मंगोलवादको च्याप्टर क्लोज भएको हो ?

‘गोपाल गुरूङको नीतिमा खसआर्य(बाहुनक्षेत्री) लाई संगठनको साधारण सदस्यसमेत नहाल्ने प्रावधान थियो । त्यसैकारण चुनावको बहानामा साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई कसरी टिकट दिने भन्ने पंक्तिकारले प्रश्न तेर्स्याउँदा त्यसको जवाफ आएन । बरू म जिम्मा लिन्छु भन्ने अभिव्यक्ति बुद्धलाल मेचेको मुखबाट आयो’

-जीवन मंगोल  यतिवेला मंगोल नेसनल अर्गनाइजेसनको पाँचौ राष्ट्रिय महाधिवेशनको एजेन्डा विहिन रूपमा सकिएको छ । अझ महत्वपूर्ण कुरा त यो छ कि एमएनओ विभाजन भएरै छाड्यो । यो दुःखको कुरा हो । एमएनओ यसरी विभाजन हुनुमा बुद्धलाल मेचेको असफल नेतृत्व नै हो ।

डा. गोपाल गुरूङको निधनपछि नेतृत्वमा आएका मेचेको राजनीतिक अनुभव खासै नभए पनि लामो समय एमएनओमा कार्यरत भएको आधारमा नेतृत्व सम्हालेका हुन् । पाँचौँ राष्ट्रिय महाधिवेशनबाट मेचे कार्यकारी प्रेसिडेन्ट चुनिएका छन् ।

लामो समय कार्यवाहक चलाएर दुनियाँमा नभएको नाटक मञ्चन गरेका मेचेले घोषणा गरेझैँ के अब मंगोलवादको च्याप्टर क्लोज भएको हो ? मेचे पहिलोपटक कार्यकारी प्रसिडेँट चुनिएपछि एमएनओको एजेन्डा सबै पूरा भएको बाँकी ५ प्रतिशत रहेको उद्घोष गरेका छन् ।

औचित्यहिन महाधिवेशन
मंगोल नेसनल अर्गनाइजेसनको पाँचौ राष्ट्रिय महाधिवेशन संगठनलाई बिखण्डण गर्न निर्देशित रहयो । २०७४ साउन १७,१८–१९ गते चितवनमा बसेको बैठले महाधिवेशन मंसिरमा सम्पन्न गर्ने सर्वसहमतिमा पारित भएको थियो । किन्तु ०७४ साल मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको चुनावी समिक्षाले बैठकको निर्णय उल्टाएर महाधिवेशनलाई सारियो ।

पहिलो कुरा यसरी रातारात निर्णण बदलेर हिँड्नु अपरिपक्कताको चरम नमुना हो । दोस्रो चुनावी समिक्षा वैठकले केन्द्रीय सभा भंग गरी महाधिवेशन बोलाउनु आफैँमा असंवैधानिक थियो । यसो हुनुमा संगठनभित्र उठेको फरक मत हो । फरक मत राख्दा निषेधको नीति लिएर बहुमतको दम्भ देखाएर सत्यको ढाकछोप गर्नु त्योभन्दा हानिकारक थियो र छ ।

विषय वस्तुमाथि छलफल बहस कम एकात्मक निर्णय हाबी हुनुले निरंकुशतन्त्रलाई जोड दिन्छ । अलि चर्को बहसको थालनी हुने वित्तिकै विभिन्न आरोप लगाएर साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने अनि शत्रुजस्तो व्यवहार गर्नु पनि न लोकतान्त्रिक चरित्र हो न राजनीतिक चरित्र गड्यौँलाजस्तो चरित्र देखिन्छ ।

यो के हो भने मंगोलवादलाई विकसित हुन नदिनु हो । फराकिलो लोकतन्त्रको अभ्यास कम हुनु नै संगठन फ्याक्सन हुनु हो । झाडुले बडाल्नुपर्ने कसिंगर हावाले उडाएर लग्यो भन्ने मानसिकताले संगठनको उन्नत्ति प्रगति नभएर अद्योगतितिर लाग्छ । एउटा नेतृत्व चुन्नका लागि मात्र हो भने महाधिवेशनको कुनै औचित्य देखिन्न, यो कुरा पहिले देखिनै यो पंक्तिकारले उठाएको हो ।

