साहसिक पर्वतारोहीका लागि सगरमाथा

लेखक -सुभानु आचार्य

 हिमाल आरोहणको कुरा सुन्ने बित्तिकै सबैको ध्यान सगरमाथातिर नै जान्छ । त्यसैले आरोहीले पनि सगरमाथालाई मुख्य गन्तव्यको रूपमा लिन्छन् । सगरमाथा विश्वको सर्वाेच्च शिखर भएकाले यसप्रति आकर्षक हुनु स्वभाविक पनि हो । सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको छ । विश्वमा आठ हजारभन्दा माथि १४ ओटा हिमाल भए पनि नेपालमा मात्र आठ ओटा पर्दछन् । यस्ता हिमालले पर्यटकलाई तानेको छ ।

त्यसमा पनि सगरमाथले विदेशी मुद्रा भित्र्याउन र रोजगारीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन निकै सहयोग गरेको छ । दुई साहसी आरोही नेपालका तेञ्जिङ नोर्गे र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन यस हिमालको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए । सगरमाथामा मानव पाइला पुगेसँगै विश्वभर ठूलो चर्चा कमायो र नेपाल सगरमाथाको देश भनेर संसारभर चिनिन सफल भयो ।

त्यसपछि सगरमाथाको सफल आरोहणको संख्या थपिँदै गयो । हालसम्म यस शिखरको सफल आरोहण गर्नेको संख्या देशी विदेशी गरी आठ हजार पुगेको छ । सगरमाथा आरोहणको सिजन भनेको चैत, वैशाख, जेठ, अशोज, कात्तिक र मंसिर महिना हुन् । यसमा पनि विशेष गरी वैशाखदेखि जेठसम्मको समयलाई बढी उपयुक्त मानिन्छ । सरकारले पनि यसको वर्षको आरोहणका लागि ३० वैशाखदेखि ११ जेठसम्मको समय तोकेको थियो ।

यस सिजनमा सगरमाथा आरोहण गर्नका लागि ३४ विदेशी टिमका ३ सय २६ जना र स्वदेशी ४ टिमका २० जना गरी कुल ३ सय ४६ जनाले अनुमति लिएका थिए । यसमा विभिन्न ४२ देशका २ सय ८१ जना पुरुष र ४५ जना महिला छन् भने नेपाली पुरुषको संख्या ५ र महिलाको संख्या १५ रहेको छ । सरकारले यस सिजनमा सगरमाथा आरोहण गर्ने विदेशी आरोहीबाट १ लाख ३६ हजार फोहोरमैला धरौटी र ३४ लाख ६७ हजार ७ सय ५० अमेरिकी डलर अर्थात जम्मा ३५ करोड ९९ लाख ९८ हजार ३ सय १२ नेपाली रुपैयाँ राजस्व उठाएको छ भने नेपाल आरोहीबाट १५ लाख फोहोर मैला धरौटी रकम मात्र उठाएको छ ।

हिमाल आरोहणका लागि सरकारले सिजन अनुसारको राजस्व दर निर्धारण गरेको छ । चैत, वैशाख र जेठ (वसन्त ऋतु) महिनाको सिजनका लागि विदेशी आरोहीले ११ हजार अमेरिकी डलर र नेपाली आरोहीले ७५ हजार नेपाली रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ । यस्तै, अशोज, कात्तिक र मंसिर (शरद ऋतु) महिनाको सिजनमा विदेशी आरोहीले ५ हजार ५ सय अमेरिकी डलर र नेपाली आरोहीले १० हजार २ सय ५० रुपैयाँ मात्र राजस्व तिरे पुग्छ ।

वसन्त ऋतुमा सगरमाथालगायत ३० ओटा हिमाल आरोहण गर्नका लागि १ सय ७ टिमका ८ सय ४४ सदस्यले अनुमति लिएको थिए । जसबाट नेपालले ४ अर्ब १३ करोड ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

वसन्त ऋतृमा ४३ देश मध्ये सबैभन्दा बढी आरोहीको संख्या अमेरिकाको रहेको छ । जसमा ५५ पुरुष ९ महिला गरी कुल ६४ आरोही सामेल थिए । दोस्रोमा भारतीय पर्वतारोही रहेका छन् ।भारतीयमा ५१ पुरुष र ८ महिला गरी कुल ५९ जना आरोही छन् । ४७ पुरुष र ७ महिला गरी कुल ५४ जना गरी चीन तेस्रो ठाउँमा रहको छ । २० जना पुरुष र ४ जना महिला गरी बेलायत चौथो स्थानमा रहेको छ भने ५ जना पुरुष र १५ जना महिला गरी नेपाल पाँचौ स्थानमा पुगेको छ ।

अन्य देशका आरोहीको संख्या हेर्ने हो भने १३ जना जापानका, अस्ट्रेलिया र क्यानडाका १०÷१० जना, ब्राजिलका सात जना, दक्षिण कोरियाका ६ जना, आइरल्यान्ड, इटाली, न्युजिल्यान्ड, नर्वे र पोल्यान्डका पाँच÷पाँच जना, चेक रिपब्लिक र स्पेनका चार÷चार जना, फ्रान्स, हङकङ, मेक्सिको, दक्षिण अफ्रिका, स्विट्जरल्यान्ड र युक्रेनका तीन÷तीन जना, चिली, डेनमार्क, जर्मनी, काजिकास्तान, मलेसिया, रोमानिया, रसियन फेडरसन र स्विडेनका दुई÷दुई जना र अल्जेरिया, अस्ट्रिया, बहामस, बेल्जियम, बुल्गेरिया, हंगेरी, इरान, मंगोलिया, मेसोडोनिया, सिंगापुर, स्लोभाकिया र श्रीलंकाका एक÷एक जना आरोही थिए ।
पर्यटन विभागका निर्देशक रामप्रसाद सापकोटाको भनाइअनुसार वसन्त ऋतुमा हिमाल आरेहणका लागि अनुमति लिनेको संख्या बढी हुन्छ । आरोहीहरू सगरमाथाको सफल आरोहण गर्न बढी आकर्षित देखिएका छन् । हिमालको सफल आरोहणपछि सरकारले लिएको फोहोरमैलाबापतको धरौटी रकम फिर्ता गर्ने चलन रहेको निर्देशक सापकोटाले जानकारी दिए । सगरमाथापछि ८ हजार ५ सय १६ मिटर रहेको लोत्से हिमाल आरोहीको संख्या बढी रहेको छ ।

