आधुनिक समाजमा पत्रकारिताको भूमिका


-पूजा तिमल्सिना पत्रकारिता सञ्चारभित्र रमाउने कला हो । सञ्चार बगैँचा हो भने पत्रकारिता फूल हो । समाजको हितमा सञ्चारको उपयोग गर्ने कार्य पत्रकारिता हो । पत्रकारितामा सीमा, आचार र अनुशासन रहेका हुन्छन् । यो यथार्थमा आधारित सिर्जनाको खेल हो । यसले समाजबाट सूचना प्राप्त गर्छ र परिमार्जन गरी समाजलाई नै फिर्ता गर्छ । पत्रकारिताले समाजको उन्नतिका लागि समाजका सदस्यको जिम्मेवारी, दायित्व, अधिकार, नैतिकता आदि देखाउने कार्य गर्दछ ।

पत्रकारिता समाचार सम्प्रेषण व्यवसाय हो । आमसञ्चारको सबल माध्यम रहेको यस व्यवसायमा समसामयिक अभिरुचिका सामग्रीको संकलन, सम्पादन र प्रकाशनको कार्य गरिन्छ । पत्रकारितालाई साधारण अर्थमा पत्रपत्रिकाहरूमा लेख्ने भन्ने बुझिन्छ । पत्रकारिताले समसामयिक समाचारपत्रहरू वा पत्रिकाहरू, रेडियो, टेलिभिजन, आदि लेखन र प्रसारणद्वारा गरिने सञ्चारलाई बुझाउँछ ।

व्यापक अर्थमा पत्रकारितालाई सूचना, सन्देश वा जानकारीको संकलन तथा सम्पादन गरी प्रकाशन वा प्रसारण गर्ने कार्य भन्ने गरिन्छ । पत्रकारिता एक पेसा हो, जसको सम्बन्ध हरेक जीवनसँग गाँसिएको छ । आजको समाजमा पत्रकारिताको महत्व निकै बढिरहेको छ । पत्रकारिताको उद्देश्य एउटा आदर्श समाजको स्थापना गर्ने हुँदा समाज परिवर्तनको दरिलो माध्यमका रूपमा पत्रकारिता क्षेत्रलाई लिन सकिन्छ । पत्रकारितालाई आवाजविहीनहरूको आवाज हुनुपर्छ भन्ने गरिएको छ ।

समाजमा भएका विकृति र विसंगतिहरूको पर्दाफास गर्दै यसले पहुँच नभएका नागरिकको पक्षमा वकालत गर्दछ साथै शासक र शासित वर्गबीचको भेदलाई कम गर्दै आपसी संवाद, सहमति र सहकार्यको वातावरण सिर्जना गर्दछ । मुलुकमा सरकार गठनदेखि विघटनसम्म भ्रष्टाचारी कर्मचारीलाई कारबाहीदेखि इमानदार राष्ट्रसेवकलाई पुरस्कृत गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्नसक्छ । समाजमा व्याप्त भ्रष्टाचार र दण्डहीनतालाई न्यून वा निरुत्साहित गर्न पनि पत्रकारिता पछि परेको देखिँदैन ।

ठूला आपराधिक क्रियाकलप वा सञ्जाललाई निस्तेज पार्न, सरकारी कामकारबाहीको आलोचना गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र सामाजिक चासोका विषयमा वकालत गर्न पत्रकारिता ज्यादै प्रभावकारी रहेको छ । राज्य वा कुनै अख्तियार प्राप्त निकायलाई जनइच्छाको विरुद्धमा काम नगर्न आवश्यक दबाब सिर्जना पत्रकारिताले नै गर्दछ । मुलुक र समाजको विकासका लागि पत्रकारिता एक अनिवार्य आवश्यकताको वस्तु बनेको छ ।

स्वतन्त्र पत्रकारिताको अभावमा प्रजातान्त्रिक समाजको परिकल्पना सम्भव छैन । प्रजातान्त्रिक संस्कृतिलाई हुर्काउन र संस्थागत गर्न पनि पत्रकारिता अत्यन्तै आवश्यक विषय हो । पत्रकारिता सभ्य समाजको शिक्षक, समालोचक र पहरेदार हो । प्रजातान्त्रिक मूल्य र मान्यताहरूलाई समाजमा स्थापित गर्न स्वतन्त्र पत्रकारिता महत्त्वपूर्ण पक्ष हो । यस्तै जनताको स्वतन्त्राको संरक्षण गर्ने अभिभावक अहिलेको अवस्थामा पत्रकारिता क्षेत्रलाई मानिएको छ जसले सधैँ जागरुक भई नागरिकको स्वतन्त्रताको संरक्षण गर्दछ ।

