लोकगायकको जन्म र राज्यको आँखा

-सुदर्शन आचार्य  हामीदिनमा र साँझ–बिहान गरेर हरेक कामको थकान मेटाउन होस् या ठुल्ठूला पार्टी सभा सम्मेलनमा मानिसहरूको ध्यानाकर्षण गर्न नै किन नहोस्, गीतको सर्को लिने गर्छौं । गीतसंगीतले मनमा शान्ति दिने त छँदै छ । पीयसले नयाँ–नयाँ कुराको अध्ययन अनुसन्धान गर्ने काममा समेत सघाउ पुर्याइरहेको हुन्छ ।

साहित्यिक विधाको अत्यन्त महत्वपूर्ण अंगको रूपमा संगीतलाई लिइने गरेको छ । टाढाको यात्रा गर्दा होस् या एकै ठाउँमा बसेर दिन काट्नुपर्ने अवस्थामा नै किन नहोस् तर गीतसंगीत मानिसको अभिन्न साथी सहयोगी बनिरहेको हुन्छ । मानिसको दिनचर्याको साथी बन्ने यी संगीतका विधाहरू पनि धेरै प्रकारका छन् ।

तीनहरूको व्याख्या गर्न त हामीसँग साधन स्रोतको आधारले क्षमता बनिसकेको छैन । एकै मानिसमाथि सबै प्रकारका संगीत बुझ्ने शक्ति कसरी प्राप्त हुन्छ भन्ने प्रश्न राखिरहँदा नेपाली परिवेशमा जन्मीहुर्केका नेपालीले मौलिकता बोकेका र नेपालीको पहिचान भनेर चिनेका लोकगीत तथा लोकसंगीतको बारेमा भने पृथक क्षमता देखाएर साच्चै नै विश्वमा खोजमूलकको विषय बनाएका छन् ।

के पढेका के नपढेका तथा के वृद्ध–वृद्धा के बाल–बच्चा के युवा, सबैको पहिलो पाठ नै लोकभाका हो ।  ठाउँको ठाउँ भाका टिपेर शाव्दिक अनुप्रास मिलाउँदै गीतमा शव्द चैन गर्न सक्ने कला साच्नै नै कुन जिम्मेवारप्राप्त व्यक्तिले सक्ला र ! विभिन्न जातजाती तथा धर्म संस्कृति मान्नेहरूका बीचमा पनि यस्ता विधाले अग्रस्थान ओगटेका छन् ।

आ–आफ्ना मातृभाषामा लोकगीत धेरै गाइएका पाइन्छ । पहिलापहिला खस (नेपाली) भाषामा मात्र गाउने गरिएको भएता पनि अहिले समय र साक्षरतामा आएको परिवर्तनले जुनसुकै भाषामा पनि लोकगीत गाउने गरेको पाइन्छ । लोकगीतले नै समाजको दुःखसुखको बारेमा समग्र अवस्थाको ऐना बोकेको पाइन्छ ।

राम्रा नराम्रा जस्तोसुकै अवस्थालाई पनि लोकगीत लोकसंगीतले पारस्परिक संबन्धको बलियो एकता समेटेको हुन्छ । यस्ता दुःखम् सुखम्को साथी भएर पनि आफ्ना जननीलाई बिर्सने, तर हामी नेपाली भनेर गौरव गर्ने ठाउँ कत्तिको छ एकपटक सोच्ने नै पो हो कि ? नेपाली गायनको इतिहासलाई केलाउने हो भने गायक सेतुराम प्रधानले सम्वत १९६५ सालबाट विधिवत रूपमा नेपाली गीत रेकर्ड गरेर गाउन सुरु गर्नुभएको हो ।

पहिलोपटक स्तुति गायनबाट गाइएको गीतमा त्यसवेला फर्पिङबाट पाँच सय किलोवाटको बिजुली निकालेर काठमाडांै ल्याइएको अवसर पारेर खुसियाली मनाउँदै चन्द्र शमशेरको तारिफ गरिएको गीत गाइएको थियो । त्यो समयमा नेपालमा गीत रेकर्ड गर्न त कल्पना पनि गर्न सकिएको थिएन । भारतको कोलकातामा गएर गीत रेकर्ड गर्नुपर्ने स्थिति थियो । हुन त आदिगायक सेतुरामले औपचारिक गीत भने आधुनिक गीतबाट नै सुरुआत गरेको हो भन्ने विभिन्न संगीत साधकहरूको दाबी रहेको छ ।

