कर्मकाण्डमा सीमित सगरमाथा दिवस

‘सगरमाथा दिवसलाई फगत एक दिनको औपचारिक दिवसका रूपमा मात्र नलिएर सगरमाथाको गौरव, वैभव र पहिचानलाई विश्वसामुमा अझ व्यापकरूपमा प्रचारप्रसार गर्न सकिएको खण्डमा नेपालको हिमाल आरोहण र पर्र्यटन क्षेत्रको संस्थागत विकासका दिशामा धेरै काम गर्न सकिन्छ नै ’

मनोहर कार्की  सगरमाथा र नेपाल पर्यायका रूपमा उभिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको वैभवता र मूल्यसँग तुलना गर्न सकिने प्राकृतिक धरोहरमा अरू कुनै त्यस्तो वस्तु हामीसँग छैन, जुन सगरमाथासँग तुलना गर्न सकियोस् । नेपाल र नेपालीको मौलिक पहिचानलाई विश्व जगतमा चिनाउने एक मात्र प्राकृतिक धरोहरका रूपमा सगरमाथा चीरकाल पर्यन्त उच्च हिमशैल विश्वसामु उभिएको छ ।

विश्वमा नेपालको शान र नेपाली भन्नुको गौरवशाली पहिचानको पर्याय सगरमाथा विश्वको सर्वोच्च हिमशिखरका रूपमा उभिएको छ । विश्वका जुनसुकै भूगोलमा रहेका तथा बसोवास गरी आएका नेपालीले आफ्नो परिचय दिलाउन सक्ने नाम सगरमाथाको देशका रूपमा गर्वका साथ भन्न सक्ने आधार हो । तसर्थ नेपाल र नेपाली राष्ट्रियताको पर्यायका रूपमा संसारको जुनसुकै कुनामा बोलिने नाम सगरमाथाको देश नेपाल हो ।

सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण भएको दिनको संस्मरणमा प्रत्येक वर्षको मे २९ तारिखलाई सगरमाथा दिवसका रूपमा मनाइन्छ । यस वर्ष पनि मनाइयो ।  नेपालको पर्यटन क्षेत्रको पहिचान र पर्यटकीय महत्वलाई उजागर गर्ने दिशामा पनि सगरमाथा दिवसको आफ्नै महत्व रगरिमा रही आएको छ भन्नुमा अतिशयोक्ति नहोला । विश्वमा सर्वप्रथम सगरमाथाको शिखरमा मानवजातिले पाइला टेकेको ऐतिहासिक दिन सन् १९५३ मे २९ को सम्झनामा प्रत्येक वर्ष सगरमाथा दिवसका रूपमा मनाइन्छ ।

यसै दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा तथा न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले विश्व पर्यटनको इतिहासमा साहसिक र गौरवशाली हिमाल आरोहीका रूपमा पहिलोपटक सफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे । यिनै साहसिक तथा गौरवशाली पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले कायम गरेको प्रथम सगरमाथा आरोहणको सफलताको दिनको रूपमा मे २९ लाई सगरमाथा दिवसका रूपमा लिइन्छ ।

सगरमाथा दिवसको महत्व र उपादेयता मे २९ का दिनलाई प्रथम सगरमाथा आरोहणको दिनको संस्मरणका रूपमा मात्र सीमित नराखेर विश्वमाझ नेपाललाई विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा पनि चिनाउन तथा नेपाली पर्यटनक्षेत्रको प्रमुख धरोहरका रूपमा सगरमाथालाई उच्चकोटीका रूपमा पहिचान गराउने दिशामा पनि कोसेढुंगा सावित भएको छ । सगरमाथाको पहिचान यतिमा मात्र सीमित छैन्, सगरमाथा नेपालीको आस्थाको धरोहर अनि नेपाली जातिको गौरवशाली पहिचान र मूल्यका रूपमा पनि विश्वमञ्चमा उजिल्याउन सफल भएको अनुभूति गर्न सकिन्छ नै ।

सगरमाथाले नेपाली पर्यटन क्षेत्रको संस्थागत विकासको दिशामा सगरमाथा आरोहणको साहसिक कार्यको अभिन्न अंगका रूपमा हामीलाई बुझ्न र सोच्न बाध्य बनाएको छ । पर्वतारोहण पर्यटन र साहसिक पर्यटनको विकाससँग यदि सगरमाथालाई अलग गर्ने दुस्साहस गरिएमा त्यो हामी सबैका लागि निकै प्रत्युत्पादक सावित हुनेछ ।

