छाउगोठ महिलाको काल, एनजिओ आइएनजिओको दुहुनो गाई

लेखकः गोविन्द कुँवर

पुरुषप्रधान वा पितृसतात्मक नेपाली समाजमा महिला र पुरुषबीचको विभेद अझै पनि कायम छ । अझ नेपालको सुदूर र मध्यपश्चिममा झन् यसले नराम्रोसँग जरा गाडिरहेको छ । सुदूर र मध्यपश्चिममा महिलालाई महिनावारी भएको वेलामा छाउ गोठमा अझै पनि बाध्य गराएर बस्न लगाएका छन्।

महिनावारी भएको वेलामा महिलाले घरमा बस्न नहुने नत्र घर देउता रिसाउने तथा पाप लाग्छ भन्ने अन्धविश्वासका कारण आज पनि सुदूर र मध्यपश्चिमका महिला पीडित छन् । छाउगोठमा महिला एक्लै बस्नुपर्ने तथा विभिन्न जनावर र संक्रमणका कारण कतिपय महिलाले अकालमै ज्यान गुमाउन बाध्य छन् अझै पनि ।

विज्ञानको विकास र समृद्धिले विश्व चमत्कारको दुनियाँमा पुगिसकेको वेलामा नेपालका अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, एवं सुदूरपश्चिका पहाडी जिल्ला तथा मध्यपश्चिका अधिकांश पहाडी जिल्लामा छाउपडी प्रथाले गाँजिरहेको छ ।


परिवारले नै माया गर्दैनन्
अछाम चौरपाटी गाउँपालिका–२ सोकटकी जानकी साउद पनि छाउगोठमा बस्न बाध्य भएको बताइन् । उनी मात्र होइन उनको परिवारको सबै छोरी तथा बुहारी महिनावारी भएको वेलामा घरमा बस्न पाउँदैनन् । उनको मात्र होइन सिंगो टोल, गाउँकै छोरी तथा बुहारी हरेक महिनामा हुने महिनावारीको वेलामा घरबाट टाढा बस्नुपर्ने बाध्यता छ । महिनावारी भएको वेलामा उनीहरूलाई घरपरिवारले पनि राम्रो व्यवहार गर्दैनन्।

महिनावारी भएको वेलामा छाउगोठमा पानी चुहिएमा वा छाउ गोठ चिसो भएको वेलामा पनि उनीहरू घरमा आउन पाइँदैन र बाध्य भएर छाउगोठमै बस्नुपर्ने सुदूर र मध्यपश्चिमका महिलाहरूको गुनासो छ । जानकीले जीवनमा महिला भएर जन्मेकोमा दुखेसो पोखेकी छन् । छाउगोठ चुहिएको वेला तथा पानी परेको वेलामा घरमा पनि बस्न नपाउने तथा ओत लाग्नका लागि रुखमुनी बस्नुपर्ने बाध्यता सुनाइन् । उनी त सुदूरपश्चिको प्रतिनिधि पात्र मात्र हुन् ।

उनीजस्तै हजाराैँ महिला यहि पीडाले थलिएका छन् । र महिनावारीको वेलामा घरबाट टाढा बस्न बाध्य छन् । सुदूर र मध्यपश्चिममा महिलालाई महिनावारी भएको वेलामा महिलालाई घरबाट टाढा राख्ने तथा छाउगोठमा बस्नुपर्ने बाध्यता मात्रै होइन कतिपय महिलाले छाउगोठमै मृत्युवरण गर्नुपर्ने पीडा अझै पनि रहेको जानकी बताउँछिन् । छाउगोठमा बस्नुपर्दा र महिलालाई आफ्नै घरपरिवारले पशुभन्दा पनि तल्लो व्यवहार गरेको भन्दै उनले मन दुखाएकी छन् । उनी भन्छिन्, ‘सबै कुरा सम्झँदा मन कटक्क दुख्छ ।’ उनको गुनासो छ, छोरी भएर जन्मनु सबैभन्दा ठूलो गल्ती रहेछ ।

सुत्केरी पनि छाउगोठमै


सुदूर र मध्यपश्चिममा महिनावारी भएको वेलामा मात्र होइनन् सुत्केरी भएको वेलामा पनि छाउगोठमा बस्नुपर्ने बाध्यता छ । सुत्केरी महिला घरमा राख्दा बाघ, सर्प, देवता रिसाउने भन्ने अन्धविश्वास मान्यताका कारणले अहिले पनि यी क्षेत्रका महिलाहरूले छाउगोेठमै सुत्केरी हुनुपर्ने बाध्यताले सताइरहेको छ । अछामका सबै ठाउँमा सुरक्षित बर्थिङ सेन्टर छैनन् । तर, भएको बर्थिङ सेन्टमा पनि महिलाहरू सुत्केरी गराउन जाँदैनन् र जानुपर्छ भन्ने चेतना अझै पनि विकास हुन सकेको छैन र उनीहरू छाउगोठमै सुत्केरी गराउँछन् ।

छाउगोठमै मृत्युवरण
अछाममा १० वर्षयता १३ जना महिला, किशोरीले छाउपडी गोठमा ज्यान गुमाइसकेका छन् । चौरपाटी गाउँपालिका–२ पायलकी रनतदेवी विक, पार्वती आउजी, झुप्री ढोली, साँफेबगर नगरपालिकाकी शर्मिला भूल, जयगढ बान्नीगढी गाउँपालिकाकी रोशनी तिरुवा, डम्मरा उपाध्याय, ढकारी गाउँपालिकाकी लक्ष्मी बुढा, तुर्माखाँद गाउँपालिकाकी गौरी बुढा, पार्वती बुढा, रानिवनकी हंसदेवी जोशी, हंसा जौसी, डिक्रादेवी विक, झुमादेवी शाही, लगायतले छाउगोठमा ज्यान गुमाइसकेका छन् ।

