अक्सफामलाई हाइटीमा स्थायी प्रतिबन्ध


हाइटी । सन् २०१० को भूकम्पपछि कर्मचारी यौन दुव्र्यवहारमा संलग्न रहेको आरोप खेपिरहेको अक्सफाम नामक परोपकारी संस्थालाई हाइटीले आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाइदिएको छ । हाइटीको सरकारले भनेको छ, ‘अक्सफामले उसको देशको कानुन मिचेको छ र मानिसहरूको आत्मसम्मानको सिद्धान्तमाथि गम्भीर रूपमा प्रहार गरेको छ ।’

अक्सफामले एउटा विज्ञप्ती जारी गर्दै हाइटीका नागरिकहरूसँग माफी मागेको छ र केही पूर्वकर्मचारीका व्यवहार अस्वीकार्य भएको दोहोर्याएको छ । अघिल्लो वर्ष ती आरोप सतहमा आएपछि ब्रिटेनमा अक्सफाममाथिको निगरानी थप कडा पारिएको छ । हाइटी सरकारले गएको फेब्रुअरीमा नै अक्सफामविरुद्ध अस्थायी प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो निर्णयलाई अक्सफामले आफूले बुझेको र आफ्ना केही कर्मचारीको काम पूर्ण रूपमा अस्वीकार्य रहेको दोहोर्याएको छ । अक्सफामले आफ्ना इटली, स्पेन र कुवेतमा रहेका कार्यालयमार्फत् हाइटीको काम गरिरहने पनि उल्लेख गरेको छ । सन् १९७८ देखि अक्सफाम हाइटीमा कार्यरत छ र सन् २०१० को भूकम्पपछि उसले त्यहाँ आफ्ना गतिविधि बढाएको थियो ।

तर, यसै वर्षको फेब्रुअरीमा अस्थायी प्रतिबन्धपछि अक्सफामका कर्मचारीहरू हाइटीमा छैनन् । यौन दुव्र्यवहारका आरोपबारेका विवरण सबैभन्दा पहिला द दाइम्स पत्रिकाले बाहिर ल्याएको थियो जसमा एक जना पूर्वप्रमुखले हाइटीमा रहँदा देहव्यापारमा संलग्न महिलाहरूसँग सम्बन्ध राखेको भनिएको थियो ।

चार जना कमर्चारीलाई गम्भीर गल्ती गरेको भन्दै बर्खास्त गरिएको थियो भने पूर्वप्रमुख रोलान्ट भ्यान होवरमायरनलाई उक्त परोपकारी संस्था छाड्न भनिएको थियो । होवरमायरनले गल्ती गरेको स्वीकार गरेका छन् तर रकम तिरेर यौन सम्बन्ध नराखेको उल्लेख गरेका छन् ।

फेब्रुअरीमा अक्सफामले हाइटीसँग माफी मागेको थियो । तर, यो विवाद बाहिर आएपछि हजारौँ मानिसहरूले उक्त संस्थालाई चन्दा दिन बन्द गरेका छन् ।

प्रतिक्रिया