६५ औँ सगरमाथा दिवस

‘सगरमाथाको बिग्रँदो वातावरणको ज्वलन्त प्रमाण र प्रभाव भनेको प्रथमपटक २१औँ पटक सगरमाथा आरोहण गरेका आप्पा शेर्पाले ८,००० मिटरको सेरोफेरोमा नदी बग्न थालेको देखेको भनी उनले त्यो वेला विभिन्न मिडियालाई दिएको प्रतिक्रियालाई लिन सकिन्छ ’

निनाम कुलुङ ‘मंगले’ गएको मे २९ तदअनुसार जेठ १५, ०७५ मा विभिन्न कार्यक्रम गरेर सगरमाथा दिवस मनाइयो । यसरी नेपालमा सरकारीस्तरबाट सगरमाथा दिवस मनाएको ११औँ हो भने, निजी क्षेत्रका पर्यटन व्यवसायसँग सम्बद्ध संघ–संस्थाहरूजस्तै ‘ट्रेकिङ एजेन्सी अफ नेपाल (टान)’, ‘नेपाल पर्वतारोहण संघ (एनएमए)’, सगरमाथा आरोही संघ लगायत संघ–संस्थाले भने, धेरै वर्ष अघिदेखि २९ मेलाई सगरमाथा दिवस मनाउँदै आएका थिए ।

त्यसो त हाल २९ मेलाई नेपालमा मात्रै नभएर युरोप, अमेरिकालगायत देशमा पनि ‘सगरमाथा÷चोमोलुङमा÷एभरेस्ट डे’ भनेर मनाउने गरिन्छ । यसरी हेर्दा नेपाल सरकारले धेरै ढिला गरी (विस २०६४ देखि) सरकारीस्तरमा निर्णय गरेर चोमोलुङमा अर्थात् सगरमाथा दिवस मनाउन थालेको हो । सगरमाथा आरोहणको इतिहास हेर्दा विभिन्न देशका पर्वतारोहीहरूले धेरै वर्ष अघिदेखि नै सगरमाथा चढ्ने धोको लिएर त्यसतर्फ गएको देखिन्छ ।

तर, सफला भने आजभन्दा ६५ वर्षअघि सन् १९५३ मे २९ का दिन मात्रै प्राप्त भएको थियो ।  विश्वकै अग्लो हिम चुचुरो सगरमाथामा मानव पाइला राख्न सफल व्यक्तिहरूमा नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड पर्सिभल हिलारी थिए । त्यसपछि विश्व पर्वतारोहण पर्यटनको इतिहासमा विश्वकै अग्लो (समुन्द्र सतहदेखि नाप्दा ८,८४८ मिटर अग्लो) सगरमाथाको शान अरू उच्च र गौरवपूर्ण रहँदै आएको छ ।

हुन त सन् १९०७ मै सगरमाथा चढ्ने उद्देश्यले बेलायत (स्कटल्यान्ड) का पर्वतारोहीहरू डाक्टर एएम केल्लासको नेतृत्वमा एक अनुसन्धान टोली सिक्किम, दार्जिलिङ÷दोर्जेलिङ हुँदै त्यसतर्फ लागेका थिए भनी विभिन्न किताबमा पढ्न पाइन्छ । दोस्रोपटक फेरि सन् १९२१ मा बेलायती सेनाका तत्कालीन कर्णेल हवार्ड बरीको नेतृत्वमा सगरमाथामा चढ्ने तथा अनुसन्धान पनि गर्ने उद्देश्यले अर्को टोली सिक्किम, दार्जिलिङ÷दोर्जेलिङको बाटो हुँदै उत्तरतर्फबाट सगरमाथातर्फ प्रस्थान गरेका थिए । तर, सो टोलीलाई पनि सगरमाथा चढ्न सफलता मिलेन ।

उल्टै उनीहरूको टोलीमा सदस्य रहेका डाक्टर एएम केल्लासले सगरमाथा चढ्ने क्रममा ज्यान गुमाउनु परेको थियो । यसरी एएम केल्लास सगरमाथा चढ्ने क्रममा मृत्युवरण गर्ने प्रथम पर्वतारोही भए । सूचना र प्रविधिले अनेकौँ फड्को मारेको आजको जुगमा सगरमाथाको नाम नसुन्ने मान्छे विश्वमा कमै होलान् । हुन त सगरमाथालाई अनेक नामले पुकारिन्छ । जस्तै, विदेशीमाझ ‘सगरमाथा’ भन्दा पनि ‘माउन्ट एभरेस्ट’ नामले बढी चिनिन्छ भने नेपालमा सगरमाथा नामले ।

त्यस्तै नेपालकै केही आदिवासी जनजातिहरू र चिनियाँ÷तिब्बतीहरूमाझ भने ‘चोमोलुङमा’÷झोमोलुङमा’ नामले चिनिन्छ । तर, अझै पनि नेपाल सरकार, नेपाली मिडिया, नेपालका बुद्घिजीवी, लेखकले केही आदिवासी जनजातिले पनि सगरमाथालाई ‘चोमोलुङमा’ नै भन्छन् भनी स्वीकार गर्न नसके झैँ लाग्छ । त्यसैले त कतिपय नेपाली मिडिया, नेपालका बुद्घिजीवी लगायतले ‘चोमोलुङमा’÷झोमोलुङमा’ भनेको चिनियाँ भाषाको नाम होइन र ? भनी प्रश्न गर्छन् । ‘चोमोलुङमा’÷झोमोलुङमा’ नाम सम्बन्धमा मौन बसिदिन्छन् ।

