चीनका लागि ‘जासुसी गर्ने’ एक पक्राउ


वासिंगटन । चीनका लागि अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी भनिने अमेरिकाको बाह्य गुप्तचरीय निकायका एक जना पूर्वकर्मचारीलाई पक्राउ गरिएको अमेरिकाले बताएको छ । न्याय मन्त्रालयका अनुसार ५८ वर्षका रोन रक्वेल ह्यान्सेनलाई शनिबार हिरासतमा लिइएको थियो । उनी चीनतर्फ उड्नका लागि सियाटलको विमानस्थलतर्फ जान लागेका थिए ।

ह्यान्सेनले चीन सरकारको लागि जासुसी गरेबापत कम्तिमा आठ लाख डलर पाएको न्याय मन्त्रालयको दाबी छ ।  तर, चीनका एक सैन्य अधिकारीले ती टिप्पणीहरूलाई ’गैरजिम्मेवार’ भनी खण्डन गरेका छन् । उनीविरुद्ध सन् २०१३ देखि २०१७ सम्म निरन्तर अमेरिकी सैनिक र गुप्तचर गतिविधिसँग सम्बन्धित सम्मेलनहरूमा भाग लिएको र त्यसको जानकारी चीनस्थित सम्पर्क सूत्रलाई उपलब्ध गराएको लगायतका १५ वटा अभियोग छन् ।

अमेरिकी सहमहान्यायधिवक्ता जोन डेमेर्सले ह्यान्सेनले राष्ट्रिय सुरक्षालाई धोका दिएको प्रतिक्रिया दिएका छन् । उनको पहुँच माथिल्लो तहका गोप्य जानकारीसम्म वर्षौंसम्म रहेको र उनले सन् २०१३ देखि २०१७ सम्म निरन्तर चीनको भ्रमण गरेको अमेरिकी न्याय मन्त्रालयको दाबी छ ।

सियाटलमा न्यायाधीशसमक्ष केही बेर उपस्थित गराइएपछि उनी गृहराज्य युटाको साल्ट लेक सिटी फर्केर त्यहाँ नै अभियोगको खेप्न गर्न तयार भएका थिए । चिनियाँहरूका लागि जासुसी गरेको आरोपमा ह्यान्सनभन्दा अगाडि पनि फौजदारी अनुसन्धानका क्रममा पक्राउ अरू अमेरिकी अधिकारीहरू पक्राउ परेका छन् ।

सिआइएका पूर्वअधिकारी जेरी चुन सिङविरुद्ध चीनका लागि राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारीहरू संकलन गर्न षड्यन्त्र गरेको अभियोग यही महिना लगाइएको छ । चीनलाई सूचना बेचेको अभियोग लागेका सिआइएका अर्का पूर्वकर्मचारी केभिन म्यालोरी अहिले भर्जिनियामा मुद्दा खेप्दै छन् ।

प्रतिक्रिया