राज्यका तीन अंगहरू छन् तर दर्शकदीर्घामा हेर्नुस् त्यहाँ राज्यका तीनै अंगभन्दा महत्वपूर्ण चौथो अंग पत्रकार बसिरहेको छ । त्यसैले वर्तमान अवस्थामा पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अंगका रूपमा हेरिन्छ । प्रतिस्पर्धात्मक सञ्चार बजारमा सर्वसाधारण जनतालाई तुलनात्मक रूपमा बढी सन्तुलित र सही जानकारी प्राप्त हुनसक्छ भन्ने विश्वासमा पत्रकारिता आधारित छ । सर्वसाधारणको हितको पक्षमा आजको समाजमा पत्रकारिताले काम गर्दछ ।

सीमित व्यक्तिहरूको स्वार्थका लागि पर्दा पछाडि भएका, भइरहेका वा हुनसक्ने गोरखधन्दालाई पर्दाफास गर्न पत्रकारिता कहिल्यै पछाडि पर्दैन । त्यसैले सम्पूर्ण पत्रकारिता नै समाजमा परिवर्तनको संवाहक हो । पत्रकारिता अहिले विश्वमै व्यापक रुपमा व्यावसायिक बन्दै गइरहेको छ । यसले समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिवर्तन ल्याउने हुँदा आमनागरिकलाई पनि उत्तरदायी हुन सिकाइरहेको छ ।

नागरिक पत्रकारिता अहिलेको वर्तमान परिवेशमा अत्यन्तै महत्वका साथ बढिरहेको छ । यसमा व्यावसायिक पत्रकारहरूको सहभागिता नरही सर्वसाधारण नागरिकको प्रत्यक्ष सहभागिता हुन्छ । सञ्चारमाध्यमको मूल प्रवाहबाट बहिष्कृत सचेत समुदायले आफैँ पत्रकारिता सुरु गर्दछन् । त्यसैले समग्ररूपमा हेर्ने हो भने पत्रकारिताले आमनागरिकलाई सचेत, सबल र सक्षम मात्र नबनाई जिम्मेवारी पनि बनाउँदो रहेछ ।

पत्रकारिता सूचनाको समुद्र हो । सूचना ज्ञान हो र ज्ञान नै शक्ति हो । ओझेल परेका, पिछडिएका, हेपिएका, विकासको मूलधारमा नसमेटिएका सर्वसाधारण नागरिकलाई सशक्तीकरण गर्न एक मात्र माध्यम पत्रकारिता हो । समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकजस्ता समग्र क्षेत्रको उन्नतिलगायत द्वन्द्व न्यूनीकरण, मेलमिलाप, सहयोग र सामाजिक सद्भाव कायम गर्न पत्रकारिताको भूमिका उल्लेखनीय छ ।

पत्रकारिताको माध्यमबाट प्रवाहित भएका सूचनाबाट आमजनताहरू त्यस सूचनाको विश्लेषण गर्न र आफ्ना विचारहरू निर्माण गर्न सक्षम हुन्छन् । आजको युग सूचना र सञ्चारको युग हो । जहाँ सञ्चारको विकास हुनसक्यो, त्यहाँ त्यति नै समुन्नति र विकास भएको उदाहरण हामी कैयौँ देख्न पाउँछौँ । विगत केही दशकयता नेपाली पत्रकारिता जगत् पनि निकै फस्टाएको देखिन्छ ।

यसलाई सकारात्मक रूपमा हेनुपर्दछ । सञ्चारमाध्यमलाई समयानुकूल, प्रतिस्पर्धात्मक तथा सुदृढ तुल्याउन अभूतपूर्व उत्साह अपरिहार्य बनेको छ । हाल सरकारको तर्फबाट नेपाली पत्रकारिता क्षेत्रलाई उद्योगसरह मान्यता दिलाउने सरकारको प्रयास निःसन्देह प्रशंसनीय छ । पत्रकारिता क्षेत्रले उद्योगको मान्यता प्राप्त गरेपश्चात् मिडियाले अनेकखाले सुविधा प्राप्त गर्नेछन् ।

नेपाली पत्रकारिताको विकासका निम्ति यो कार्य कोसेढुंगा सावित हुनेछ । विगतका प्रजातान्त्रिक आन्दोलनमा मिडियाले पुर्याएको योगदान र संविधान कार्यन्वयनका निम्ति निर्वाह गर्नसक्ने भूमिकालाई आत्मसात् गर्दै खुला दिलले पत्रकारिताको निम्ति उपयुक्त वातावरण सिर्जना गर्नु आवश्यक छ । सरकारले मिडियाको विकासको निम्ति जतिसक्दो चाँडो उपयुक्त वातावरण बनाउने हो भने संविधान कार्यान्वयनमा मात्र होइन समग्र विकास निर्माणका काममा पनि अभूतपूर्ण लहर ल्याउन यसको भूमिका ज्याँदै महत्वपूर्ण रहनेछ ।

प्रतिक्रिया