धान दिवस- धानबाली नेपालको आर्थिक मेरुदण्डः किन र कसरी ?

 नेपालमा पनि संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय धान वर्ष सन् २००४(२०६१) देखि मनाउने सिलसिलामा कृषि क्षेत्रबाट विभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रमहरु संचालन गरिएको थियो ।

यस स्तम्भकारको विशेष पहलमा नेपाल सरकारको २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय नीति निर्णय अनुसार अब आइन्दा प्रत्येक वर्षको असार १५ गतेलाई ‘राष्ट्रिय धान दिवस’को रूपमा मनाउने घोषणा पनि भएको थियो ।

सोही अनुसार २०७५ साल असार १५ गते पन्ध्रौं राष्ट्रिय धान दिवस एवं रोपार्इं महोत्सव ‘धान उत्पादनमा बृद्धि, राष्ट्रको सम्बृद्धि’ भन्ने नाराका साथ दक्षिणकाली नगरपालिका वडा नम्बर २, पावरहाउसको साथै देशभर भव्यरूपमा मनाइँदै छ । संयुक्त राष्ट्रसंघको घोषणा पश्चात् संसारमा प्रत्येक वर्ष निरन्तर रूपमा राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो ।

अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (IRRI)ले Year Achieves High Profile in Nepal भनी सन् २००४ मा मूल्यांकन समेत गरेको थियो । संसारको पचास प्रतिशत भन्दा बढी जनसंख्याको मुख्य खाद्यान्न चामल हो, भने एशियाली देशहरूमा त ९० प्रतिशत भन्दा बढी चामलको उत्पादन र खपत हुने गरेको छ । त्यसैले धानले एसियालीहरूलाई एकीकृत गर्ने सेतुको काम गरिरहेको छ ।

हामी नेपालीहरूले एक अर्कालाई भेटी कुराकानी सुरु गर्नुभन्दा अगाडि भात खानु भयो ? भनी सोध्ने गर्छौँ । यसले पनि नेपालमा धानको महत्व कति रहेको छ ? भन्ने झल्काउँछ । आर्थिक वर्ष ०७४÷०७५को प्रारम्भिक अनुमान अनुसार नेपालमा १४ लाख ७० हजार हेक्टरमा धानखेती भई ५१ लाख ५२ हजार मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ५ सय ६ किलोग्राम प्रति हेक्टर रहेको थाहा हुन आएको छ ।

नेपालमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन एक दशमलव ४९ प्रतिशतले कमी भएको छ । आर्थिक वर्ष ०७३÷०७४ का अनुसार नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्त्व भने ३ हजार ३ सय ६९ किलोग्राम प्रति हेक्टर रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन र उत्पादकत्व क्रमशः करिब २२ र सात प्रतिशतले वृद्धि भएको थाहा हुन आएको छ ।

आर्थिक दृष्टिकोणले भन्ने हो, भने यस वर्ष करिब १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको ऐतिहासिक धान उत्पादन भएको छ, पनि भन्न सकिन्छ । धानको उत्पादन उत्साहजनक वृद्धि भएकोले यस वर्ष नेपालको आर्थिक वृद्धिदर सात दशमलव पाँच प्रतिशत हुने जानकारी समेत हालसालै विश्व बैंकले दिएको छ र गत आर्थिक वर्ष ०७२÷०७३को वास्तविक आर्थिक वृद्धिदर शून्य दशमलव एक प्रतिशत भएको र चालु आर्थिक वर्षमा ६ दशमलव ९४ प्रतिशत हुने, केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

यसको साथै यस वर्षको धान उत्पादन एवं उत्पादकत्वलाई ऐतिहासिक रेकर्ड पनि भन्न सकिन्छ । धानबालीलाई पानीको कीरा पनि भन्ने गरिन्छ । सैद्धान्तिक रूपमा भनिन्छ । एक किलो धान उत्पादन गर्न करिब तीन हजारदेखि पाँच हजार लिटर र एक हेक्टर जमिनमा धान खेती गर्न करिब आठ लाख लिटर पानी चाहिन्छ । कृषि इन्जिनियरहरूका अनुसार साधारणतया धानबालीमा अनुमानित पानीको आवश्यकता निम्नानुसार पर्दछ ।