नेपालको पर्वतारोहण तथा साहसिक पर्यटनको विकासको मियोका रूपमा सगरमाथा र हिमशिखर आरोहण अभियानलाई लिन सकिन्छ । पर्यटनको महत्वपूर्ण पाटोका रूपमा हिमाल आरोहण तथा साहसिक पर्यटनलाई यो उचाइमा पुर्याउने सबैभन्दा महत्वपूर्ण योगदान सगरमाथा शिखरको आरोहण तथा सगरमाथा क्षेत्रको पदयात्रा पर्यटनलाई लिन सकिन्छ ।
सगरमाथा दिवसका सन्दर्भमा सगरमाथामा गौरवशाली आरोहणमा किर्तिमान कायम गर्ने ती साहसिक पर्वतारोही तथा पर्वतारोहणका इतिहासमा अध्याय थप्ने सबै व्यक्तिहरू यस विशेष दिनमा सम्झन योग्य र चीरकालपर्यन्त पर्वतारोहण पर्यटनका क्षेत्रमा अविष्मरणीय नामका रूपमा रहेका छन् । ती सम्मानित तथा पर्वतारोहणको इतिहासमा नाम लेखिएका साहसिक तथा प्रेरणादायी पर्वतारोहीहरूको नाम लिँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको नाम अग्रपंक्तिमा आउँछ ।

यसका साथै सगरमाथामा पहिलो पाइला टेक्ने अति साहसिक महिला पर्वतारोही जापानी नागरिक जुन्को तावेई तथा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने साहसिक तथा विरंगना नेपाली नारी पासाङ ल्हामु शेर्पा जसले सगरमाथा शिखरको प्रथम सफल आरोहीका रूपमा आरोहण गरेका थिए, पर्वतारोहणको इतिहासमा सधैँ सम्मान गरिने नामका रूपमा लिइन्छ ।

आरोहणका सिलसिलामा नेपाली नागरिकमा सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्ने साहसिक पर्वतारोही मीनबहादुर शेरचनको नाम पनि पर्वतारोहणको इतिहासमा अविष्मरणीय रहनेछ । यसै वर्षको वसन्त ऋतुमा चार नेपाली पत्रकार महिलाहरूले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर प्रथम नेपाली पत्रकार महिलाका रूपमा आरोहीको नाम लेखाउन सफल भए । नेपाली पत्रकार महिलाहरूलाई सफलताको बधाई तथा सम्मान पनि छ ।

यसका साथै कामिरिता शेर्पाले २२औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गर्नु भएकोमा सबै नेपालीका लागि गर्वको अनुभूति भएको छ । यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि अनुमति लिएका ३४ सगरमाथा आरोहण दलका चार सय जना जति सगरमाथा आरोहीहरूले सर्वोच्च शिखरको सफल आरोहण गर्नु खुसीको कुरा हो । सगरमाथा आरोहण नयाँ इतिहास कोर्न अवसर र चुनौतीका रूपमा सबैका सामु रहेको छ । साहसिक पर्वतारोहीका लागि यो सधैँ ऊर्जा र प्रेरणाको विषय रही रहनेछ ।

यसका साथै पर्वतारोहण र सर्वोच्च शिखर सगरमाथासँग जोडिएर आउने अनगिन्ति नामहरू छन्। ती साहसिक तथा संस्मरणयोग्य नामहरूले कुनै न कुनै रूपमा सगरमाथाको वास्तविक भौगोलिक उचाईभन्दा पनि सगरमाथाको उचाइलाई अझ निकै माथि उठाउन सकेका छन् ।

यस्ता नामहरूमा आङ्रिता शेर्पा, बाबुछिरि शेर्पा, आप्पा शेर्पा लगायतका कैयौँ नामहरू उल्लेखनीय छन्, जसले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणमा किर्तिमान कायम गर्न सफल भएका छन् । सगरमाथा आरोहणसँग साहस, धैर्यता तथा कलाको जुन सम्मिश्रण पक्ष जोडिएको छ, त्यसका साथै सगरमाथा आरोहण पर्वतारोहीहरूका लागि सबैभन्दा गर्व र चुनौतीका पहाडका रूपमा पनि लिन सकिन्छ ।

