सरसफाई अभियान र जल प्रदूषण नियन्त्रण

न्हुंछेनारायण श्रेष्ठ  गरे के हुँदैन र ? एकता, सहकार्य भएको खण्डमा जस्तोसुकै कठिन कार्य पनि सफल बनाउन सकिन्छ भन्ने दह्रो उदाहरणको रूपमा वागमती सरसफाइ अभियानले करिब तिन सय हप्तासम्म अविचलित, अटुट रूपमा वागमती सरसफाइ अभियानमा जुटेका पौरखी र मेहेनती हातहरू र आँटहरूको कारण वागमती नदीको स्वरूप नै अहिले आएर फेरिएको छ।

वागमती नदी अभियानका अभियन्ता स्वर्गिय हुतराम वैद्यको अगुवाइमा सुरु गरिएको वागमती सरसफाइ अभियान अहिले पनि निरन्तर चलि नै रहेको छ । पछिल्लो समय सरसफाइमा स्वतस्फुर्त रूपमा सर्वसाधारण नागरिक, कर्मचारी, विभिन्न क्लब, संघसंस्थाहरूको नियमित रूपमा संगठित भई वागमती नदीलाई सफा गर्नको लागि अभियानमा सफल हुनुलाई सबैले सकारात्मक रूपमा लिनुपर्दछ ।

सरसफाइ अभियानको करिब तिन सय हप्ता पुग्नै लाग्दा वागमतीको स्वरूप र वातावरणमै धेरै नै सुधार भएको कुरा घामजस्तै छर्लंगै भइसकेको छ । यसअघि सरसफाइ अभियानको एक सय हप्ताको अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राजदूतहरू, राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरू, सञ्चारकर्मी, कर्मचारी, कलाकारलगायत हजारौँको संख्यामा वागमती किनारमा उपस्थित भएर सुन्दरीजल देखी चोभारसम्म मानव साङलो बनाई वागमती नदीलाई सात ठाउँमा छुट्याएर सयौँ हप्ताको विशेष सरसफाई कार्यक्रम सफल बनाई ऐतिहासिक कार्य सम्पन्न गरेकोे थियो ।

आम नागरिकहरू सय हप्तामा मात्र सिमित नरही निरन्तर वागमती सरसफाइ कार्यमा लागेकै कारण दुई सय हप्ता सम्मको यात्राले निरन्तरता पाइसकेकोे हो । धार्मिक तथा सांस्कृतिक रूपले महत्व बोकेको वागमती समस्त प्राणी र जलचरहरूको समेत वासस्थान भएकोले यस्को संरक्षण, संवद्र्घन गर्नु हामी सबैको साझा कर्तव्य पनि हो । वागमती नदीलाई पुस्तौँसम्म बचाइराख्ने, प्रदुषणमुक्त बनाइराख्नु हामी सबैको समान दायीत्व र अधिकार पनि हो ।

हरेक नागरिकहरूको सामाजिक कार्य र राष्ट्रिय चासोसमेत बोकेको वागमती नदी सरसफाइ कार्यमा राज्यका सम्पूर्ण निकाय र राजनैतिक दलका नेता तथा कार्यकर्ताहरू एकजुट भई सरसफाइ कार्यमा सहभागी भएर एउटा नयाँ आयाम र एउटा नयां सन्देश विश्वसामु दिन खोजेको छ जुन एकदम सकारात्मक रहेको छ । समस्त प्राणी जगत पानी बिना बाँच्नै सक्दैन । स्वच्छ, सफा पानी पिउनु स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

तर, यही चेतनाको कमीले अहिले आएर देशभित्रका विभिन्न नदीनालाहरू प्रदुषित हुँदै गइरहेका छन् र प्रदुषित पानीकै कारण कैयन नागरिकहरूले मृत्युवरण गर्नुका साथै विभिन्न रोगहरू बोक्न बाध्य भएका छन् ।

अतः मानव स्वास्थ्यमा प्रत्यक्ष भूमिका खेल्ने र पानीबिना कुनै पनि प्राणी बाँच्न नसक्ने तितो यथार्थलाई समेत मध्यनजर गर्दै हाम्रो प्राण, हाम्रो शान, हाम्रो ऐतिहासिक धरोहर वागमतीलाई सधैँ सफा गरी जीवन्तता दिनु हामी सबै नेपाली नागरिकहरूको साझा कर्तव्य हो ।

