नेपाली कांग्रेसका जीवित संग्रहालय: सन्दर्भ विमान अपहरण–२०३०, जेठ २८

‘बिपी संग्रहालयमा राखिएको ‘९ ए–एबिबी’ विमानजस्तै सिंगो नेपाली कांग्रेस संग्रहालयमा परिणत हुने त होइन ? भन्ने चिन्ता आज धेरैजसो लोकतन्त्रवादीहरूले प्रकट गरिहन्छन् । कांग्रेसका जुन नेतालाई भेटे पनि आफूले योगदान अनुसारको भूमिका नपाएको कुण्ठा व्यक्त गर्न छाड्दैनन् । पार्टी रसातलमा पुगिसकेको छ तर व्यक्तिगत स्वार्थका लागि कांग्रेसको सिरानदेखि पुच्छरसम्मको संगठनमा बस्नेहरू निर्लिप्त छन्’

-अञ्जु कार्की सुन्दरीजलको बिपी संग्रहालयको भवन यतिवेला पुनर्निर्माणको चरणमा छ । ०७२ साल वैशाखको विनासकारी भूकम्पका कारण भवन चर्केपछि संग्रहालयका ऐतिहासिक सामग्रीहरू एउटा कोठामा थुपारेर राखिएको छ । संग्रहालय अवलोकन गर्न जानेहरूका लागि यतिवेला आकर्षणको एउटै केन्द्र बनेको छ, ‘९ ए–एबिबी ट्विनअटर जहाजको अवशेष ।’

हवाइजहाज नजिकबाट देख्नु र छुन पाउनु आज पनि धेरैजसो नेपालीका लागि नयाँ अनुभव नै हुने गर्दछ । तर, सुन्दरीजलको बिपी संग्रहालयमा राखिएको हवाईजहाजको त्यो भग्नावशेष केटाकेटीका लागि मनोरञ्जनको बस्तु मात्रै नभएर मुलुकको ठूलो राजनीतिक आन्दोलनको इतिहाससँग जोडिएको छ ।

०३० साल जेठ २८ मा विराटनगरबाट काठमाडौंका लागि १८ जना यात्रु र २९ लाख रुपैयाँ भारु लिएर उडेको उक्त ट्विनअटर जहाज करिब २७ मिनेट अपहरणमा पर्यो । यो २७ मिनेटको अवधिमा उक्त जहाज भारतको फारविसगञ्जमा अवतरण गरी २९ लाख रुपैयाँ भारु त्यहीँ छाडेर पुन विराटनगर विमानस्थलमा अवतरण भयो ।

विमान अपहरण प्रकरण यसै पनि निकै सनसनीपूर्ण घटना हुने गर्दछ त्यसमा पनि त्यो जमानामा भएको विमान अपहरण र त्यो अपहरणमा नेपाली कांग्रेस जोडिनु कम सनसनीपूर्ण थिएन । मुलुकभर नै यो घटनाले निकै सनसनी ल्याएको थियो । यो घटनाका विषयमा थुप्रै गीत तथा कथा कहानी पनि बने । अपहरणकर्ताहरूले लामो समय जेल जीवन बिताए ।

संयोग नै भनौँ अपहरणका एक जना योजनाकार सुशील कोइराला प्रधानमन्त्री भएको वेला ०७२ साल फागुन मा यो विमान अर्घाखाँचीमा दुर्घटनामा परेर भग्नावशेषमा परिणत भयो । त्यही भग्नावशेष यतिवेला बिपी संग्रहालयको मुख्य आकर्षण बनेको हो । कडा दमनको त्यो कालरात्रि र निकै कडा सुरक्षा प्रबन्ध भएको पञ्चायतकालको त्यो जमनामा विमान अपहरणका लागि तयार हुनु सानोतिनो हिम्मतको कुरा थिएन ।

पार्टीप्रति पूर्णवफादारीबाहेक पनि अदम्य सहास र हिम्मतको जरुरी थियो । क्षणभरमै ज्यान जान सक्ने र ज्यान बचेछ भने पनि आजीवन कारावासमा सड्नुपर्ने निश्चित हुँदाहुँदै पनि प्रजातन्त्र पुनर्बहालीका निम्ति त्यत्रो सहास जुटाउने वीरहरू थिए, ‘वसन्त भट्टराई, दुर्गा सुवेदी र नागेन्द्र ढुंगेल ।’  तर, यी तीन वीरहरू यतिवेला मरिसके कि जिउँदै छन् ? भन्ने कुरा नेपाली कांग्रेसको नेतृत्व पंक्तिलाई सायद थाह छैन ।

०४८ सालदेखि ०७४ सालको आमनिर्वाचनको अवधिमा नेपाली कांग्रेस अधिकांश समय सत्तामा रह्यो । धेरै नेताहरू प्रधानमन्त्री बने, मन्त्री बने, सांसद बने, राजदूत बने, विभिन्न राजनीतिक नियुक्तिका पदमा पुगे । पार्टीको केन्द्रीय सदस्य बने । तर, विमान अपहरणका यी तीन वीरहरू स्वयं नेपाली कांग्रेसको पार्टी पंक्तिमा पनि बेखबर छन्। विमान अपहरणका वेला को–पाइलट रहेका श्रीदेव वैद्यले उक्त घटनाको स्मरण यसरी गरेका छन् ।

‘०३० जेठ २८ गते बिहान सवा ७ बजे तत्कालीन शाही नेपाल वायुसेवा निगमको ९–एनएबिबी ट्विनअटर विमान काठमाडौंबाट विराटनगरका लागि उड्यो ।विमानमा आरके मानन्धर क्याप्टेन, म को–क्याप्टेन र जिबी राई सहयोगी थिए । एक घण्टाको उडानपछि सवा ८ बजे हामी विराटनगर पुग्यौँ । १५ मिनेटपछि काठमाडौं उड्ने कार्यक्रम थियो । म ककपिटमै बसिरहेको थिएँ ।

दुई जना यात्रु जहाजमा चढे । एउटाले कालो ओभरकोट लगाएको थियो र हातमा पहेँलो कागजले बेरेको एक्सरे प्लेट बोकेको थियो । उनीहरू कहाँ बस्ने भनेर सल्लाह गर्दै थिए । मलाई लाग्यो, कस्ता रहेछन्, जहाँ बसे पनि त हुन्छ नि ! उनीहरू सरासर मेरो पछाडिको सिटमा आएर बसे । विराटनगरबाट काठमाडौंका लागि विमान उडेको करिब पाँच मिनेटपछि जहाज ६ हजार फिटको उचाइमा थियो ।

काठमाडौंतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर ‘गुड नाइट’ भनेपछि फ्रिक्वेन्सी अफ गरियो अनि काठमाडौंका लागि सेट गरियो । ठीक त्यहीबेला झर्याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्काले कञ्चटमा रिभल्बर तेस्र्याउँदै भन्यो, ‘बुझ्नु भो, हाइज्याक भनेको यही हो ।’ हत्तपत्त मेरो हात कञ्चटमा तेस्र्याएको रिभल्बरतिर गयो ।

‘के मजाक गरेको यो ?’ मैले वाक्य पूरा गर्न पनि पाएको थिइनँ उसले भन्यो, ‘मेरो मतलब बुझ्नु भएन ! हामी कांग्रेसका कार्यकर्ता हौँ । हाम्रो नाममा वारेन्ट छ । तिम्रो राजाले हामीलाई धेरै सतायो । काठमाडौं जाने बित्तिकै समाउँछ । त्यसैले हामीलाई यतै कतै ओराली देऊ ।’ त्यसपछि मैले कन्ट्रोलको जिम्मा क्याप्टेनलाई दिएँ, ‘लेभल आउट’ गरेँ, ताकि विमान त्यसभन्दा माथि नजाओस् । उनीहरूले विमान भारततर्फ लैजान भने ।

‘ल्यान्ड गरेपछि छेउमै रहेको गाईको बथानको बीचबाट एउटा जिप निस्कियो र सिधै हामीतिर आयो । जिपबाट ‘रोक्नूस्’ भनेर जोडको आवाज आयो । ब्रेक जाम गरेर रोक्नुपर्यो । त्यसपछि जिपको ड्राइभर देखियो । जहाँसम्म मलाई लाग्छ ऊ कोइराला परिवारको कुनै सदस्य हुनुपर्छ । उसले टाउको पछिल्तिर लुकायो । ‘३० लाख भारतीय रुपियाँ रहेका तीन बाकस निकालेपछि विनोदले रिभल्बर घुमाउँदै हामीलाई जान भने ।

