भ्रान्तिमा रूमल्लिएको क्रान्ति

 

‘नेतालाई सुविधाभोगी, भ्रष्ट, सत्तालोलुप बन्ने छुट भएको भन्ने बुझ्नु त ठूलो गद्दारी हो, तर इमान्दार चरित्रबाट पुरानै राज्यसंयन्त्रको घोडा चढेर आएको र वर्गसंघर्षको सट्टा समन्वय गर्ने नीतिबाट चलेको वर्तमान वाम गठबन्धनको यो सरकार कम्युनिस्टको होइन, बढीमा वामपन्थीको सम्म हो भन्न सकिन्छ’

श्याम अधिकारी नेपालमा वाम गठबन्धनको सरकार बनेयता तीव्र बनेको कम्युनिस्ट राजनीतिमा क्रान्तिकारिताको बहस एमाले र माओवादीकेन्द्र एउटै कम्युनिस्टपार्टी बनेपछि झन् तीव्र बनेको छ । सरकार निर्माण गरेका दलहरूले निर्वाचन जित्ने गरी देशव्यापी पार्टी संगठन बनाई वामपन्थी लोकप्रिय नारा दिएर बहुमत ल्याए र सरकारमा जानसमेत सफल भए ।

अहिले उनीहरू बडो आधिकारिकतापूर्वक आफूहरूलाई नै कम्युनिस्ट राजनीतिको मूल प्रवाह बताइरहेका छन् र नामसमेत कम्युनिस्ट राखिरहेका छन् । केही अरू आफैँलाई सच्चा कम्युनिस्ट भनेर दाबी गर्ने पार्टीका नेताहरूले सत्ताधारी एमाले र माओवादी केन्द्रलाई कम्युनिस्ट सिद्धान्त र नैतिकताबाट पतित पुँजीपतिकै दलालको संज्ञा दिइरहेका छन् ।

अहिलेको एकतालाई इष्र्या र डाहको नजरले हेरेर सिद्धान्तका पसल खोली राजनीतिको व्यवसाय गर्ने कानुनी छुट र प्रवृत्तिले गर्दा यो एकता पछि पनि खाँटी कम्युनिस्ट पार्टी खोल्ने लहर कम हुनुको बदला बढ्दै गएको छ र कम्युनिस्ट पार्टीको संख्या झन् थपिदैछ । विगत ७० वर्षमा ७० वटै कम्युनिस्ट पार्टी जन्मेका थिए भने अबका सातै वर्षमा १७ वटा अरू कम्युनिस्ट पार्टी गठन हुने सम्भावना बढेको छ ।

यसरी नेपालका कम्युनिस्टहरूबीच सिद्धान्त, व्यवहार, कार्यदिशा, कार्यनीति सबै कुरामा भिन्नता र ध्रुवीकरण बढेको पाइएको छ । यो ध्रुवीकरणले गर्दा कम्युनिस्ट समूहहरूको संख्या घट्नुको बदला बढी रहेको छ र सिद्धान्त र व्यवहारको अन्तरलाई सिद्धान्तको जामा पहिराएर एक अर्कोलाई खुइल्याउने प्रयास चलिरहेको छ ।

स्वाभाविक रूपमा हालको पुँजीवादी वर्गीय राज्य संयन्त्रको सत्तामा पुगेकाहरूले सामना गरेका यथार्थ परिस्थिति र कहिल्यै सत्तामा पुग्ने सम्भावना पनि नभएका सिद्धान्तका पसलेहरू बीच नाम र काममा अन्तर देखिँदैन । कम्युनिस्टको आधारभूत सिद्धान्तका कुरा गर्दा शास्त्रीय दृष्टिले कम्युनिस्ट बन्न तीनवटा कुरा अंगिकार गर्नु नितान्त आवश्यक पर्दछ ।

