अमेरिकी राष्ट्रपतिलाई भेट्नु किम परिवारको दशकौँदेखिको सपना


सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा तय भएको आगामी समारोह उत्तर कोरियाको किम परिवारका निम्ति त्यो बैठक हो जुन किमका पिताका लागि कहिल्यै सम्भव भएन भने उनका हजुरबुबाले पनि यसमा वास्तविक सफलता हासिल गर्न सकेनन् । तर, अहिलेका युवा शासक किम जोङले भने आफ्नो परिवारको दुई दशकभन्दा लामो सपना पूरा गर्दै पहिलोपटक राष्ट्रपति ट्रम्पसँग आमनेसामने भेटवार्ता गर्ने भएका छन् ।

यसरी यो शिखर सम्मेलन सिंगापुरको सेन्टोसा टापुमा अर्को हप्ता बिहानको नौ बजे निधारित भइसकेको छ जसले विश्व राजनीतिमा ठूलो इतिहास रच्ने विश्वास गरिएको सिएनएनले जनाएको छ । महिनौँ अगाडिदेखिको निरन्तर प्रयास र अनेकौँ चुनौतिपछि मात्र सम्भव भएको सो बैठकको तयारीमा अझै दुवै पक्ष जोडले लागिरहेका छन् ।

तर, यसमा सबैको नजर उत्तर कोरियातर्फ रहनेछ किनकी उसले आफ्नो निःशस्त्रीकरणको बदलामा कुन कुराको माग राख्नेछ भन्ने अझै स्पष्ट भएको छैन र साथै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई पूर्णरूपमा बन्द गर्ने नगर्नेबारे पनि प्रष्ट जानकारी दिएको छैन ।

उता ट्रम्प नेता किमसँग एउटै कोठामा एकसाथ प्रवेश गर्नु नै उत्तर कोरियाका लागि आफैँमा एकदम ठूलो जित साबित हुने बताइएको छ । विश्वका धेरै देशहरूको अमेरिकी राष्ट्रपतिसँग भेट्ने आकांक्षा हुन्छ ।

यस्तोमा अप्रत्यक्ष रूपमा अझै अमेरिकासँग लडाइँको स्थितिमा रहेको सानो मुलुक, उत्तर कोरियाका लागि यो अवश्य नै धेरै ठूलो उपलब्धि हुने बताइएको छ । किमको यो सफलताले उनका पिता र हजुरबुबा दुवैलाई धेरै गर्व गराउनेछ किनकी उत्तर कोरियाका लागि विश्व समुदायमा आफ्नो स्वतन्त्र कानुनी परिचय दिने यो उत्कृष्ट मौका हो ।

यसअघि किमका पिता जोङ इलले पनि तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग भेट्ने धेरै प्रयास गरेका थिए तर अन्तिम समयमा उनी सफल भएनन् भने उनका हजुरबुवाले चाहिँ पूर्वराष्ट्रपति जिमी कार्टरसँग भेट गरेका थिए ।

तर, उनको चारदिने प्योङयोङ भ्रमण राष्ट्रपति पदबाट हटिसकेपछिको अनौपचारिक भेटवार्ता थियो । पाँच महिनाअगाडि मात्र पनि उत्तर कोरिया विश्वबाट अलग्गिएको र भारी प्रतिबन्धले ग्रस्त मुलुक थियो जसको छिमेकका केही देशसँग मात्र कूटनीतिक सम्बन्ध थियो ।

तर, अब अमेरिकी राष्ट्रपतिसँग एउटै टेबलमा बसेर वार्ता गरेपछि भने उत्तर कोरियाप्रतिको दृष्टिकोण पनि बदलिँदै जाने धेरैको अनुमान छ र यसका साथै यस बैठकले उनीहरूलाई अन्तर्राष्ट्रिय परिवेशमा पहिलेको तुलनामा धेरै सम्मान पनि दिलाउनेछ ।

यस शिखर सम्मेलनले वास्तवमा उत्तर कोरियाको अस्तित्वबारे दुनियाँलाई थाहा दिइरहेको छ । अर्कोतर्फ उत्तरका लागि सबैभन्दा महत्वपूर्ण पक्ष, देशको सुरक्षा पनि अमेरिकासँगको वार्तापछि सुनिश्चित हुने देखिन्छ ।

त्यसकारण उत्तर कोरियाली शासकका लागि यो निकै उत्साहजनक प्रक्रिया हुने मानिएको हो । पिताको अकस्मात मृत्युपछि कम उमेरमै शासन सुरु गरेकाले किमले धेरै कुरामा असुरक्षित महसुस गर्नु स्वभाविक कुरा हो । त्यसैले पनि ट्रम्पसँगको भेट उनका निम्ति अत्यन्तै जरुरी रहेको बताइन्छ ।

प्रतिक्रिया