(मिलिमिटरमा)
ब्याड (नर्सरी) ४०, हिल्याउन २ सय जमिन तयारी (रोपेदेखि नकाटेसम्म) एक हजार
जम्माः १,२४०

एक अध्ययनका अनुसार १ सय ३५ दिनहरूमा पाक्ने कुनै जातको धानलाई करिब १ हजार २ सय ५० मिलिमिटर पानीको आवश्यकता पर्दछ । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) का प्रसिद्ध धानबाली विज्ञ डाक्टर एसके दत्ताको भनाइमा धानबालीलाई जम्मा पानीको आवश्यकता करिब १ हजार ४ सयदेखि २ हजार मिलिमिटर पर्दछ ।

इरीकै परीक्षणअनुसार धानबालीमा २ दशमलव ५ र ७ दशमलव ५ सेन्टिमिटर पानी जमाउँदा उत्पादनमा केहि फरक नपर्ने कुरा थाहा हुन आएको छ । जापानको अध्ययन अनुसार धानबालीलाई चाँडो र ढिलोपाक्ने जात बमोजिम करिब १ हजार देखि १ हजार ४ सय मिलिमिटर पानीको जरुरत पर्नेछ ।

जेसुकै भए पनि माटोको किसिम,लगाउने सिजन, भूबनोट, निकासको समिकता, पानीको सतहको गहिराई, आलीको अवस्था, पानी र माटोको उर्वरापन, जमिन तयारीको तरिका, पानीको नोक्सानी, जातहरूको प्रकृति, हावापानी र मौसमी वर्षा आदिले धानमा पानीको आवश्यकताबारे निधो गर्दछ । धानबालीलाई सिँचाइको अति नै आवश्यकता पर्ने धानको वृद्धि अवस्थाहरू मध्ये बेर्ना, गाँजहाल्ने, बाला संरचनाको सुरुवातदेखि फूलफूल्ने, दूध भरिई दाना कडा हुनेसम्मको अबधिलाई मानिन्छ ।

विश्वको तापमानमा बृद्धि र हावापानीमा आएको परिवर्तनलाई मध्यनजर राखी अब हामीले तातो, चिसो, गरम, खडेरी, डुबान आदि सहने धानको जात र प्रविधिहरूको विकासगर्ने तर्फलाग्नु अतिनै जरुरी भैसकेको छ । हुन त देशमा नेपाल कृषि अनुसन्धान परिषद्ले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी), भारत, बंगलादेशसँग मिलेर डुबान, गरम, खडेरी सहने सक्ने जात र प्रविधि विकासगर्न अनुसन्धान संचालन गरि रहेको छ ।

डुबान सहने sub-1 आनुवंशको पहिचान भई नेपालमा धानको बिउ उत्पादन कार्यक्रमको थालनी गरी स्वर्ण ‘सबवान’ र ‘साम्भा मसुली’ ‘सबवान’ जातहरू उन्मोचन भैसकेको छ । सुख्खा क्षेत्रको लागि सुख्खा धान १, सुख्खा धान २ र सुख्खा धान ३, सुख्खा धान ४, सुख्खा धान ५ र सुख्खा धान ६ जस्ता जातहरू उन्मोचन, सिफारिस भैसकेका छन् । ‘चेहरान’ र ‘सबवान’ जात पनि हालै उन्मोचन भएको छ । ‘हर्दिनाथ ३,’ ‘चैते ५’ जस्ता धानका जातहरू पनि उन्मोचन भैसकेका छन् ।

बिन्देश्वरी, जानकी, राधा ४, राधा ७, राधा ११, राधा १२, तरहरा १, हर्दिनाथ २, मकवानपुर एक जस्ताः धानका सिफारिस भैसकेका जातहरूलाई कम पानी हुने अवस्थामा पनि खेती गर्न सकिन्छ । धान र पानी अतिनै घनिष्ठ सम्बन्ध रहेको छ र हामीले प्रति थोपा बढी बाली एवं उत्पादन लिनु परेको छ । धानबालीमा अति आवश्यकपर्ने अवस्थामा सिँचाइ दिने र सिँचाइको व्यवस्था गर्नु जरुरी हुन्छ ।भनिन्छ ‘अब तेश्रो विश्वयुद्ध भयो भने पानीको लागि हुनेछ ।’