एक वर्ग संघर्ष, दुई सर्वहारा वर्गको अधिनायकत्व र तीन क्रान्तिकारी परिवर्तनका लागि शान्तिपूर्ण वा शस्त्रद्वारा रक्तपातपूर्ण रूपमै भए पनि सत्तामाथिको जबर्जस्ती कब्जा । यी सब काम सम्पन्न गर्न सर्वहारावादी चरित्रका अनुशासित कार्यकर्ता रहेको एक कम्युनिस्ट पार्टीको सञ्चालन अर्को आवश्यक सर्त हो ।

कम्युनिस्टहरूका सिद्धान्तका प्रतिपादक र संगठनका नेता माक्र्स एंगेल्स, लेनिन, इस्टालिन, माओ त्सेतुङ, चे ग्वेभारा, होची मिन्ह आदि विभिन्न देशका नेताले कम्युनिस्ट आन्दोलन र क्रान्तिको सफलताका लागि विभिन्न प्रकारका कार्यदिशा र बाटाहरूको व्याख्या गरेका छन् र शान्तिपूर्ण र रक्तपातपूर्ण सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्छ पनि भनेका छन् ।

तर, आजसम्मको इतिहासको अनुभवले र ती नेताहरूका जीवनका घटनाले पनि कम्युनिस्टहरूलाई सामन्ती र पुँजीपति वर्गको सत्ताले कहिल्यै शान्तिपूर्ण रूपमा सफल हुन दिएको छैन बरू अमानवीय, निर्मम र बर्बर दमन गरेर पुँजीवादी र सामन्तीसत्ताले कम्युनिस्टलाई बाच्ने अधिकारसम्म दिएको छैन ।

यसै आधारमा जसले जति सशस्त्र क्रान्तिका कुरा गर्छ त्यो त्यति नै क्रान्तिकारी र चोखो सर्वहारावादी हुन्छ भन्ने भ्रमको एउटा परम्परा नै बसेको छ । त्यही भ्रमलाई समातेर कम्युनिस्ट हुनुका आधारभूत शर्तका कुरा अघि सारेर कम्युनिस्टपार्टी छोडिसककाहरू पनि नवगठित कम्युनिस्ट पार्टीलाई पतित भएको लाञ्छना लगाइरहेका छन् ।

जहाँसम्म संवैधानिक रूपमा शान्तिपूर्ण प्रतिस्पर्धाको कुरा छ त्यो तबमात्र सम्भव भएको छ, जबसम्म कम्युनिस्टहरूले पुरानै राज्यसंयन्त्र र वर्गआधारलाई स्वीकार गर्दछन् । जबकि पुरानो राज्यसत्ताका संयन्त्र र वर्ग आधार रहुन्जेल कम्युनिज्म अर्थात् घोषित साम्यवाद आउनु असम्भव कुरा हो । नामचाँहि कम्युनिस्ट राखेर साम्यवादको लक्ष्य त्याग्ने हो भने त कुरा बेग्लै भैगयो ।

तर, हाम्रा वाम गठबन्धनका नेताहरूले भनेजस्तै पूर्व उल्लेखित नेताहरूले आ–आफ्ना समय अनुकूलको सिद्धान्त प्रतिपादन गरेका मात्र हुन् र हाम्रो समय र परिस्थितिमा त्यो शास्त्रीय पद्धति हुबहु लागू हुन्छ भन्न सकिँदैन भन्ने सत्य हो भने अर्को कुरा पनि सत्य हो कि आजको मानव जातिको प्रगति र मानवीय सभ्यताको दुष्मन पुँजीवाद अनेक प्रकारका संकट पार गर्न विभिन्न रूपमा मायावी रणनीति अख्तियार गरेर विश्वव्यापीकरणजस्ता उपाय अपनाई माक्र्स लेनिनका भविष्यवाणी विपरीत आफूलाई बलियो स्थितिमा राख्न सक्षम रहेको छ ।