छाउगोठ मुक्त घोषणा


पायल, रामारोशन, कालिकास्थान, तुर्माखाँद, गाज्रा, जनालिकोट, कुइका, विनायक, जुपू, जाल्पादेवी, चण्डीका, बलिगाउँ, जनालिबण्डाली, यि साविकका गाविसलाई छाउगोठ मुक्त महिला तथा बालबालिका कार्यालयले घोषण गरिएको थियो ।

सुतार, भाटाकाटिया, बलाता, ढुंगाचाल्ना, ढकारी, बस्ती, दर्ना, हिच्मा र शान्तडा साविका गाविसलाई ग्रामीण जलस्रोत परियोजनाले घोषणा गरिएको थियो । चाल्सा घोषणा, गर्ने निकाय वल्र्ड भिजन, भागेश्वरलाई सम विकास नेपाल, बान्नातोली, रिडिकोट, घोडासैन, मष्टाबण्डाली, चाफामाण्डौ र सेरा गाविसलाई स्वयं गाविसले नै छाउगोठ मुक्त गाविस घोषणा गरिएको थियो ।

कार्यान्वयन अझै भएन
अछामका माथि उल्लिखित साविकका गाविसहरूमा छाउगोठ मुक्त घोषणा गरे पनि कार्यान्वयनमा भने कमजोर देखिएको छ । विभिन्न समयमा विभिन्न तत्कालीनका गाविसहरू छाउगोठमुक्त घोषणा गरे पनि ती गाउँहरूमा अझै पनि महिलाहरू महिनावारी भएको वेलामा र सुत्केरी भएको वेलामा छाउगोठमा बस्न बाध्य छन् ।

चुनावको एजेन्डा
भर्खरै सम्पन्न तीन तहको निर्वाचनमा अछामलगायत सुदूर र मध्यपश्चिमका जिल्लामा राजनीतिक दलहरूले छाउगोठ मुक्त र छाउपडी प्रथा अन्तको एजेन्डा लिएर चुनावी मैदानमा उत्रिए र यही एजेन्डालाई स्थानीय जनताले साथ दिएर उनीहरू जनप्रतिनिधिको कुर्सीसम्म पुर्याएका छन् ।

राजनीतिक दलले चुनावी मौसममा जसरी आफ्नो एजेन्डा प्रस्तुत गरेका थिए तर त्यो कार्यान्वयनको सुरुआत चरणमा भने केही नगरेको जस्तो पाइएको छ । चुनाव सकिएको धेरै समय भए पनि उनीहरूले अझै पनि छाउपडी प्रथा अन्तका लागि कुनै पनि पहल गर्न सकेका छैनन् । अब जनप्रतिनिधिले जनताको अभिमतलाई कसरी सम्मान गर्ने हो त्यो हेर्ने समय अझै बाँकी नै छ ।

छाउगोठ एनजिओ र आइएनजिओको दुहुनो गाई

पछिल्लो समय सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाहरूमा आइएनजिओ र एनजिओले छाउगोठ तथा छाउपडी प्रथा अन्त्यका लागि विभिन्न परियोजना सञ्चालन गरिरहेका छन् ।

तर, उनीहरूले सञ्चालन गरेको परियोजना सम्बन्धित वर्ग वा समुदायसम्म पुग्न नसकेका कारण आइएनजिओ र एनजिओले सञ्चालन गरेको परियोजना काम नलाग्ने बनेका छन् । परियोजनालाई एनजिओ तथा आइएनजिओ निश्चित समय र औपचारिकतामा मात्र सीमित गराउने गरेको पाइएको छ ।

केही स्वास्थ्य स्वयंसेविका तथा सामाजिक कार्यकर्तालाई मात्र परियोजना लक्षित गरेको पाइएको छ । स्वास्थ्य स्वयंसेविका तथा सामाजिक परिचालकको भरमा छाउगोठ मुक्त घोषणा गर्ने गरेको पाइएको छ ।

आइएनजिओ तथा एनजिओहरू सेवामुखीभन्दा पनि बढी आम्दानी र धनमुखी हुने गरेको पाइएको छ । उनीहरूले सञ्चालन गरेको परियोजनाबाट कुन समुदाय वा कुन क्षेत्रमा कस्तो प्रभाव पारेको छ भन्ने भन्दा पनि उनीहरूले कुन समुदायलाई कति खर्च गर्ने र कसरी खर्च गर्ने भन्ने विभिन्न स्वार्थका कारण छाउगोठ मुक्त अभियान सफल नभएको सुदूर तथा मध्यपश्चिमका जानकारहरूको भनाइ छ ।

आइएनजिओ र एनजिओहरू आंशिक फाइदाकै कारण विभिन्न परियोजनाहरू सञ्चालन गरे पनि त्यो परियोजना सम्बन्धित वर्ग वा समुदायमा पुग्न नपाउदै बन्द गरिदिने र समस्यालाई जस्ताको तस्तै राख्ने प्रवृत्ति बढेका कारण छाउपडीलाई एनजिओ र आइएनजिओहरू आर्थिक उपार्जनको ठूलो माध्यम बनाई छाउगोठलाई दुहुनो गाईको रूपमा लिने गरेका छन् ।

प्रतिक्रिया