नेपाली चलचित्रको आर्थिक पाटो

’कुनै पनि चलचित्र निर्माणकर्ताले आफ्नो लगानी डुबोस् भन्ने चाहँदैन प्रतिफल पाउनको लागि नै चलचित्रमा लगानी गर्ने गरिएको हुन्छ । पछिल्लो समयमा नेपाली चलचित्र निर्माणमा नयाँ–नयाँ लगानी कर्ताहरूको प्रवेश भइरहेको छ । अर्थात, पछिल्लो समयमा नेपाली चलचित्र उद्योगलाई नवप्रवेशीहरूले नै बोकिरहेका छन भन्दा पनि फरक नपर्ला ’

लेखकः नरेन्द्रमान श्रेष्ठ

२०७४ साल अन्तिमतिर प्रदर्शन भएको चलचित्र ‘शत्रुगते’ले ५१ दिन मनाएको छ । टेलिउड र कलिउडका हास्य कलाकारहरूले निर्माण गरेको नेपाली चलचित्र शत्रुगते व्यापारको हिसाबले सफल चलचित्र हो । शत्रुगतेले राम्रो व्यापार गरेको सरोकारवालाहरू बताउँछन् । त्यसैगरि, ०७४ सालमा व्यापारको हिसाबले राम्रो व्यापार गरेको चलचित्र हो ‘छक्का पञ्जा २’ । टेलिउडका हास्य कलाकार समूहले नै निर्माण गरेको चलचित्र छक्कापन्जा व्यापारको हिसाबले सफल चलचित्र हो । पछिल्लो समयमा नेपाली चलचित्रहरूको निर्माण बढ्दै छ ।

नेपालमा चलचित्रनिर्माण बढ्नुको साथ साथै चलचित्र क्षेत्रमा धमाधम नयाँ–नयाँ कलाकारहरू पनि बढिरहेका छन् । पछिल्लो समयमा नेपाली चलचित्रहरूको लागत पनि बढेसँगै लगानि पनि बढ्दै छ । तर, लगानी र लागत बढेअनुसार बजार बढेको भने पाइँदैन । नेपालमा चलचित्र निर्माणको आधा शताब्दी भइसक्दा पनि नेपाली चलचित्रको बजार त्यति बढ्न सकिरहेको छैन । नेपालमा २०२१ सालतिरबाट चलचित्र निर्माण भएको थियो ।

नेपालमा बनेको पहिलो नेपाली चलचित्र आमाहो । तर आजको समय सम्म आइपुग्दा पनि चलचित्रको बजारले व्यापकता लिन सकिरहेको छैन । नेपालका चलचित्रहरूले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा बजार लिन सकिरहेका छैनन् किनभने नेपाली चलचित्रकर्मीहरू अहिलेसम्म पनि विदेशी प्रभावबाट मुक्त हुन सकिरहेका छैनन् । भारतीय चलचित्रहरूको नक्कल गरी नेपाली चलचित्र निर्माण गर्ने विकृति अझै जारी छ । त्यसो त अहिलेका दर्शकहरू चुजी भइसकेका छन् ।

विगतमा जस्तो नेपाली चलचित्र भनेपछि आँखा चिम्लेर हेर्ने दर्शक अहिलेका छैनन् । दर्शकहरूको रूचि र चाहनालाई ध्यान नदिई निर्माण गरिएका चलचित्रले लगानी डुबाउनु स्वभाविक हो । तर पनि कतिपय चलचित्र निर्माणकर्ताहरू दर्शकहरूको रूचिलाई ध्यान नदिई भारतिय चलचित्रहरूको नक्कल गरी नेपाली चलचित्रहरू निर्माण गर्ने गरिहेका छन् । अहिलेका दर्शकहरू केही नयाँपन केही आफ्नोपनमा भरपुर मनोरजन खोज्न थालेका छन् ।