वर्षाको साथै कृषि क्षेत्रमा विकास हुँदै गएका उन्नत प्रविधिहरू जस्तैः उन्नत बिउ, मलखाद, विषादी, खेती गर्ने उपकरण तथा तरिका आदिका कारण उत्पादन बढ्न गएको हो । हाल नेपालभर करिब १५ लाख हेक्टरमा हुने गरेको धान खेतीमध्ये ९६ प्रतिशत जति जमिनमा उन्नत बिउले ढाकेको पाइएको छ । धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थितिमाथि जान्छ र धानको उत्पादन घट्यो, भने आर्थिक स्थिति तल खस्कन्छ ।आर्थिक वर्ष ०७३÷०७४ को धानको उत्पादनलाई उदाहरणको रूपमा लिन सकिन्छ । यस वर्ष धानको ऐतिहासिक उत्पादन भएकोले देशको आर्थिक वृद्धिदर करिब सात प्रतिशत हुने कुरा केन्द्रीय तथ्यांक विभागले र ७ दशमलव ५ प्रतिशत हुने व्यहोरा विश्व बैंकले जनाएको छ । कुल खाद्यान्न उत्पादनमा धानको ५० प्रतिशत भन्दा बढी योगदान रहने गरेको छ ।

यिनै तथ्यहरूलाई आधारमानी धानबालीको अनुसन्धान र विकास कार्यक्रमलाई देशले प्राथमिकता दिनु अतिनै जरुरी छ ।बढ्दो जनसंख्या र घट्दो खेतीयोग्य जमिनबाट उत्पादन र उत्पादकत्व बढाउन नयाँ जात, सन्तुलित रासायनिक मलको प्रयोग, सिँचाइ र खेती गर्ने वैज्ञानिक तौरतरिकाले ठूलो भूमिका खेल्न सक्दछ । एककिलो नाइट्रोजनले करिब २० किलोग्राम धान उत्पादन दिने गर्दछ ।

धानमा ‘टपड्रेस’ गर्ने गरिएको युरियामलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ र यसमध्ये ६० देखि ७० प्रतिशत नाइट्रोजन चुहिएर, बगेर, उडेर नोक्सान हुने गर्दछ । त्यसैले धानखेती गर्न रासायनिक मलको साथै जैविक मल, हरियोमल प्रयोग गरी एकीकृत रूपमा फ्यूजन गरी माटोको उर्वराशक्ति बढाउनु अति जरुरी देखिन्छ ।

यस स्तम्भकारले २० वर्ष अघि जनकपुरस्थित ‘हर्दिनाथ’ कृषि फार्म (हाल राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम) मा ५ वर्ष कामगर्दा सफल विकसित प्रविधिहरूको उपयोेगका साथै ३० हेक्टर क्षेत्रफलबाट हरियोमलको रूपमा ढाँचालाई एकीकृत रूपमा प्रयोग गरी ६ हजार टन धानको बिउ उत्पादन गरी हालको मूल्यमा करिब ३ करोड रुपैयाँ बराबरको राजश्व दाखिला गर्न सफल भएका थिए । स्वस्थकर बेर्ना हुर्काएर रोप्दामात्र पनि कुल उत्पादनको ५० प्रतिशत बढी उत्पादन लिन सकिन्छ ।

तसर्थ, धान बिउ छान्नलाई एक लिटर पानीमा दुई सय ग्रामको दरले खाने नुन हाली घोल बनाउनु पर्दछ र यस घोलमा धानको बिउ खन्याउँदा राम्रा, राम्रा पोटिला, हृष्टपुष्ठ, रोग, कीराले आक्रमण नगरेका स्वस्थ्यकर, वजनदार बिउहरू भाँडोको तल पिंधमा जान्छन् र हल्का, फुल्का, रोगी बिउहरू घोलको सतहमानै तैरिन्छन् ।

