जी–७ मा मतभिन्नता, एक्लिँदै अमेरिका


ओट्टवा । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विद्यमान गहिरो फरकपन समाधान गर्न क्यानडामा आयोजित ‘जी सेभेन’ शिखर सम्मेलनमा भएको वार्ता असफल भएको छ । ट्रम्प र विश्वका प्रमुख औद्योगिक राष्ट्रका नेता व्यापारलाई लिएर शुक्रबार विभाजित भएका थिए ।

अमेरिकी गठबन्धनमा रहेका राष्ट्रहरू हालै मात्र ट्रम्पले स्टिल र आल्मुनियम आयातमा गरेको निर्णयपछि क्रुद्ध भएका छन् । अमेरिकी राष्ट्रपतिको पछिल्लो निर्णयले विश्व व्यापारयुद्ध हुनेसम्मका चिन्ता व्यक्त भइरहेका छन् । अमेरिकी राष्ट्रपति र विश्वका प्रमुख औद्योगिक राष्ट्रका नेताबीच भएको बैठकमा के विषयमा सहमति भयो भनेर शनिबार अबेर सकिने जी सेभन राष्ट्रको शिखर सम्मेलनपछि जारी गरिन्छ वा गरिँदैन भन्ने विषय पनि अझै प्रष्ट नभइसकेको बिबिसीले उल्लेख गरेको छ ।

जी सेभेन राष्ट्रको दुई दिने शिखर सम्मेलन क्यानडाको क्युबेक प्रान्तस्थित ला मालबाई सहरमा भइरहेको छ । शनिबार शिखर सम्मेलन सकिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प सिंगापुरमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनसँग मंगलबार हुने ऐतिहासिक शिखर वार्ताका लागि त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

ट्रम्प र विश्वका अन्य ६ प्रमुख औद्योगिक राष्ट्रका नेताबीच व्यापारबाहेक अन्य विषयमा पनि विभाजित भएको बताइएको छ । जलवायु परिवर्तन, इरानसँगको सम्झौता र इजरायल–प्यालेस्टानइन द्वन्द्वको विषयमा अमेरिका र विश्वका ६ औद्योगिक राष्ट्रबीच मतभिन्नता रहेको बताइएको छ । एकताको गलत प्रभाव दिनुभन्दा अमेरिका र अन्य ६ राष्ट्रबीच रहेको मतभिन्नतालाई बसेर समाधान गर्नुपर्ने जर्मन चान्सलर एन्जेला मर्केलले जोड दिँदै आएकी छन् ।

सबै कुरा ठिक छ भनेर नक्कल गर्नुभन्दा वास्तविकतामाथि छलफल गर्नु नै उत्तम हुने मर्केलले तर्क राख्दै आएकी छन् । अन्य राष्ट्रले भने शनिबार अबेरसम्ममा सहमतिको विन्दु भेटिने विश्वास व्यक्त गरेको बिबिसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिका र विश्वका ६ प्रमुख औद्योगिक राष्ट्रबीचको मतभिन्नता समाधानमा प्रगति हुने विश्वास व्यक्त गरेको बिबिसीले जनाएको छ ।

उनले यस्तो बताए पनि ट्रम्पले अलग बस्ने नीतिमा कुनै शंका नरहेको जानकारहरूले बताएका छन् । ‘ट्रम्प समूहमा वार्ता गर्न रुचाउँदैनन् र जी सेभेन शिखर सम्मेलन सकिनुअघि नै उनी उत्तर कोरियाली नेता किम जोङ–उनसँग हुने ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर जानेछन् किनभने उनी एक्लै एक्लै हुने वार्तामा बढी विश्वास गर्छन्,’ बिबिसीले जनाएको छ ।

मतभिन्नता किन ?
अमेरिकाले यसै वर्षको जुन १ मा युरोपेली संघ, क्यानडा र मेक्सिकोबाट हुने स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत भन्सार कर (ट्यारिफ) लगाएका थिए । ट्रम्पले अमेरिकी सुरक्षाका लागि स्वदेशी उत्पादकलाई संरक्षण गर्न यस्तो कदम आवश्यक भएको बताउँदै आएका छन् । अमेरिकी प्रतिक्रियामाथि जवाफ दिँदै युरोपेली संघले पनि हार्ली–डेभिसन मोटरसाइकल, बर्नबनसहित अन्य अमेरिकी सामानमा ट्यारिफ लगाउने घोषणा गर्यो । अमेरिकी कदमलाई प्रतिक्रिया दिन क्यानडा र मेक्सिकोले पनि तयारी गरिरहेको बिबिसीले जनाएको छ ।

शुक्रबार मात्रै पनि क्यानेडेली विदेशमन्त्रीले अमेरिकी ट्यारिफ गैरकानुनी भएको बताएका थिए । त्यसैगरी, युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले पनि अमेरिकी कदमले विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा समस्या आउने चेतावनी दिएका थिए । बेलायती प्रधानमन्त्री थेरेसा मेले भने युरोपेली संघले संयम तरिकाले जवाफ दियोस् भन्ने आफूले चाहना गरेको बताएकी छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले दुवै पक्ष सहमतितर्फ जान खोजिरहेको जस्तो आफूलाई लागेको बताएका छन् ।

जी सेभेन के हो ?
विश्वकै ६० प्रतिशत अर्थतन्त्रको प्रतिनिधित्व गर्ने क्यानडा, अमेरिका, बेलायत, फ्रान्स, इटाली, जापान र जर्मनीलाई वार्षिक रूपमा एकै ठाउँमा ल्याउने सम्मेलन जी सेभेन शिखर सम्मेलन हो । जी सेभेन सम्मेलनमा यसअघि अर्थतन्त्रले प्रमुख एजेन्डाका रूपमा प्रवेश पाउने गरे पनि पछिल्ला सम्मेलनहरू भने अर्थतन्त्र मात्रै नभई विश्वव्यापी मुद्दाहरूमा समेत केन्द्रित हुन थालेका छन् ।  युक्रेनबाट क्रिमियालाई गाभेपछि रुसलाई यस सम्मेलनबाट निलम्बित गरिएको थियो ।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले आश्चर्यजनक रूपमा जी सेभेन शिखर सम्मेलनमा रुसलाई पुनः ल्याउनुपर्ने माग गरेपछि सबै अचम्ममा परेका थिए । ट्रम्पले रुसलाई पुनः सम्मेलनमा सहभागी बनाउनुपर्छ भनेपछि जर्मन चान्सलर एन्जेला मर्केलले भने समूहमा रहेका अन्य राष्ट्र भने ट्रम्पको यस्तो विचारको विरुद्धमा रहेको बताएकी थिइन् । जी सेभेन शिखर सम्मेलन चलिरहेकै बेला अर्को अन्तर्राष्ट्रिय शिखर सम्मेलन पनि चलिरहेको छ ।

चीनको पश्चिमी सहर जिङदाओमा चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षेत्रीय सुरक्षासम्बन्धी ब्लक सांघाई कोर्पेसन अर्गनाइजेसन (एससिओ)को बैठक आयोजना गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित इरान, भारत, पाकिस्तान र मध्य एसियाका अन्य चार राष्ट्रका नेताहरू एससिओ शिखर सम्मेलनमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया