ट्रम्प–किम बैठकमा गोर्खाली सेनाको सुरक्षा

सिंगापुर । यही १२ जुनमा तय भएको डोनाल्ड ट्रम्प र किम जोन उनबीचको ऐतिहासिक बैठकमा विश्वका सबैभन्दा बहादुर सेनाका रूपमा चिनिने नेपालका गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम दुवै आ–आफ्ना देशका सुरक्षाकर्मीका साथ आउने भए पनि सिंगापुरका तर्फबाट भने गोर्खाली सेना तैनाथ गरिने समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

गोर्खाली सेनाकै कारण सिंगापुरमा सबैभन्दा विश्वसनीय सुरक्षा व्यवस्था हुने हुनाले यसअघि अमेरिका र उत्तर कोरिया दुवैले ऐतिहासिक वार्ताका लागि यो देशको छनोट गरेका थिए । बैठकस्थल वरिपरिका सडक, बैठक बस्ने होटललगायतका महत्वपूर्ण स्थानहरूमा गोर्खाली सेनाले सुरक्षा प्रदान गर्ने तय भएको हो ।

यसैको तयारीका निम्ति सिंगापुर पुलिसले अहिले उनीहरूलाई विशेष सैन्य पहिरन, बेल्जियममा बनेको एसल्ट राइफल, खुट्टामा पहिरने विशेष प्रकारको पेस्तोल होस्टलरलगायतका हतियार प्रदान गरिरहेको बताइएको छ । तर, पनि गोर्खाली सेनाको सबैभन्दा प्रमुख हतियार र राष्ट्रिय पहिचान खुकुरी भएकाले त्यो पनि साथमा हुने बताइएको छ ।

सार्वजनिक स्थानमा निकै कम देखा पर्ने भए पनि गत हप्ता सांग्रिला होटलमा आयोजित सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी रक्षामन्त्री जीम म्याटिसको विशेष सुरक्षामा गोर्खाली सेनाको भारी उपस्थिति रहेको बताइएको थियो । आइआइएसएस मिलिटरी ब्यालेन्सका अनुसार सिंगापुरमा मात्र ६ ठूला कम्पनीहरूका लागि १८ सय गोर्खाली सेना खटाइएको छ । यसबाहेक उनीहरूलाई विशेष अन्तर्राष्ट्रिय समारोहका लागि मात्र सहभागी गराइने गरेको बताइएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय विद्यालय र मलेसियासँगको सीमा क्षेत्रमा पनि उनीहरू देखा पर्ने गरेका छन् । त्यसकारण भिआइपी अतिथिकै लागि विशेष रूपमा बोलाइने हुनाले गोर्खाली आर्मीको सुरक्षा व्यवस्था सिंगापुरले प्रदान गर्न सक्ने सबैभन्दा ठूलो उपहार भएको सैन्य विभागका विज्ञको भनाइ छ । सिंगापुरमा उनीहरू आफ्ना परिवारसँगै सहरभन्दा बाहिरको माउन्ट भर्नन क्याम्पमा बस्ने गर्छन्, जहाँ स्थानीय वासिन्दाहरूलाई प्रवेश निषेध गरिएको हुन्छ ।

विगत दुई सय वर्षदेखि नै सिंगापुरलगायत बेलायत, ब्रुनाइ, भारतजस्ता देशहरूले नेपालका गोर्खाली सेनालाई विशेष रूपमा भर्ती गराउने गरेका छन् । १९ औँ शताब्दीको युद्धदेखि नै गोर्खाली सेनाबाट अत्यन्तै प्रभावित हुँदा सबैभन्दा पहिले बेलायतले उनीहरूलाई सम्मानस्वरूप तैनाथ गराएको थियो । त्यसैले वर्षौंदेखि सिंगापुरलाई सुरक्षित राख्नमा पनि गोर्खाली आर्मीको ठूलो हात रहेको सिंगापुर पुलिसको वेबसाइटले व्याख्या गरेको छ । यी सबै देशहरूमा गोर्खा आर्मीलाई परम्परागत शक्तिका रूपमा लिइने गरिएको छ ।

प्रतिक्रिया