तैरिएको बिउलाई कपडा छानगरि हटाउने र पिंधका बिउहरुलाई दुई, तीन पटक साधारण पानीले धोइपखाली गर्नु जरुरी हुन्छ । घोलले एक मिनेटभित्रै राम्रा र नराम्रा बिउहरू अलग अलग गरी छट्टाइदिन्छ । फेरि नुनपानीको घोललाई गाईवस्तुको कुँडो बनाउँदा प्रयोग गर्न सकिन्छ । तैयार पारिएको घोलमा चार, पाँच पटक धानको बिउ छान्न सकिन्छ । तर, घोललाई भोलिपल्ट प्रयोग नगर्न सल्लाह दिइन्छ । एक लिटर घोलमा आधाकिलो धानको बिउ छान्ने हिसाबले सोचिनु पर्दछ ।

यसरी धानको बिउछान्दा बिउजन्य ‘मरुवा’ (ब्लाष्ट) रोगबाट धानबालीलाई बचाउन सहयोग पुग्दछ । चैते धान तराई, भित्रिमधेश, नदी किनारका जमिन, पहाडीखोंच आदिमा मात्र गर्न सकिन्छ र चैते धान काटेपछि पुनः वर्षेधानको रोपार्इं गरिन्छ । यस खेतीका लागि सिँचाइ सुविधा हुनु जरुरी छ । हालसम्म एक सयभन्दा बढी धानका जातहरू उन्मोचन, सिफारिस एवं पञ्जिकरण भएको छ । नेपालमा ११ वटा चैते धानका जातहरू उन्मोचन भैसका छन् ।

धानबालीमा एउटा सूत्र छ जस्तैः धानको फूलफूलेपछि जति धेरै घामको प्रचण्डता (Solar Radiation) भयो उती धेरै धान फल्दछ । यस स्तम्भकारले जनकपुरमा कामगर्दा चैत धान फूलफूलेपछि ६ सय क्यालोरी प्रति वर्गमिटर प्रतिदिन मापन पाएका थिए, भने वर्षे धान फूलफूलेपछि ५ सय क्यालोरी प्रति वर्गमिटर प्रतिदिन मात्र थियो । यिनै वैज्ञानिक तथ्यले गर्दा वर्षे धानबालीको तुलनामा चैते धानको उत्पादन २० देखि २५ प्रतिशत बढी हुने गरेको पाइएको छ ।

तराई, भित्रिमधेश जस्ताः आद्रता भएका स्थानहरूमा अब आइन्दा हिउँदे अथवा ‘बोरोधान’ खेतीगर्दा चैते धान भन्दापनि बढी उत्पादन लिन सकिन्छ । ‘बोरोधान’ माघमा रोपेर जेठमा काटिन्छ । यसलाई बेमौसमी धान, पराल पनि भन्न सकिन्छ । मङ्सिरमा धानकाटि चिस्यान बढी भई गहुँ जस्ताः हिउँदे बाली लगाउन नसकिने स्थानहरूमा त ‘बोरोधान’लाई बरदानको रूपमा लिइन्छ । बंगलादेशमा बोरोधान अतिनै लोकप्रिय छ ।

नेपालमा प्रत्येक वर्ष सिंचित क्षेत्र बढ्दै गएको, अवस्थामा चैते र बोरोेधान खेतीगर्न सकिने क्षेत्र बढाउँदै लाने हो, भने हाल अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रियस्तरमा देखापरिरहेको खाद्य सुरक्षा र आकासिदो मूल्यवृद्धिको समस्या हटाउन सकिन्छ । तीब्र जनसंख्या वृद्धि, सहरीकरण, बाली विविधिकरण औद्योगीकरणले उर्वर भूमिको विनाश, परम्परागत कृषि प्रणाली, मौसमी परिवर्तन, खाद्यान्नलाई जैविक इन्धनमा प्रयोग, कृषिमा न्यून लगानी आदिले गर्दा बिगत २५ वर्षको इतिहासमा सन् २००८ मा संंसारको खाद्य भण्डारण सबैभन्दा न्यून रहेको र बजारभाउ भने आकासिदो छ ।

विश्वबैंकका अनुसार संसारभर बिगत दुई दशकमा कृषिलाई लगानी न्यून गरी हेला गरिएकोले, यो समस्या आएको र एशियाली बैंकले पनि अब सस्तो भाउको खाद्यान्न पाइने जमाना गयो, भन्ने गरेको थाहा हुन आएको छ । विश्वमा सन् २००७÷२००८ मा खाद्य संकट आउँदा भारतले गहुँँ र मोटो धान, चामल निर्यातमा चार वर्षसम्म प्रतिबन्ध लगाएको थियो ।