यसै कुराको भ्रम छर्दै सत्ताधारीहरू पनि कम्युनिस्ट आन्दोलन र क्रान्तिका सर्वमान्य भनिएका कार्यदिशा पुनरावलोकनको आवश्यकतामा परेको बताइरहेका छन् । यसको अर्थ कम्युनिस्टका नाममा नेतालाई सुविधाभोगी, भ्रष्ट, सत्तालोलुप बन्ने छुट भएको भन्ने बुझ्नु त ठूलो गद्दारी हो, तर इमान्दार चरित्रबाट पुरानै राज्यसंयन्त्रको घोडा चढेर आएको र वर्गसंघर्षको सट्टा समन्वय गर्ने नीतिबाट चलेको वर्तमान वाम गठबन्धनको यो सरकार कम्युनिस्टको होइन, बढीमा वामपन्थीको सम्म हो भन्न सकिन्छ।

वाम पनि हुन सकेन भने सुधारवादी प्रगतिशील पुँजीवादी सरकार हुनसक्छ र त्योअनुरूपको काम पनि गर्न सकेन भने अवसरवादी सत्तालोलुपहरूको जमात मात्र ठहरिने हो भन्ने बुझ्नु पर्दछ । तर, उसले चुनाव जितेकोले मौका पाउनै पर्छ । यो वर्तमान विश्वको यथार्थ परिस्थिति अनुरूप छ । अब वाम गठबन्धनका विरोध गर्ने कम्युनिस्टतर्फ हेरौँ । तिनका लागि ठूला बनेका एमाले र माओवादीप्रतिको आलोचनात्मक रवैयाका प्रसस्त आधार छन् ।

अर्थात् तिनले माओवादी र एमालेका कमजोरी पहिचान गरेका छन् र उनीहरूका अवसरवादी र राष्ट्रियताको उपेक्षा गर्ने प्रवृत्ति, विगतका तिनका भनाइ र आज तिनको काम गराइमा देखापरेका अन्तर बारेमा जनतालाई साँचो कुरा बताएका पनि छन् । तर, ती क्रान्तिकारीलाई अझै यो थाहा छैन वा थाहा पाएर पनि स्वार्थवस थाहा नपाएजस्तो गरिरहेका छन् कि, किन जनताले तिनका कुरालाई भन्दा धूर्त र ढाँट एमाले र माओवादी केन्द्रकै कुरा पत्याएर तिनलाई मत दिई विजयी गराएका छन् ।

वास्तवमा यसका कारण दुईवटा छन् । एक त वर्तमान संवैधानिक संरचना अनुरूपको विश्वसनीयता एमाले, कांग्रेस र माओवादीकेन्द्रले नै प्राप्त गर्नु स्वाभाविक छ किनभने यो संरचना भनेको उनीहरू कै देन र प्रयासबाट सम्भव भएको हो । जनता भन्ने एउटा जुन सामूहिक भावनात्मक तत्व हुन्छ त्यो नितान्त यथार्थवादी हुन्छ । त्यो देशको संवैधानिक संरचना जेजस्तो छ त्यसलाई अंगिकार गरेर मात्र व्यवहार चलाउन सकिन्छ भन्ने बुझ्दछ ।

त्यसैले पञ्चायतमा पञ्चलाई जिताउने त्यो जनता आज गणतन्त्रलाई जिताउनु यो संवैधानिक संरचनामा स्वाभाविक ठान्दछ । यो स्वभावको प्रकृति नबुझेका नेता गणेशमानले जस्तै जनतालाई भेडा ठान्दछन् । जबकि भेडो जनता होइन नेताचाहि बन्न पुग्दछ । अर्को कुरा एमाले र माओवादी केन्द्रका कमजोरी पत्ता लगाउने अन्य कम्युनिस्ट नेताले नबुझेर या बुझपचाएर आफ्ना कमजोरी पत्ता लगाएका छैनन् र सही बाटोमा हिँडेका छैनन् ।

यसै विचार गरौँ देशमा जनयुद्धबाट माओवादी पछि हटेर शान्ति सम्झौतामा आएपछि सशस्त्र राजनीतिक संगठन त समाप्त भयो । आमूल परिवर्तनको सपना लिएर लडेका कार्यकर्ता निराश भएर पलायनमा गए । विश्वमा पनि कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ र प्रतिरक्षात्मक स्थितिमा छ । कम्युनिस्ट कार्य दिशाको पुनरावलोकनको अवस्था छ, यस्तो वेलामा राजधानीमा लालटोपी लगाएर जुलुस निकाल्दैमा क्रान्तिकारी कम्युनिस्ट राजनीतिले राष्ट्रिय पहलको अगुवाइ लिन सक्छ ?