समाजमा आमूल परिवर्तन ल्याई प्रदुषण विरूद्घ जनचेतना जगाउँदै आफ्नो खोलानाला सफा गर्नु सबैको साझा कर्तव्य हो भन्ने बोध गराउँदै स्वच्छ सफा वातावरण कायम गर्नकोे लागि वागमती सरसफाई अभियान कोसेढुंगा सावित भएको कुरामा दुईमत हुन सक्दैन ।

वागमती नदी फोहोर हुनुमा मुख्यतया अव्यवस्थित सहरीकरण, बढ्ढो जनसंख्या वृद्दि, बढ्ढो औद्योगीकीकरण, भूमि प्रदूषण र विभिन्न रसायनहरू, प्लास्टिकहरू सिधै खोला, नदीनालामा मिसाइनु नै हुन् । नदीनालाहरूमा जथाभावी फालिने प्लास्टिक, फोहोरहरूका कारण नदीको बहावमा समेत कठिनाइ हुँदै आइरहेको र मरेका सिनोहरूसमेत सिधै खोलामा फालिने गलत परम्पराले गर्दा वातावरण प्रदुषण हुँदै गइरहेको छ ।

वातावरण प्रदुषणकै कारण नागरिकहरू विभिन्न रोगहरूले ग्रसित भएका छन् । नेपाल अधिराज्यको संविधानमा मौलिक हक अन्तर्गत स्वास्थ्यसम्बन्धी हकलाई महत्वका साथ समावेश गरिएको छ र प्रत्येक नागरिकहरूलाई स्वास्थ्यसम्बन्धी हक हुनेछ भन्ने प्रावधान रहेअनुरूप नेपाल सरकारले आम नागरिकहरूको स्वास्थ्यमा प्रतिकुल हुनेगरी कुनै पनि कार्य गर्नु सकारात्मक हुन सक्दैन ।

सरकारले वातावरण सन्तुलनका लागि सशक्त पाइला चाल्नु आवश्यक रहेको छ । वातावरण असन्तुलनमा देखिएका कमी कमजोरीहरूलाई समयमै पहिचान गरी आम नागरिकहरूलाई बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै अगाडी बढ्नु अतिआवश्यक रहेको छ । वागमती नदी मात्रै होइन अन्य शाखा, प्रशाखा नदीनालाहरू समेत सफाइ हुनु आवश्यक छ ।

स्वच्छ, सुन्दर सहर र सहरभित्र बस्ने तपाईं हामी सबैले वागमती लगायतका नदीनालाहरू सधैँ सफा राख्ने सामूहिक प्रतिज्ञा गर्नुपर्दछ । अझसम्म पनि वागमतीलाई पुरानो शैलीमा पुर्याउन सकिएको छैन तसर्थ तपार्इं हामी एकजुट भएर वागमती लगायतका नदीनालाहरूलाई पुरानै शैलीमा ल्याउने र माछा लगायतका जलचरहरूको पुनरागमन गर्दै स्वर्गीय आनन्द लिन सकिने वातावरण जरूरी रहेको छ ।

आम नागरिकहरूको मन, वचन र कर्मले वागमती लगायतका नदीनाला सफाइ गर्ने प्रण गर्नुपर्ने आजको आवश्यकता रहेको छ । हामी सबैले उच्च मनोवल लिएर आफ्नो आँट, क्षमता र सकारात्मक सोच सधैँ कायम गर्दै अघि बढ्न सकेको खण्डमा सरसफाइ अभियानले निरन्तरता पाउन सक्दछ । वागमती लगायतका नदीनालाहरू सफा नहुन्जेलसम्म हामीहरू सबै सफाइ कार्यक्रमको लागि निरन्तर खटिरहनुपर्ने आवश्यकता रहेको छ ।

