भ्रष्टाचारमा सदाचार फल्दैन

‘जब नागरिक जीवनको सामान्य आवश्यकता परिपूर्ति गराउन राज्यपक्ष असफल रहन्छ तब सदाचारको अन्त्य भई भ्रष्टाचारले मौलाउने अवसर प्राप्त गर्छ ’

नेपालमा मात्रै होइन मौलाउँदो समस्याको रूपमा भ्रष्टाचारको जालो विश्वका प्रायः सबै मुलुकमा फैलिँदै गएको पाइन्छ । भ्रष्टाचारलाई कानुन बनाएरै सबै मुलुकहरूले जघन्य आर्थिक अपराधको सूचीमा राखेका छन् ।

तर, भ्रष्टाचारको समस्यालाई निराकरण गर्नेभन्दा बढोत्तरी गर्नेकार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा नागरिक समुदायको अहं भूमिका रहँदै आएको छ । कडा कानुनी प्रक्रिया अवलम्वन गरिँदासमेत नागरिक समाजको बलमा आफ्नो यथास्थिति कायम राख्न भ्रष्टका पक्षपोषक तत्व हरपल सफल रहेका हुन्छन् ।

समाजशास्त्रीय रूपमा अध्ययन गर्दा यदि नागरिक समाजले मन्द विषरूपी भ्रष्ट जमातलाई प्रोत्साहित गर्ने कार्यमा व्यवधान खडा गरिदिने हो भने निश्चित रूपमा भ्रष्टाचारले फूल्ने, फक्रने वा फल्ने मौका पाउँदैन ।

अर्थात् कलिलै अवस्थामा आफ्नो अस्तित्व रक्षा गर्न सक्ने ताकत भ्रष्टचारले राख्दैन । इच्छाशक्ति हुने हो भने समाजबाट भ्रष्टाचार सदाका लागि अन्त्य भई सदाचार अवस्था कायम गर्न सकिनेछ । अनि मात्रै मुलुकले आर्थिक समृद्धिको वास्तविक प्रतिफल प्राप्त गर्न सामथ्र्य हुनेछ । भ्रष्टजमातले मुलुक र जनताको हित चाहँदैन ।

तस्करी, लागुऔषध, अवैध हाततियार एवं गलत धन्दाका गिरोहलगायत समाजविरोधी नकारात्मक कार्यमा रमाउनेहरू भ्रष्टाचारका वास्तविक सहयात्री हुन् । जसका कारण मुलक तथा नागरिक समाजको अमनचयन, तथा शान्ति सुरक्षामा गम्भीर आघात पुग्न जाने प्रवल सम्भावना रहन्छ ।

अपवादबाहेक सम्पूर्ण प्रशासन सुरक्षा निकायको मनोवल गिराउँदै केवल आफ्नो अवैध धन्दाको दूषित अस्तित्व कायम राख्न भ्रष्टाचारीहरूले संजाल नै बनाएका हुन्छन् । र गैह्रकानुनी रूपमा प्राप्त हुने ठूलो आर्थिक लाभमार्फत उनीहरूले राज्य संयन्त्रमा रहनेहरूलाई आफ्नो अधिनमा लिन्छन् । जसका कारण भ्रष्टाचारको सञ्जाल दिनहुँ बढिरहेको हुन्छ । यो घटनाक्रमको अभिवृद्धिपश्चात् समाजमा मूलतः दुई विचारधाराहरू समाहित हुने अवस्था आउँछ ।

पहिलो अवस्था भनेको सुरक्षा एवं प्रशासन यन्त्रप्रति कायम रहँदै आएको जनविश्वासलाई क्रमशः घटाउँदै अन्तमा सुरक्षा प्रशासनप्रति नागरिक समाजको तिक्तता कायम राख्ने चेष्टा गरिन्छ । किनकि, राज्य र समाजकोबीचमा कायम रहँदै आएको सहसम्बन्धको विकासमा फाटो उत्पन्न गराउन सकियो भने आफ्नो धन्दा विस्तारमा सहज हुने भ्रष्टाचारीहरूले ठान्छन् । उनीहरू यसैका लागि प्रयत्नशील रहन्छन् ।

मुलुकको ध्यान बिग्रदो अवस्थामा रहेको नागरिक समन्वयको विकासका लागि अगाडि बढेको हुन्छ । यसक्रममा तस्करहरूले आफ्नो जालो फैलाउँदै आर्थिक अपराधको गतिमा अत्यधिक सफलता हासिल गर्छन् । समाजमा रहने यसप्रकारको द्वन्द्वको प्रत्यक्ष फाइदा भ्रष्टाचारजन्य गतिविधिमा रमाउने समूहले लिन्छन् । यसका अतिरिक्त अवैध कारोवारको अत्यधिक अभिवृद्धिबाट मुलुकको राजस्व संकलनमा नकारात्मक प्रभाव पर्छ ।

चोरीनिकासी पैठारीको कारण राजश्व चुहावटमा अत्यधिक मात्रामा वृद्धि हुनेछ । यस्तो अवस्थापछि दैनिक कार्यलगायतका अन्य कार्यहरू सम्पन्न गर्न आवश्यक पर्ने बृहत् धनराशि जोहो गर्न मुलुकलाई कठिनाइ उत्पन्न हुन्छ ।अन्ततः राज्यले नागरिक समाजलाई नै पछ्याउनु पर्ने हुन्छ । जसका कारण राजस्वका दरहरूमा असाधारण तवरबाट वृद्धि गर्दै आमनागरिक समुदायलाई अत्यधिक मात्रामा करको भार थप्नुपर्ने विशेष परिस्थितिको जन्म हुनेछ ।

अतः यस प्रकारको असाधारण परिस्थितिको जन्म नहोस् भन्नाको खातिर नागरिक समाजले चनाखो रही आर्थिक अपराधको दरलाई न्यूनता कायम राख्ने प्रयत्न गर्नुपर्ने हुन्छ । यस प्रकारको व्यवहारले पक्कै पनि भ्रष्टाचार विरोधी गतिविधिलाई निस्तेज पार्न महत्वपूर्ण सहयोग मिल्ने नै छ । यसका खातिर सत्कर्ममा रहँदै राज्यपक्षसँग सहकार्य गरी मन्द रूपमा रहेको आर्थिक विकासलाई गतिशीलता प्रदान गर्नुपर्ने हुन्छ ।

किनकि मुलुकमा रहेको व्याप्त गरिबी नै भ्रष्टाचारको प्रमुख कारकतत्व हो । जब नागरिक जीवनको सामान्य आवश्यकता परिपूर्ति गराउन राज्यपक्ष असफल रहन्छ तब सदाचारको अन्त्य भई भ्रष्टाचारले मौलाउने अवसर प्राप्त गर्छ । गैरकानुनी एवं समाजविरोधी कार्यलाई मुलुक र जनसमाजबाट पृथक राख्ने चाहना गर्ने हो भने आर्थिक विकासका ढोकाहरू खोल्नु अत्यन्त जरुरी भइसकेको छ ।

समृद्धिले लामो समयदेखि आर्थिक धमिराको रूपमा रहेको भ्रष्ट जमातलाई क्रमशः परास्त गर्दै लैजान्छ र आर्थिक सदाचारको अभिवृद्धि गराउन महत्वपूर्ण सहयोग पुर्याउँछ । समाजमा रहेका भ्रष्टाचार रूपी व्यवहारलेसमेत वाध्यात्मक परिस्थितिमा नयाँ गति प्राप्त गर्दै आफ्नो स्वरूपलाई परिमार्जित गरी नयाँ र नौलो परिवेशमा रूपान्तरण गर्नुपर्ने अवस्था आउँछ ।