तसर्थ, नेपालले खाद्यान्नमा आत्मनिर्भर हुन तुरुन्त एक उच्चस्तरीय ‘राष्ट्रिय खाद्य सुरक्षा मिसन’ बनाई गम्भीर भई व्यवहारिक रूपमानै लागू गर्न जरुरी देखेको छु, नत्र भविष्यमा बिकराल समस्या पैदाहुन सक्दछ । यस्ता मिसनमा खाद्यान्न उत्पादनमा आफ्नो प्रतिभा देखाइसकेका Outstanding Field-level df Proven Track-record  भएका विज्ञहरूलाई समावेश गर्नु अति जरुरी छ ।

हाइटीमा खाद्यान्न व्यवस्था गर्न नसकेकोले प्रधानमन्त्रीले राजीनामा दिनु परेको थियो र अन्य केही देशहरूमा पनि यस प्रकारको समस्या बढ्दै गइरहेको छ । धानले नेपालको कुल कृषि गार्हस्थ उत्पादनमा करिब २१ प्रतिशत र गार्हस्थ उत्पादनमा करिव ७ प्रतिशत योगदान पुर्याउँदै आएको छ । देशबाट भोक, कुपोषण, गरिबी, झैझगडा, अशान्ति हटाई समानुपातिक खाद्यान्न वितरणको हिसाबले खाद्य सुरक्षा एवं पोषण सुरक्षा सम्बन्धी योजना एवं कार्यक्रमहरूको लागि लगानी बढाउनु जरुरी छ ।

किनकी जीवन निर्वाह गर्न आवश्यक पर्ने खाद्यान्न प्राप्त गर्ने मानिसको नैसर्गिक अधिकार हो, र कुनैपनि राष्ट्रले आफ्ना जनतालाई खाद्य सुरक्षा प्रदान गर्न आवश्यक प्रयास गर्दै जानु अनिवार्य पनि हुन्छ । नेपालको अन्तरिम संविधानले खाद्य सम्प्रभुत्तालाई उल्लेखपनि गरेको छ । भनिन्छ ‘भोको मानिसले कसैको अर्ति, उपदेश सुन्दैन र ऊ शान्तपनि हुँदैन् ।’ साथै खाद्यान्न नै जीवनको आधार पनि हो । यसै तथ्यलाई मनन् गरी २७ औँ विश्व खाद्य दिवसको नारा पनि ‘ स्वथ्यकर आहार, सबैको अधिकार’ भन्ने रहेको थियो ।

बढ्दो जनसंख्या घट्दो खेतीयोग्य जमिन, खस्किदो माटोको उर्वरा शक्तिले गर्दा अब वातावरणीय दृष्टिकोणले दिगो रूपमा प्रति इकाई प्रति दिनको हिसाबले उत्पादकत्व एवं उत्पादन बढाउनु जरुरी भैसकेको छ । हामीले खाद्य सुरक्षा, पोषण सुरक्षा, आयआर्जन र दिगोपनाको हिसाबले कृषि क्षेत्रलाई समेट्नु पर्दछ । नेपालमा मागका अनुपातमा बिगत २५ वर्षलाई तुलना गर्दा १५ वर्ष उपभोग्य खाद्यान्न न्यून भएको र १० वर्ष भने पुगेको देखियो ।

कृषि तथा सहकारी मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०७÷७३ मा देशको उपभोग्य खाद्यान्न करिब ३० मेट्रिक टन बचत भएको देखाएको पाइयो । उत्पादनको साथै खाद्यान्न पहुँच, क्रयशक्तिलाई पनि मनन् गर्नु पर्ने हुन्छ । कृषकहरूले सकेसम्म आफ्नो क्षेत्रहरुमा सबैभन्दापछि नयाँ नयाँ सिफारिस गरिएका धानबालीको जातहरू लगाउनु पर्दछ । जसले गर्दा रोग, कीराको प्रकोप कम भई उत्पादन एवं उत्पादकत्व बढाई आयआर्जन समेत बढाउन सकिन्छ ।

