सेनाको गर्छन्, उती नै मन दुखाइ सेनाको तत्कालीन राजाप्रति छ । किनभने, उतिवेला राजा आफूले सैनिकको मद्दत लिन चाहेको र आफ्नो कदममा सेनाको साथ आवश्यक परेको महसुस सैनिक वृत्तमा सञ्चारित गराइदिएका भए तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवालले नचाहँदानचाहँदै पनि सेना तत्कालीन राजाको पक्षमा उभिने अवस्था बन्थ्यो नै ।

कटवालको दोहोरिएर सेनापति हुने स्वार्थले महाराजालाई दिएको धोकामा पनि उनले कुनै पूर्वाग्रह राखेनन् । बरु विवेक प्रयोग गरेर सेनामा विभाजन नल्याउन र आफू समर्थक सैनिक शक्तिलाई मौन रहन प्रेरित गरे । नलेखिएको पूर्वराजा ज्ञानेन्द्रको यो सैन्य पाटो उनको दूरदर्शी विवेकसम्मत् निर्णयका कारण पनि देश आजको स्टेजमा रहेको हो । यी र यस्तै धेरै गौरवपूर्ण विगत्का आलोकमा जन्मदिनको मुरीमुरी शुभकामना अर्पण गर्नलायक एकल पूर्व शासक हुन् तत्कालीन महाराज ज्ञानेन्द्र ।

यस अर्थमा उनलाई फेरि पनि भन्नै पर्छ, साधुवाद र उनको जन्मोत्सवमा कहनै पर्छ, जनजनले मनबाट कि ह्याप्पी वर्थ डे नागरिक महाराज ज्ञानेन्द्र । अहिले उनले श्रीपेच नपहिरिएर पनि राजधर्म निर्वाह गरेका छन् । सन्तानलाई सोही बाटोमा प्रेरित गरेका छन् । नागरिक धर्म निर्वाहमा त उनी सगरमाथा नै हुन् । यसकारण उनी अहिले स्थापित नागरिक राजा हुन् । असल कर्ममा रमाउन उनलाई श्रीपेच हुनु र नहुनुले तात्विक असर पारेको छैन ।

१९ माघको शासकीय युगको भुल थियो भने पनि त्यसबाट त्यसपछिका असल कर्मबाट उनले त्यो भुलबाट उन्मुक्ति पाइसके । अब उनका हर शासकीय भुल र कमजोरी गणतान्त्रिक सत्ताशासकबाट प्रतिस्थापित भइसकेका कारण अब उनी आलोचना, प्रहार आदिबाट मुक्त नै भइसके । किनभने, उनले ‘जुन त्याग गरे, त्यसले उनका शासकीय कमजोरीको सोधभर्ना भइसक्यो ।’ हो, विक्रम संवत् ६० को दशकले नेपाललाई गणतन्त्र नेपाल बनाउला भन्ने सायदै नेपालीको कल्पना थियो ।

किनभने बोलीमा गणतन्त्र भनिए पनि तत्कालीन भूमिगत नेकपा माओवादीबाहेक अन्य राजनीतिक दलले देशलाई गणतन्त्रमा लाने प्रण गरेका थिएनन् । शाहवंशीय राजाको २ सय ४० वर्षे शासकीय विरासतमा क्रमभंगता आउला भन्ने पनि सायदै कल्पना थियो । तर, जे भयो नेपालको राजनीतिक आकाशमा, त्यो निरन्तरताको नाटकीय क्रमभंगता थियो र त्यही नाटकीय क्रमभंगताको परिणाम आज देश शाब्दिक रूपमा नै भए पनि संघीय गणतन्त्र नेपालको नयाँ संविधानअनुसार प्रचण्ड बहुमतको निर्वाचित वामपन्थी सरकारको पोल्टोमा पुगेको छ ।

कस्तो छ दुईतिहाइ बढी बहुमतको वाम सरकारको सुरुआती लक्षण भन्ने कुरा अहिले बहसको फरक पाटो हो । त्यतातिर पछि कुरा गरौँला । तर, अहिले गणतन्त्र नेपालको सबैभन्दा असली पालनकर्ता को हो ? भन्ने प्रश्नको उत्तरमा भने एकल नाम हो पूर्व राजा र राजपरिवार । त्यसैले गणतन्त्र ल्याउन नकरात्मक योगदान गरेका र गणतन्त्र संस्थागत हुन दिन मौन रहेर विनाप्रतिरोध सघाएका कारण असली गणतन्त्रवादी शक्तिका रूपमा निवर्तमान राजा र राजपरिवारलाई साधुवाद दिन कोही कसैले कन्जुस्याइँ गरिरहनु आवश्यक छैन ।

यसर्थ, गणतन्त्र नेपालका नागरिक राजा ज्ञानेन्द्रलाई जन्मदिनका मौसममा दीघार्यु र सुस्वास्थ्यको शुभकामना दिनु अन्यथा होइन, हुँदैन ।

प्रतिक्रिया