फारवीसगञ्जबाट हामी सिधै विराटनगरतिर उड्यौँ । हामीले आफूहरू अपहरणमा परेको, राष्ट्रबैंकको ३० लाख रुपियाँ लुटिएको तर यात्रुसहित हामी सुरक्षित तरिकाले पुनः विराटनगरतर्फ जाँदै गरेको जानकारी गरायौँ । त्यसवेला शानेवानिको एउटा विमान पटना जाँदै रहेछ । क्याप्टेन डिआर प्रधान थिए । उनले ‘सबैतिर खबर गरिदिन्छु’ भने । हामी विराटनगरमा अवतरण गर्यौ । अपहरणको यो घटना पूरा हुन २७ मिनेट लागेको थियो ।’

संग्रहालयमा राखिएको उक्त विमानजस्तै सिंगो नेपाली कांग्रेस संग्रहालयमा परिणत हुने त होइन ? भन्ने चिन्ता आज धेरैजसो लोकतन्त्रवादीहरूले प्रकट गरिहन्छन् । कांग्रेसका जुन नेतालाई भेटे पनि आफूले योगदान अनुसारको भूमिका नपाएको कुण्ठा व्यक्त गर्न छाड्दैनन् । पार्टी रसातलमा पुगिसकेको छ ।

तर, व्यक्तिगत स्वार्थका लागि कांग्रेसको सिरानदेखिको पुच्छरसम्मको संगठनमा बस्नेहरू निर्लिप्त छन् । सर्पको मुखमा पुग्न लागेको भ्यागुतोले बिच्छीको सिकार गर्न खोजेजस्तै पार्टीभित्रकै आन्तरिक प्रतिस्पर्धीलाई सिध्याउनेतर्फ कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताले आफ्नो भएभरको सामथ्र्य प्रयोग गरेको देखिन्छ । अपहरण भएको विमान संग्रहालयमा पुगे पनि अपहरण गर्ने वीरहरू अझै कांग्रेसमा सक्रिय छन् ।

केही भूमिका नपाउँदा पनि उनीहरूको सक्रियता घटेको छैन । वास्तवमा जीवित संग्रहालयको रूपमा रहेका उनीहरूको अनुभव र जीवनीलाई प्रचार मात्रै गर्यो भने पनि कांग्रेसको १० प्रतिशत जनमत यसै बढ्छ । तर, आफ्नै कुण्ठा पोख्दै र आफ्नै सहकर्मीमाथि षड्यन्त्र गर्दैमा कांग्रेसका नेताहरूलाई फुर्सद छैन ।

पार्टी बचाउन योगदान गर्नेहरूको चिनारी पछिल्लो पिँढीलाई सार्दै नजाने हो भने इतिहास विस्मृतिको गर्भमा पुग्छ पार्टी सकिन्छ । तर, कांग्रेसले पार्टी बचाउन योगदान पुर्याउनेहरूको चिनारी पछिल्लो पिँढीलाई सार्न बिर्सेको छ । यतिवेलाको नेतृत्व त झन् बेखबर छ । विमान अपहरणका यी तीन जना वीरहरू पार्टीभित्र भूमिका पाउन अयोग्य हुन् त ? भन्ने प्रश्न पछिल्लो समय कार्यकर्ता पंक्तिबाट पनि उठ्न छाडेको छ ।

किनकी पार्टीकै पंक्तिमा पनि यी वीरहरूलाई गुमनाम बनाउने प्रयास गरिएको छ । उदाहरणकै लागि बिपी संग्रहालयमा विमानको भग्नावशेष छ तर विमान अपहरणमा संलग्न यी तीन वीरहरूको नामोनिशान त्यहाँ राखिएको छैन । फोटो त परै जाओस् नामसमेत छैन । संग्रहालयको औचित्यमाथि नै प्रश्न उठ्ने काम गरिएको छ ।

प्रतिक्रिया