आजका दिनसम्म सयौँ साहसिक पर्वतारोहीहरूले सफलतापूर्वक विश्वको उच्च शिखर सगरमाथाको आरोहण गरेर किर्तिमान कायम गरेका छन् भने दर्जनौँ पर्वतारोहीहरू यस शिखरको आरोहणका दौरानमा साहसिक तवरले मृत्युवरण गर्न पनि पुगेका छन् । सगरमाथा आरोहण नाम र साहसको प्रतिकका रूपमा यस मानेमा पनि लिन सकिन्छ कि कयौँ पर्वतारोहीहरूले सफल आरोहणको कीर्तिमान कायम गर्न सक्षम भए भने अनगिन्ति पर्वतारोहीहरू आरोहण अभियानमा सगरमाथाको गर्भमा मृत्युवरण गर्न विवस पनि भए ।

साथै, कत्तिले मृत्युलाई साहसिक र कीर्तिमानी बनाएर आफ्नो इहलीला सगरमाथाको गर्भमा अन्त्य गरे । यस्ता साहसिक पर्वतारोहीमा प्रथम नेपाली महिला पर्वतारोही पासाङ ल्हामु शेर्पा र बाबुछिरि शेर्पालाई लिन सकिन्छ । यसका साथै स्वदेश तथा विदेशका कैयाैँ पर्वतारोहीहरूले कुनै न कुनै कीर्तिमान कायम गर्न सकेका छन् ।

त्यसैले सगरमाथा आरोहण कीर्तिमान र साहसिक पर्यटनको पर्यायका रूपमा पनि लिन सकिन्छ । सगरमाथाले मानवीय उपस्थिति र अतिक्रमण व्यापकरूपमा भोगिआएको छ । सगरमाथा शिखरको आरोहणको अभियानमा अनगिन्ति आरोहीहरू आरोहणमा क्रममा जाँदा त्यहाँ आरोहीहरूले थुपारेका फोहरहरू वातावरणीय दृष्टिकोणले अति नकारात्मक र सगरमाथाको सुन्दरता, शालीनता र प्राकृतिक सौन्दर्यलाई कायम राख्ने दिशामा पहाडझैँ चुनौतीका रूपमा तेर्सिएका छन् ।

सगरमाथा आरोही, गाइड तथा आरोहणका सहयोगीहरूले आरोहणका दौरानमा गरेका फोहर र थुपारेका काम नलाग्ने सामानहरूको यथोचित व्यवस्थापन गर्न नसकिँदा सगरमाथालाई फोहरको डुंगुरले कुरूप बनाउन सक्ने सम्भाव्यताप्रति सबै सरोकारवालाहरू सचेत र सजग हुनु आवश्यक छ ।

यसका साथै एक सिजनमा सगरमाथाको आरोहणका लागि अनुमति दिँदासमेत निश्चित संख्यामा आरोहण टोली र टोलीमा समावेश हुनसक्ने अधिकतम आरोहीको संख्या स्पष्ट व्यवस्था गर्न सकिएको खण्डमा सगरमाथा आरोहणलाई केही व्यवस्थित र परिमार्जित गर्न सकिन्थ्यो कि ?

जसले गर्दा सगरमाथा आरोहण प्रतिको विगतको शाख र उत्सुकतालाई अझ घनिभूत बनाउन सकिन्छ भने सगरमाथामा मानवको अनावश्यक अतिक्रमणलाई केही हदसम्म रोक्न सकिन्छ । जसले गर्दा पर्वतीय वातावरण संवेदनशीलतालाई कायम गर्दै सर्वोच्च शिखर सगरमाथालाई स्वच्छ, मनमोहक तथा आकर्षक बनाउने दिशामा प्रेरणादायी कार्य पनि हुने थियो ।

यस दिशामा सम्बन्धित निकाय लगायत नेपाल पर्यटन बोर्डले समन्वयात्मक ढंगबाट कार्य गरिनु आवश्यक छ । सगरमाथा दिवसलाई फगत एक दिनको औपचारिक दिवसका रूपमा मात्र नलिएर सगरमाथाको गौरव, बैभव र पहिचानलाई विश्वसामुमा अझ व्यापकरूपमा प्रचार प्रसार गर्न सकिएको खण्डमा नेपालको हिमाल आरोहण र पर्र्यटनक्षेत्रको संस्थागत विकासका दिशामा धेरै काम गर्न सकिन्छ नै ।

जसका लागि संस्कृति तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले अझ प्रभावकारी समन्वय र सहकार्यको वातावरण निर्माण गर्नु आजको आवश्यकता पनि हो । नेपालका मौलिक पर्यटकीय धरोहरहरूको संरक्षण र प्रवद्र्धनका दिशामा ठोस तथा नीतिगत कार्य योजना र यसको परिणाममुखी कार्यान्वयनका क्षेत्रमा सम्बन्धित सरकारी निकायको यथोचित ध्यान पुग्नुपर्दछ ।

प्रतिक्रिया