तैपनि नेपाली लोकगीतका जननी भनेर इतिहासले उहाँलाई नै स्वीकारीरहेको विभिन्न तथ्य र प्रमाणले अझै प्रष्ट्याएको छ । त्यतिबेला गाएका नेपाली लोकगीतहरू मध्ये ‘एआमा सानिमा’, ‘झलझली मैया पातली’, ‘आज र जाऊँजाऊँ’ जस्ता गीतले निकै ख्याती कमाएका थिए । हुन त त्यतिवेला पनि आफ्नो मातृभाषालाई माया नगर्ने को थियो होला र भन्ने उदाहरणका व्यक्तित्व नै हुन् आदिगायक सेतुराम प्रधान ।

‘राजामति कुमती’ नामक नेपाल भाषाको पहिलो गीत गाएर राजधानीका नेवार समुदायका पनि प्रियपात्र बनेका छन् । सानैदेखि भजन गायनबाट संगीतको यात्राको आरम्भ गरेका सेतुरामले पछि घरपरिवारको पनि समर्थन पाएर अरूअरू गीत गाएर इतिहासमा स्वर्ण अक्षरले नाम लेखाउन सफल भए । आखिर उनको पनि स्वतःस्फुर्त आएको स्वरले नै सबैको मन जित्न सकेको थियो । गायकी विधालाई हामी औपचारिक संगीतको रूपमा मान्दै आएका छौँ ।

लोकगीत गाउने कलालाई मान्दा हामीमा कलाकारको नाम पाउन लोकप्रियताको लागि धन लगानी गर्ने प्रतिस्पर्धात्मक क्षमताभन्दा पनि स्वरको वरदान प्राप्त हुनु जरुरी हुन्छ । वनावटी स्वरले खासै स्रोताको मन जित्न सकेको हुन्न । लोकसम्राट कुमार बस्नेतले लोकगीतमा प्राकृतिक स्वर हराउँदै गएकोमा आफू चिन्तित भएको गुनासो पोख्ने गर्नुहुन्छ । वनावटी स्वरले अहिलेको समय सुहाउँदो गीत ल्याए पनि नेपालको कुनाकन्दरामा भएका ठेट लोकभाका हराएका छन् ।

पूर्वका जुहारी गीत र पश्चिमका दोहोरी गीतले लोकभाकामा नै सांगीतिक सवालजवाफ दिनुमा नै आमसमाजको आनन्दको विषय बन्दै आएको छ । खास लोकभाकाका मौलिकता भनेकै यस्तै सुन्दर नेपालको रमणीय फूलबारीको सामाजिक स्वरको प्रारुप हो भन्न सकिन्छ । जहाँसम्म अध्यनकर्ताहरूको निष्कर्षले भन्ने गरेको छ कि व्यावसायिक रूपमा नै दोहोरी गीतले बजारमा उच्च स्थान ओगटेको छ ।

दोहोरी गीतमा पनि गायक–गायिकाको जन्म र कार्यक्षेत्रको बारेमा सरकारी निकाय आँकडा राख्नमा मौन छ । अनुत्पादक विषयमा सरकारको अधिक लगानी रहे पनि महिनामा नै करौडाैँ करोड सर्वसाधारणको लगानी भएको लोक क्षेत्रमा दृष्टि लगाउन नेपाल सरकारको सम्बन्धित निकाय लाज मानिरहेको छ । कला र संस्कृतिको बारेमा संरक्षण र सम्बद्र्धनको खातिर एउटा छुट्टै निकायको गठनसमेत गर्न सकेको छैन ।

पर्यटन मन्त्रालयको एक विभागको रुपमा बल्ल बनेको संस्कृति विभाग नामक निकायले पनि सर्वसाधारणसँग कुनै सरोकार राख्न सकेको छैन । उता मुलुककै संस्कृति र साहित्यको ठेकेदार भन्न रुचाउने नेपाल प्रज्ञा प्रतिष्ठानले कुन समाजको कुन कला र संस्कृतिको कुरा गरेर बसिरहन्छ कसैलाई जानकारी छैन । बोलावालाको मृत्युमा स्थान उपलव्ध गराउने र पैसा हुनेले हल भाडामा लिएर कार्यक्रम सञ्चाल नगर्न पाउने कामको खटनपटनको भरमा नेपाल प्रज्ञा प्रतिष्ठान चलिरहेको छ भन्ने सर्वसाधारणको बुझाइ नै ठीक हो कि जस्तो लाग्छ ।