चलचित्र भनेको मनोरजनात्मक हुनु पर्दछ भन्ने अधिकाश दर्शकहरूको भनाइ रहेको पाइन्छ । आफ्नै परिवेश, आफ्नै गाउँ–ठाउँको विषय वस्तुलाई मनोरजनात्मक ढंगले प्रस्तुत नभएका चलचित्रले दर्शकलाई आकर्षित गर्छ । चलचित्रले समाजलाई रूपान्तरित गर्न सक्नुपर्छ । चलचित्रमा समाजको यथार्थ चित्रण गर्न सक्नुपर्छ पनि भन्ने गरिन्छ , तर भारतीय नक्कल गरेर चलचित्र निर्माण गर्न छाडिँदैन । चलचित्र निर्माण भनेको रहर शोख र व्यवसाय मात्र पनि होइन ।

चलचित्र निर्माण भनेको कला हो । चलचित्र समाजको ऐना पनि हो ।  नेपालमा नेपाली चलचित्रहरूको बजार हेर्दा वर्षमा सयवटाभन्दा बढी चलचित्रहरू निर्माण हुने गरेका छन् भने लगभग त्यति नै चलचित्रहरू प्रदर्शन हुने गरेका छन् । ०७४ सालमा ८४ वटा जति नेपाली चलचित्र प्रदर्शन भए । तर, ०७४ सालमा प्रदर्शन भएका नेपाली चलचित्रहरूमध्ये व्यापारको हिसाबमा नाफा कमाउने चलचित्रको संख्या एक दर्जन कट्न सकेन ।

एक दर्जन चलचित्रहरूले आफ्नो लगानी उठाउन सकेको निर्माताहरू बताउँछन् । बाँकि सबै चलचित्रहरूले घाटा व्यहोरे । तर, चलचित्र निर्माणमा कुनै कमी आएको छैन । घाटा खान चलचित्र निर्माण गर्ने परम्पराजस्तै भइरहेको छ । ०७४ सालमा प्रदर्शन भएका चलचित्रहरूमा घामपानी, प्रेमगित २, म यस्तो गित गाउँछु, मिस्टर झोले, २ रूपियाँ, कान्छी, कृ, छक्का पञ्जा २, शत्रुगते, ए मेरो हजुर–२ लगायतका चलचित्रहरूले राम्रो व्यापार गरेको बताइन्छ ।

नेपाली चलचित्रहरूको विकास, विस्तार र कलाकर्मीहरूको हकहितका लागि भनेर धेरै चलचित्रसँग सम्बन्धित संघ संस्थाहरू छन् । तर, यी संघ संस्थाहरूले नेपाली चलचित्रको विकास, बजार विस्तार र आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारसम्म लानका लागि खासै कुनै ठोस काम र गतिविधि बढाएको देखिँदैन । कलाकारसँग सम्बन्धित कतिपय संघ संस्थाहरू चलचित्र अवार्ड वितरण गर्नपट्टि मात्र लागि परिहेका छन ।

बजारलाई हचुवाको भरमा नलिई चलचित्रलाई आफ्नो पेसा व्ययसाय बनाउनु अहिलेको आवश्यकता हो । स्तरीय व्यवसायिक चलचित्रले मात्रै समाज परिवर्तन गर्न सक्छ । चलचित्र निर्माण देशको अर्थतन्त्रसँग पनि गाँसिएको हुन्छ । नेपाली चलचित्रमा वर्षमा अर्बांै लगानी भइरहेको छ । यसकारणले पनि चलचित्र निर्माण गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । कुनै पनि चलचित्र निर्माणकर्ताले आफ्नो लगानी डुबोस् भन्ने चाहँदैन ।

प्रतिफल पाउनको लागि नै चलचित्रमा लगानी गर्ने गरिएको हुन्छ । पछिल्लो समयमा नेपाली चलचित्र निर्माणमा नयाँ–नयाँ लगानी कर्ताहरूको प्रवेश भइरहेको छ । अर्थात् पछिल्लो समयमा नेपाली चलचित्र उद्योगलाई नवप्रवेशीहरूले नै बोकिरहेका छन् भन्दा पनि फरक नपर्ला ।

प्रतिक्रिया