त्यसैले, हालका दिनमा नेपालीहरू माझमा ‘सगरमाथा’ र, विदेशीहरूमाझ ‘माउन्ट एभरेस्ट’ नामले नै बढी चिनिन थालेको छ –‘चोमोलुङमा÷झोमोलुङमा’ । हालका दिनमा सगरमाथा ‘झुसेमुसे’ पर्वतारोहीका लागि मात्रै नभएर संसारभरिका मै हुँ भन्ने पर्वतारोहीहरूका लागि पनि ‘जीवनमा एकपटक चढेरै छाड्छु’ भनी सपना देख्ने र गौरव गर्ने विषय अनि कीर्तिमान राख्ने एक आधार भएको छ । त्यस क्रमममा अनेक खालका विकृति पनि सिर्जित भएको देखिन्छ ।

उदाहरणका लागि स्वर्गीय शैलेन्द्रकुमार उपाध्याय र स्वर्गीय मीनबहादुर शेरचनलाई लिन सकिन्छ । उनीहरू चाहन्थे, संसारका वृद्ध सगरमाथा आरोहीको नाम आफ्नो (नेपालीका) नाममा रहोस् । जुन चाहनालाई नराम्रो मान्न सकिन्न । तर, उनीहरूको हालत के भयो ? भनी रहन परेन ! यसरी हेर्दा केही पर्वतारोहीहरूका लागि सगरमाथा साहसिक पर्यटकहरूका लागि खासगरी पर्वतारोहीहरूका लागि एक स्वच्छ खेल खेल्ने वा संसारकै अग्लो हिम चुचुरोको रूपमा सफलतापूर्वक चढेर नाम राख्नेभन्दा पनि फगत ख्याल–ठट्टा र मनोरञ्जनस्थल जस्तो पो भएको हो कि ? भनी चिन्ता पनि सुरू भएको छ ।

यस्तै हो भने सगरमाथा शीरमा पुगेको हाँसेको, रोएको, गीत गाएको, विवाह गरेको, नांगै उभिएको, सुतेको, उठेको, गीति एल्बम विमोचन गरेको, विवाहित जोडीबीच अंगालो मारेको, आदि इत्यादि गरेको भन्दै सगरमाथा चढिसकेर काठमाडाैँ आएपछि नेपाल सरकार, पर्यटन मन्त्रालय मातहत रहेको पर्यटन उद्योग महाशाखाको पर्वतारोहण÷पदयात्रा शाखामा आएर प्रमाणपत्र चाहियो भनी निवेदन दिने दिन धेरै टाढा नहोला । त्यसैले, सगरमाथामाथि कीर्तिमान राख्ने नाममा हुने विकृति रोक्नका लागि सचेत हुनै पर्छ । त्यसका लागि निश्चित मापदण्डहरू कायम गर्नुपर्छ ।

किनभने, सगरमाथाको शीरमा अनेकखाले कीर्तिमान कायम गर्ने नाममा जे पायो, त्यही गर्न दिँदै जाने हो भने सगरमाथाको गौरव बढ्ने होइन, घट्ने र अर्थहीन हुँदै जाने पक्का छ । तापनि, सगरमाथा लगायत हिमाल आरोणका लागि आउने विदेशी तथा स्वदेशी पर्वतारोहीहरू नेपाल सरकार, नेपाली पर्यटन व्यवसायी र पर्यटन मजदुरहरू खासगरी, क्लाइम्बिङ शेर्पा, आइसफल डाक्टर, सरकारी सम्पर्क अधिकृत, भान्से र अन्य सहयोगीहरूले पाउने पारिश्रमिकको गतिलो आधार भएकोमा कसैको पनि दुईमत हुन सक्दैन ।

यसरी हेर्दा नेपालीहरूका लागि गौरवको विषय मात्रै नभएर आमदानीको राम्रो स्रोत पनि भएको छ, सगरमाथा । तर, पनि विषय विज्ञहरू सगरमाथाको भविष्य प्रति चिन्तित छन् । हुन पनि वातावरणविदहरूले भनेझैँ अब सगरमाथालाई केही समयका लागि आराम गर्न दिनेतर्फ पनि सोच्ने हो कि ? वा आगामी केही वर्ष पैसालाई भन्दा पनि सगरमाथाको सुन्दरता र यसको दिगोपनालाई कायम राख्नका लागि निश्चित संख्यामा मात्रै आरोहीहरूलाई सगरमाथा चढ्न अनुमति दिने हो कि ?

किनभने, सगरमाथाको बिग्रँदो वातावरणको ज्वलन्त प्रमाण र प्रभाव भनेको प्रथमपटक २१औँ पटक सगरमाथा आरोहण गरेका आप्पा शेर्पाले ८,००० मिटरको सेरोफेरोमा नदी बग्न थालेको देखेको भनी उनले त्यो वेला विभिन्न मिडियालाई दिएको प्रतिक्रियालाई लिन सकिन्छ । त्यसैले सगरमाथालाई दीर्घकालसम्म बचाउने विकल्पतर्फ सोच्नलाई सरकार र सम्बन्धित निकायले अब धेरै ढिला गर्नुहुँदैन । किनभने, भोलि गएर सगरमाथाको अस्तित्व नै रहेन भने नेपालले के माथि गौरव गर्ने ? कि कसो ?

प्रतिक्रिया