टुडिखेलमा सभा गरेर अंग्रेजी सिनेमाको हिरोलेजस्तो गर्जंदैमा बुर्जुवाहरू अब तर्सेलान् र ? त्यस्ता गतिविधिबाट राज्यसत्तालाई जितेर क्रान्ति सम्भव छ र ? क्रान्तिकारी परिवर्तनका लागि त सबभन्दा पहिले वर्ग आधारमा जानुपर्यो । नेपालको सर्वहारा वर्गको मूल प्रतिनिधि आधार भनेको बुझ्नुपर्यो । वास्तवमा नेपालको अहिलेको क्रान्तिकारी वर्ग कृषिमजदुर वर्ग हो ।

कृषि अझै पनि नेपालका अधिकांश मानिसको जीविकाको आधार रहेको छ । गार्हस्थ उत्पादनमा कृषिको अंश अझै धेरै छ । कृषि मजदुरको ठूलो संख्या तराईमा रहन्छ तिनलाई संगठित गरेर पहिले सच्चा कम्युनिस्टले आफ्ना खुट्टा दह्रो पार्नुपर्यो । खुट्टा दह्रा नभए उभिन सकिँदैन । उभिएपछि बल्ल आधार तयार हुन्छ ।

त्यो काम जोखिमपूर्ण र कठिन पनि छ । सशस्त्र संगठनविना कृषि मजदुरको संगठन र आन्दोलन सफल नहुन सक्छ । फेरि तराईको त्यो काम छिमेकी सीमापारका भारतीय कृषि मजदुरको सहयोग र संगठनविना पनि असम्भव हुन्छ । तर, भारतका कृषि मजदुरसँगै हाम्रा कृषिमजदुर संगठित हुनसके भने अजेय बन्दछन् भन्ने पनि निश्चित छ ।

त्यसपछि मात्र अहिलेका यी सवाल्टर्न असन्तुष्ट विद्रोही र जातीय विभेदमा परेकाहरूको मोर्चाको आन्दोलन पनि त्यसै वरपर बौरिन सक्छ । सहरी आन्दोलन पनि चर्काउन सकिन्छ । एकै पटक जातीय असन्तुष्टि र विभेदमा परेका सवाल्टर्नको भरमा आन्दोलन या विद्रोह गरेमा पहिलेको माओवादी विद्रोहले गरेका गल्ती दोहोरिनेछन् । अनावश्यक बलिदान गर्नुपर्छ अनि प्रचण्डपथकै बाटोमा घुम्दै फिर्दै आइपुगिन्छ । यसो गर्दा सर्वहारा वर्गको राज्यसंयन्त्र पनि बन्न पाउँदैन ।

अर्थात्, माओत्से तुङ्को जस्तो त्यो दीर्घकालीन जनयुद्ध पनि हुँदैन । त्यसैले आफूलाई सच्चा कम्युनिस्ट दाबी गर्नेहरू माओवादी भन्नेहरूले पनि प्रचण्डपथबाट बाहिर निस्कन कृषि मजुरलाई संगठित गर्नु पहिलो आवश्यकता हो । त्यसैले, शास्त्रीय कम्युनिस्टहरूले अहिले देखाएको विद्रोहले मात्र पनि समस्याको समाधान हुन सक्दैन बरू सत्तामा पुग्ने र नपुग्नेबीचको अन्तर विरोधले सिद्धान्तको जामा पहिरेको मात्र भन्न सकिन्छ ।

प्रतिक्रिया