भ्रष्टाचारको सन्दर्भमा चालिने व्यवहारले गतिशीलता हासिल गर्दै नागरिक समाजमा सदाचारको सन्देशहरू सम्प्रेषण गर्नेछ । तसर्थः मुलुकबाट सदाका लागि भ्रष्टाचारलाई उन्मूलन गर्ने सकंल्प गर्ने हो भने निश्चित रूपमा नेपालजस्तो अल्पविकसित मुलुकमा कायम रहँदै आएको गरिब–धनीबीचको असमान खाडललाई क्रमवद्ध रूपमा न्यूनीकरण गर्नुपर्छ ।

जबसम्म सम्वद्ध दुई धारबीचको असमानता कायम रहन्छ तबसम्म भ्रष्टाचार अन्त्य भयो वा गर्छौं भन्नु केबल नागरिक समाजप्रति बेइमानी हो । नागरिक समाजको आँखामा धुलो छर्नु मात्रै हो । समाजमा कायम रहेको भेदभावसहितको भोकको ज्वालाको अगाडि सत्कर्म एवं विकर्म भन्ने तथ्यहरू ज्यादै गौण रूपमा रहन्छन् । किनकि आर्थिक विकास एवं भ्रष्टाचारको सहसम्बन्ध तथा त्यसबाट उत्पन्न हुने खराब परिसूचकको सन्दर्भमा नागरिक समाजलाई समयमा नै बोध गराउनुपर्ने हुन्छ ।

आर्थिक विकासको अत्यधिकता नै भ्रष्टाचारको उन्मुक्तता हो भन्न सकिन्छ । यहि मूल मन्त्रलाई आत्मसाथ गर्र्दै क्रमशः राज्य एवं नागरिक समाजलाई विकासको पथमा अग्रसर गराउने प्रतिवद्धता सहितको कार्यगत एकता कायम राख्ने चेष्टा गर्नुपर्छ । यस प्रकारका सदाचार युक्त सत्कार्यले भ्रष्टाचारमुखी समाजको उजागर गर्ने कार्यमा अवरोध खडा गरी दिनेछ ।

नेपालजस्तो भ्रष्टाचारको चरमता भएको मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सर्वप्रथम हाल कायम रहेका भ्रष्टाचारका दरहरूलाई क्रमशः न्यूनीकरण गर्दै लैजानुपर्ने हुन्छ । जब भ्रष्टाचारले क्रमवद्ध रूपमा न्यूनता हासिल गर्छ तत्पश्चात् आर्थिक विकासको प्रतिफलले आफ्नो गतिलाई प्रधानता दिँदै प्रगतिउन्मुख पथमाअगाडि बढ्ने चेष्टा राख्दछ ।

प्रस्तुतः घटनाक्रमको विकासले लगानीयोग्य वातावरण सिर्जना गर्नेछ । उच्चलगानीको प्रतिफलबाट प्राप्त हुने आर्थिक समृद्धिले धनी–गरिबबीचको असमान व्यवहारलाई क्रमशः न्यूनीकरण गर्दै भ्रष्टाचारमुखी व्यवहारमा सदाचारका फलहरू लाग्ने सुअवसर प्राप्त हुनेछ । हाल मुलुकमा कायम रहेका भ्रष्टाचार, अत्याचार, ढिलासुस्तीजस्ता नागरिक समाजविरोधी कुप्रथालाई अन्त्य गर्नु भनेको अघोषित रूपमा आर्थिक समृद्धिलाई गतिशीलता प्रदान गर्नु हो ।

यसै सन्दर्भमा वर्तमान सरकार कुन गतिमा अघि बढ्छ, आर्थिक समृद्धि पनि सोही गतिको तालमा ताल मिलाई अगाडि बढ्ने प्रयत्न गर्नेछ । अर्थात्, आर्थिक समृद्धि र भ्रष्टाचारको बीचमा रहेका अघोषित खराब व्यवहारका नकारात्मक परिणामलाई जतिसक्यो चाँडो समाजबाट विस्थापित गर्ने प्रयत्न गरिन्छ, सोही अनुपातमा आर्थिक समृद्धिको सफलता वा विफलता निर्भर रहनेछ ।

प्रदीप उप्रेती

प्रतिक्रिया