भनिन्छ ‘गुणस्तरीय बिउले मात्र पनि १५ देखि २० प्रतिशतसम्म उत्पादन वृद्धि गर्न मद्दत पुर्याउँदछ । कुनै कुनै स्थानमा त नयाँ उन्नत बिउले मात्र झण्डै एक सय प्रतिशत उत्पादन बढाएको समेत प्रमाण देखापरेको छ । बिगत ३० वर्षमा नेपालको जनसंख्याको साथ साथै खाद्यान्न उत्पादन पनि दोब्बर भएको पाइएको छ । अब जमिन बढाउने कुनै गुन्जायस नभएकोले नयाँ नयाँ ज्ञानगुनका प्रविधिहरू अपनाई प्रति इकाई प्रतिदिनको उत्पादकत्व एवं उत्पादन बढाउनु परेको छ ।

‘हरितक्रान्ति’ले गर्दा खाद्यान्न उत्पादनमा ठूलोे सहयोग पुगेको भारतको हरियाणा, पंजाव र पश्चिम उत्तर प्रदेशले सफलता प्राप्त गरेको कुरा संसारभर सर्वविदित नै छ र यसबाट केही पाठ सिकी हाल समय, काल, परिस्थिति अनुरूप वातावरणीय दिगोखाले खेतीको लागि ‘सदावहार ‘हरितक्रान्ति’को रणनीति अंगाल्नु पर्ने जरुरी भई सकेको छ ।

खाद्यान्न उत्पादन तथा समुचित वितरण, क्रयशक्ति, उत्पादनोपरान्त प्रविधि र बजार व्यवस्थातर्फ पनि ध्यान पुर्याउनु अत्यावश्यक छ । आधुनिक प्रविधिलाई परम्परागत प्रविधिका साथ सम्रिश्रण, फ्यूजन गरी अगाडि बढाउँदा वातावरणीय दृष्टिकोणले दिगोपना आउने कुरा दीर्घकालीन मलखाद परीक्षणद्धारा पनि प्रमाणित भैसकेको छ । हामीले विगतका क्रियाकलापहरूलाई समीक्षा गरी राम्रा राम्रा प्रविधि अपनाई नकारात्मक पक्षलाई त्यागी भविष्यको रणनीति बनाउनु बुद्धिमानी ठहर्दछ ।

संसारको कृषिलाई मनन् गरी स्थानीय आवश्यकताअनुसार चल्नु पर्दछ, भनिन्छ । Think Globally Act Locally हाल तराई, भित्रिमधेश र सो सरह हावापानी भएका क्षेत्रहरुको लागि हिउँदे, ‘बोरोधान’ (माघमा रोपी जेठमा पाक्ने), System of Rice Intensification = SRI,श्री जस्ता उपयोगी प्रविधिहरूको विकास भएको छ । नेपालमा निरन्तररुपमा कृषि अनुसन्धान प्रारम्भ भएको पचास, साठी वर्षभन्दा बढीको इतिहास छ । विभिन्न छापा एवं रेडियो, एफएम, टेलिभिजन जस्ताः विद्युतीय आम संचार माध्यमहरूले पनि नयाँ विकसित जात एवं प्रविधिहरूबारे कृषक, उपभोक्ता र सर्वसाधारणलाई सुसूचित गराउन ठूलो सहयोग गर्दै आएका पनि छन् ।

पहिला कृषि अनुसन्धानका पदाधिकारीहरू आमसंचारको पछि लाग्दथे, भने हाल आएर आमसंचारका साथीहरू पनि कृषि अनुसन्धानको पछि लागेको पाइन्छ । हुन त संचार भनेको दुवै पक्षबाट हुनु पर्दछ । कृषि अनुसन्धान र प्रसारबीच रहेको खाडललाई पुर्न आमसंचार माध्यमहरूले सेवा, टेवा पु¥याउन सक्दछन् । त्यसैले हरेक कृषि आयोजना अन्तर्गत आमसंचार प्रयोग गर्न, बिगत वर्षहरू झैँ कार्यक्रम र बजेट समावेश गर्न भुल्न हुँदैन्, भन्ने यस स्तम्भकारको जोडदार अनुरोध छ । (बस्नेत वरिष्ठ धानबाली विज्ञ हुन्)

प्रतिक्रिया