वागमती सरसफाइ अभियानमा नेपाली सेना, प्रहरी, निजामती, शसस्त्र प्रहरी, विद्यार्थी, कर्मचारीहरू र स्थानीयहरूको अटुट , अविरल प्रयास र मेहेनतले मात्र वागमती नदीको हालको स्वरूप देख्न पाएको यथार्थ कोही कतैबाट छिप्न सक्दैन । वागमती सफाइकै कारणले गर्दा होला राजधानीमा फोहोरबाट सर्ने विभिन्न सरूवा रोगहरूको समेत कम भएको अनुमान गर्न सकिन्छ । वागमती नदी किनारबाट हिड्नै नसक्ने बटुवाहरू अहिले आएर निर्धकक साथ हिँडडुल गर्नसक्नु र सग्लो वागमती बग्नु नै सरसफाइ अभियानको सफलता हो ।

सरसफाइ अभियानले गर्दा वागमती नदीमा फालिने फोहोर सँगसँगै प्लास्टिक फाल्ने कामसमेत बन्द भएको छ । नदी किनाराका दुवै ठाउँहरूमा पार्क, फुलबारीहरू निर्माण हुँदैछन् भने वागमती नदी किनारा अतिक्रमण गर्ने कार्यसमेत प्रायः बन्द भएको छ । अहिले पनि वागमती नदिमा फालिएका फोहोरहरू निकाल्ने कामले निरन्तरता पाउँदै आएको छ जसले गर्दा नदीको बहावलाई यथास्थानमा बग्न मद्दत पुर्याएको छ ।

वातावरण संरक्षण र प्रर्वद्घनको लागि सामुहिक रूपमा चालिएको यसप्रकारको सरसफाइ अभियानलाई हामी सबैले साथ दिई सहभागिता जनाउनुपर्दछ र फोहोरलाई व्यवस्थापन आफैँले घरबाटै सुरु गर्नुपर्दछ । फोहोर विर्सजन गर्ने गलत प्रवृत्तिको अन्त्य गरिनुपर्दछ । घर–घरबाट कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्नुका साथसाथै उद्योगबाट निस्कने फोहोर र अस्पतालहरूबाट निस्कने फोहोर व्यवस्थान सर्नका लागि सरकारले दीर्घकालीन योजना अगाडी बढाउनुपर्ने आवश्यकता रहेको छ ।

वातावरण सफा राख्नु हामी सबैको साझा कर्तव्य र जिम्मेवार हो भन्ने कुरालाई बोध गरी वायु प्रदुषण, जल प्रदुषण, औद्योगिक र भूमि प्रदुषण कम गर्न आम नेपाली नागरिकहरू होस्टेमा हैँसे गर्दै अगाडी बढ्नुपर्दछ । अधिकारसम्पन्न वागमती एकिकृत विकास समितिले वागमती नदी सरसफाइको कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढ्नुपर्दछ ।

नदी सरसफाई अभियान हाम्रा लागि अवसर र सुखद विषय बन्न पुगेको छ र आ–आफ्नो क्षेत्रबाट उपस्थित भई सरसफाइजस्तो महान कार्यमा सहभागी हुँदै आउँदा दिनहरूमा समेत तीव्ररूपमा सरसफाइ अभियानलाई अगाडी बढाउनु आवश्यक रहेको छ ।

काठमाडाैं उपत्यकाभित्र बागमती नदी मात्रै नभई विष्णुमती, मनोहरा र अन्य शाखा नदीहरूमा समेत सरसफाई अभियान चलाई स्वच्छ, सफा र हराभरा सहर, गाउँ, टोल बनाउनु तपार्इं हामी सबैको साझा कर्तव्य हो त्यसैले कुरामा भन्दा काममा विश्वास गराैँ र आजैदेखि नदी सरसफाई अभियानमा आफू जुटौँ, सहभागी होऔँ र अरूलाई पनि सहभागी गराऔँ ।

नेपाल सरकारले वागमती सरसफाइ अभियानलाई निरन्तरता दिन र गन्तव्यमा पुग्नका लागि दिर्घकालीन योजना बनाउनुपर्दछ । अर्कातर्फ देश विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा समेत विभिन्न राजनैतिक दलहरूले समेत आफ्ना कार्यकर्ताहरू सहभागि गराउने विषयलाई समेत सकारात्मक रूपमा लिइनुपर्दछ ।

प्रतिक्रिया