पाँचाैँ राष्ट्रिय महाधिवेशनको कुनै ठोस एजेन्डा देखिएन । पाँचौँ राष्ट्रिय महाधिवेशन चाहिँ काल्पनिक भूतको रचनात्मक अभ्यास मात्र हो । जुन पूर्ण औचित्यहिन छ । कुनै कार्यक्रम र एजेन्डा विहिन महाधिवेशनले ५ वर्ष्भित्र कायापलट गर्ने कुरा कोरा कल्पनामा मात्र हो।

अब दुईवटा एमएनओ
मंगोलवादका जन्मदाता डा. गोपाल गुरूङको निधन भएको दुईवर्ष नबित्दै एमएनओ दुईधारमा विभाजित भयो । एउटा धारले नरम नीति लिएर संशोधनवादमा गयो भने एउटाले सैद्धान्तिक अडान लियो । राजनीतिक ज्ञान कम्तिमा भावनात्मक रूपमा बढी बहकीने निर्दोष सदस्यहरूलाई काँध टेकेर बहुमत बनाउने खेलहरू खेल्ने र अरूलाई गुटबन्दी गरेको प्रसार गर्ने जस्ता कारण एमएनओ–डा. गोपाल गुरूङको गठन भएको छ ।

भने अर्कोतिर लोकतन्त्रको दुहाई दिने नेताहरू आफैँ निरंकुश शैलीमा प्रस्तुत भई फरकमतको औचित्य देख्दैनन् । फरक मतको सन्र्दभमा गोपाल गुरूङको नीतिमा खसआर्य(बाहुनक्षेत्री) लाई संगठनको साधारण सदस्यसमेत नहाल्ने प्रावधान थियो । त्यसैकारण चुनावको बहानामा साधारण सदस्य समेत नरहेका व्यक्तिलाई कसरी टिकट दिने भन्ने पंक्तिकारले प्रश्न तेस्र्याउदा त्यसको जवाफ आएन ।

बरू म जिम्मा लिन्छु भन्ने अभिव्यक्ति बुद्धलाल मेचेको मुखबाट आयो । तर चुनावी समिक्षामा उनले चुनावअघि दिएको अभिव्यक्ति जिम्मा लिन मानेनन् । उनले खस आर्य नेतालाई टिकट बाँडेको जवाफ दिन सकेनन् । त्यसलाई कुटनीतिक भनेर टार्ने काम भयो । अधिकांश केन्द्रीय सदस्यहरूलाई चुनावमा कसरी सहभागि हुने भन्ने छलफल गर्न कुनै बैठक न कुनै निर्देशन जर्बजस्ती चुनावमा होमाएर साधारण सदस्य नपाउनेले एकैचोटी टिकट बाँड्ने नीति मेचेले लिएपछि विरोध भयो ।
कुनै भौतिक, आर्थिक, नैतिक योगदान नगर्ने व्यक्तिलाई अरूवेला निषेध गर्ने चुनाव आएपछि टिकट दिने भएपछि किन दुनियाँ दुःख गर्नु पर्यो ? यसरी कार्यकर्तालाई गुमराहामा राख्नुलाई कस्तो कुटनैतिक मान्ने ? यहि विषयलाई लिएर लोकतन्त्र विरोधी भनेर हल्ला गर्ने, निजी चरित्रमाथि कार्यकर्तालाई नहुँदो कुरा लगाउने चरित्रमाथि प्रश्न खडा गर्ने कार्य भयो । तर, राजनैतिक विन्दु खोज्दा महाधिवेशन मात्र बिकल्प देखाउने कार्य भयो।

चुनावी समिक्षाले समाधान गर्नुपर्ने महाधिवेशनको एजेन्डा हुन सक्दैन भनेर वीरलाल राई, दिनेश वान्तवा, तुलवीर दर्लामी, वर्णवास दर्लामी र यो पंक्तिकार उभिँदा आतंकारी, लोकतन्त्र विरोधी, गोपाल गुरूङलाई मार्ने योजनाकार भनि बुद्धलाल मेचेले ०७४ माघ ११ गते समीक्षा बैठकमा खुल्ला आरोप लगाए । यो राजनीतिक विषय वस्तु र अभिव्यक्ति नभएर व्यक्तिगत दुश्मनीको व्यवहार थियो ।