तर, नेपाली कला साहित्य तथा संस्कृतिमा योगदान पुर्याउने कलाकारको निधन हुँदा श्रद्धाञ्जली दिने स्थान दिएर अलिकता भने पनि विगतमा कलाकारको सम्मान गर्ने काममा सहयोग पुर्याउँदै आएको प्रज्ञा प्रतिष्ठान अब त त्यति पनि सहयोग पुर्याउन नहुने गरी निर्णय गर्दै कलाकारहरूको बेमतलबी बनेको छ । लोकगीत तथा दोहोरी गीतको जननी मानिने नेपालभर सञ्चालनमा रहेका दोहोरी साँझ यतिबेला उपेक्षाको संघारमा उभिरहेका छन् ।

न सरकारले यस दोहोरी साँझलाई क्षमता वृद्धि गराइरहेको नाममा करमा छुट दिएका छन् न त त्यहाँ रातविरात गायन शिक्षा हासिल गरिरहेका लोक शिक्षार्थीलाई हौसला नै प्रदान गर्न सकेको छ । एकातर्फ कला र संस्कृतिको नाममा सरकारले कर्मचारी नियुक्त गरेर करोडौँ लगानी गरिरहेको छ । अर्कोतर्फ जनताले स्वतःस्फुर्त लगानी गर्ने नागरिकलाई तल्लो दर्जाको मानेर कलाकार भनेका त देशका गहना हुन् भनेर कुनै धातुसँग तुलना गर्नसमेत पनि पछिपरेको छैन।

कुनै सभा समारोहमा वा पार्टीमा भागलिन जाँदा कलाकारको उपस्थित गराएर गहना टल्काउने गर्छन् । एक गीत रेकर्ड गराउनुपर्दा ४०÷५० हजार खर्च जुटाएर रेकर्ड गराउनुपर्ने कठीन परिस्थिति त छ नै त्यसमा पनि सरकारको सम्बन्धित निकायले न त्यो लगानी फिर्ता दिलाउन पहल गर्छ न त उसको गायक–गायिकाको दर्जा नै दिन सक्छ । जनताले लोकगायक–गायिका भनेर भनीरहँदा पनि सरकारले उनीहरूको दज्र्यानी कायम गर्न सकेको छैन ।

नेपालभर दिनमा सरदर ५० वटाभन्दा बढी नै गीत रेकर्ड भए पनि कुन स्टुडियोमा, कसको एरेन्जमा वा को गायक–गायिका तथा कसको लय÷शव्द रहेको छ भन्ने तथ्यको लिखत सूचना कुनै सरकारी निकायमा रहन सक्ने स्थिति छैन । काम गरेको जति नै अवधि भए पनि अझै वरिष्ठ हुन पाउने हक पनि गायक–गायिकामा नै निहीत रहेको छ ।

पछिल्लोसमयमा लोकगीत र लोककलाकारको सम्मानका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अहं भूमिका निर्वाह गर्दै आइरहेको छ । कलाकारमा खारिएका कलाकारको अध्यक्षतामा नेतृत्व सम्हाल्दा लोकगायक–गायिकाले केही राहत पाउन थालेका छन् । प्रतिष्ठानले नेपालभरका नेपाली लोक तथा दोहोरी गीतमा समर्पित कलाकारहरूको उच्च मूल्यांकन गर्न सकेको छ ।

चाहे आफ्नै लगानीमा बजारमा ल्याएका गीति संग्रह हुन् या अरूको गीति संग्रहमा स्वरांकन वा लय शव्दको सिर्जना नै किन नहोस् ती समग्र मिहिनेतको कदर हुनु नै कलाकारका लागि देशले गरेको सम्मान झैँ ठान्दै आएका छन् । जब राज्यको उच्च स्थानमा कला, साहित्य वा नेपाली संस्कृतिको बारेमा ज्ञान भएका व्यक्तिले प्रतिनिधित्व गर्नेछन् ।

त्यतिवेला मात्र नेपाल कला र संस्कृतिमा धनी देश भनेर विश्वमा सन्देश जान सक्नेछ । आशा गरौँ अबको बहुमतको सरकारले नेपालको वास्तविकता बुझ्ने नेतृत्वको चैन गरेर वा विद्यमान नेतृत्वलाई नै जिम्मेवार बनाएर कला, कलाकारिता र कलाकारको भविष्य सुनिश्चित गर्नेछ ।

प्रतिक्रिया