भूत छैन भन्ने विश्वास दिन मसानघाटमै सुते सांसद

पाेलाकल्लु । भारतको आन्ध्र प्रदेशका एक सांसद भूत हुँदैन भन्ने विश्वास दिलाउन मसानघाटमै सुतेका छन् । भूत हुँदैन भनेर सर्वसाधारणलाई विश्वास दिलाउन ती सांसद तीन रातसम्म मसानघाटमै ओछ्यान लगाएर सुतेका छन् । मसानघाटमा झुल टाँगेर सुतेको सांसदको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

आन्ध्रप्रदेशको पोलाकल्लुस्थित एक मसानघाटलाई आधुनिकीकरण गर्ने प्रयास मजदूरको डरका कारण असफल भएपछि सांसदले यस्तो उपाय अपनाएका हुन् । आन्ध्रप्रदेशस्थित पोलाकल्लुका सांसद निम्मला रामा नायडूले यस्तो उपाय अपनाउन आफू बाध्य भएको बताए । ‘पुरानो मसानघाटलाई आधुनिकीकरण गर्न खोजेका थियौँ,’ उनले भने, ‘तर, अन्धविश्वासका कारण मजदूरहरू त्यहाँ जानै मानेनन् ।’

मसानघाटमा लगातार लाशहरू आइरहने र पुरै नजलेका टुक्राहरूले गर्दा मजदूरहरू तर्सिएर जान मानेका थिएनन् । उनी तीन दिनसम्म मसानघाटमै सुत्ने मात्र नभइ खाने र नुहाउने काम गरेका थिए । सांसदले यसरी तीन दिनसम्म मसानघाटमै सुतेर देखाएपछि अहिले त्यहाँ पचासभन्दा बढी मजदूरहरू काम गर्न थालेका छन् ।

राज्य सरकारले तीन करोड रुपैयाँ उक्त मसानघाट आधुनिकीकरण गर्न बजेट दिएपछि निर्माण सुरू गर्दा यसरी डरका कारण व्यवधान आएको थियो ।नायडूको यो कदमलाई केरेलाका मुख्यमन्त्री पिनारायी विजयनले प्रशंसा गर्दै आफ्नो ट्विटर र फेसबुकमा उनका तस्बिरहरूसमेत पोस्ट गरेका छन् ।

‘यो प्रयास स्थानीय तवरमा मात्र होइन राष्ट्रकै ध्यान आकर्षित हुन जरूरी छ’, मुख्यमन्त्रीले लेखेका छन् ‘किनभने उनले सर्वत्र व्याप्त अन्धविश्वासको विरुद्ध आफूलाई उभ्याएका छन् ।’

प्रतिक्रिया