मंगोलवाद अध्याय कसरी पूरा भयो ?
मंगोल नेसनल अर्गनाइजेसनले आदर्शको रूपमा मंगोलवाद प्रचार गर्दै आएको थियो । लोकतन्त्र÷गणतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय शासन व्यवस्थाको स्पष्ट अवधारणासहित भद्रगोल जेलमा स्थापना भएको यस अर्गनाइजेसनले आफ्नो आदर्शलाई छोडेको छ । अचम्म त यो छ कि कुनै पनि दर्शनको शृंखलाको प्रारम्भिक स्वरूप अविकसित रहन्छ र त्यो अमूर्त मानिन्छ । अनिश्चित आकार लिएपछि विकसित हुँदा मूर्तरूप लिन्छ । मंगोलवाद अमूर्त नै रहेको छ ।

यसको व्यवहारिक विकास, प्रयोग र चलायमान बनाउन नसकेको अवस्थामा कसरी पुरा भयो भनेर विश्लेषण गर्न सके बुद्धलाल मेचेले । के मंगोलवाद आवरण मात्रै हो ? के मंगोलवादभित्र नयाँ नेपालको खाका, व्यवस्था, एजेन्डा, वैज्ञानिक आधार, प्रारूप छैन ? गोपाल गुरूङको मंगोलवाद झुटो हो ? आक्रोश र आवेग मात्रै मंगोलवाद हो ? नेपाली राजनीतिमा मंगोलवादको सान्दर्भिकता स्थापित नभइ कसरी पूरा भएको उद्घोष गरिँदैछ ?

कि यो पंक्तिकारले बुझ्न नसकेको हो ? कुनै पनि विचार, दर्शनको जन्म भएपछि त्यो आफैँमा विशिष्ट हुन्छ । तर त्यसो नभएर मंगोलवादको अध्याय नै समाप्त भएको, गोपाल गुरूङको लडाइँ सबै पूरा भएको प्रचार गर्नु हास्यास्पद छ । उहाँले जीवनभरीको सपना, संघर्ष आंशिक रूपमा पूरा भएको सत्य हो । गोपाल गुरूङको लडाई संर्घष पूरा भएको मान्नु यो मान्यमा ठिक हो किनभने नयाँ नेपालको खाका, योजना, एजेन्डा, प्रारूप र सिंगो स्वरूपको तस्बिर छाड्नु भएको छ ।

त्यसलाई व्यावहारिक रूपमा लागू गर्न संर्घष बाँकी नै छ । फेरि भनिन्छ, ‘गोपाल गुरूङको सपना पूूरा भयो’ अहिले एमएनओको पाँचाँै राष्ट्रिय महाधिवेशन बडा अलमल र कुहिरोमा हराएको कागझैँ बनेको छ । न कुनै परिवर्तनको छलाङ मार्ने एजेन्डा, न गोपाल गुरूङको आदर्शलाई स्थापित गर्ने अडान । यो नवसंशोधनवाद, चरम आत्मसमर्पणको नमुना हो । यसर्थ नेपाली राजनीतिमा जबसम्म बाहुनवाद, वर्णभेद, जातिभेद रहन्छ तव सम्म मंगोलवादको सार्थकता रहन्छ ।

राष्ट्र, राष्ट्रियता, सार्वभौम रक्षार्थ, सुरक्षार्थ वर्णभेदी नीति, ब्राह्मणवाद, साम्राज्यवाद, पुँजीवाद, विस्तारवादको विरोधमा बाहुनवादको ठिक विपरित मानवीय मूल्य मान्यतामा आधारित समतामूलक, लोकहित, विभेदरहित सामाजिक व्यवस्था मंगोलबाद हो । जहाँ शोषण, विभेदरहित समतामूलक समाजको वैज्ञानिक चिन्तन गरिएको छ । त्यसैले नेपाली राजनीतिमा मंगोलवाद अपरिहार्य छ ।

यो कुनै खोक्रो आदर्श नभएर २१औँ शताब्दीको नेपाली राजनीतिको जडलाई चिरफार गरी नयाँ खाका, योजना, स्वरूप सहितको जीवन्त दर्शन हो । अन्त्यमा मंगोल नेसनल अर्गनाइजेसनले पाँचाँै राष्ट्रिय महाधिवेशनले सार्थक उद्देश्य पूरा भएको होस् । बहस, छलफलको माध्यमबाट अघि बढोस, शुभकामना !

प्रतिक्रिया