वसन्त ऋतुमा यस हिमाल आरोहण १० ओटा टिमका १ सय ७ आरोहीले अनुमति लिएका थिए । जसबाट सरकारले १ करोड ९८ लाख ९३ हजार राजस्व संकलन गरेको छ । तेस्रो नम्बरमा बढी आरोही संख्या भएको हिमाल मुस्ताङ हो । बसन्त ऋतुमा मुस्ताङ हिमाल आरोहण गर्न ४ टिमका ५० जना आरोहीले भाग लिएका थिए । यसबाट सरकारले १३ लाख १९ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

वसन्त ऋतृमा पर्वतारोही हिमाल चढ्ने र ओरल्ने क्रम जारी रहेकाले प्रर्यटन विभागले फर्केका आरोहीको तथ्यांक जेठको मध्यसम्म जुटाउन सकेको छैन । हिमाल आरोहणका लागि हिँडेका कतिपय आरोही बाटामा, कतिपय बेसक्याम्पमा र कतिपय हिमालको चुचुरामा बाँडिएका कारण निश्चित तथ्यांक संकलन गर्न केही महिना लाग्ने सापकोटा बताउँछन् । वसन्त ऋतु जाडोको अन्त्य र गर्मीको सुरुआत हुने सयम हो ।

यस समयमा हिमालमा परेको हिउँ पग्लिेसकेको हुन्छ भने जमेको हिउँ मात्र बाँकी रहने हुनाले पर्वतारोहणका लागि उपयुक्त मानिन्छ । त्यसैले पर्यटन विभागले आरोहणको समयअनुसार राजस्वमा पनि फरक फरक दर राखेको सापकोटा बताउँछन् । अझ वसन्त ऋतुमा आरोहीको चाप बढी हुँदा हिमालमा ट्राफिक जामसमेत हुने गर्दछ । यस समयमा दूर सञ्चारले पनि बढी जार्च लिने गरेको सापकोटा बताउँछन् ।

पर्यटन विभागले नेपालका सानाठूला गरी ३ सय २६ ओटा हिमालमा आरोहणको स्वीकृत दिने गरेको छ । यसमध्ये सबैभन्दा बढीको चाहना सगरमाथा हुने गरेको छ भने त्यसपछि लोत्से, मुस्ताङ, आमादब्लाम, मनास्लु रहेको कुरा सापकोटाले जानकारी दिए । विदेशीको तुलनामा नेपाली आरोहीलाई राजस्वमा केही छुट गरेको छ । आफ्नै देशमा रहेको हिमाल धेरै नेपाली आरोहीहरू चढुन् भनेर नै यस्तो व्यवस्था गरिएको छ । विशेष गरी नेपाली सहयोगीको रूपमा जाने हुँदा रकम तिर्न नसक्ने पर्यटन विभागको बुझाइ रहेको छ ।

विदेशीलाई ७५ हजार अमेरिकी डलर छ भने नेपालीलाई मात्र ११ हजार अमेरिकी डलर रहेको छ । यसरी नेपालीलाई कम रकम लिनु भनेको स्वदेशी आरोहीलाई आकर्षण गर्नु मुख्य उद्देश्य देखिन्छ । वसन्त ऋतुमा भन्दा शरद ऋतुमा कम रकम लिनुको मुख्य उद्देश्य यस सिजनमा पनि आरोहीको संख्या बढोस् भन्ने नै रहेको छ । अन्य समयमा आरोहीको संख्या बढोस् भनेर नै सरकारले ५० प्रतिशत रकम सस्तो गरिएको सापकोटाले बताए ।

उनी भन्छन्, ‘अन्य सिजनमा हिमालको आरोहण आरोहीले गरुन् भनेर प्रोत्साहन रकम छुट्याउनुपर्ने हुन्छ । १२ महिना हिमाल आरोहणका लागि पर्यटक फलो गर्ने लक्ष्य पर्यटन विभागले बनाएको छ ।’ आरोहीसँगको राजस्व संकलनले देशको आर्थिक व्यवस्थामा मजबुद भएको छ । राजस्वविना हिमालको सफल आरोहण गरे पनि कुनै औचित्य हुँदैन । हिमाल आरोहण गर्ने टिममा एक देखि १५ जनाको टोली हुन्छ ।

यसरी आरोहण गर्दा सहयोगीको रुपमा नेपाली नै हुनुपर्ने नियम विभागको रहेको छ । नेपाली सहयोगी नलिई कुनै पनि विदेशी आरोहीले आरोहण गर्न पाउँदैनन् । कामदारको रुपमा विदेशी लान नपाइने नियम विभागले बनाएको छ । हिमाल आरोहण गर्दा गरेको फोहोर सफा गर्नुपर्नु सापकोटा जानकारी दिन्छन् । अन्य वर्षको तुलनामा यस वर्ष कम मानवीय क्षति भएको कुरा सापकोटाले जानकारी दिए ।

यस वर्षको वसन्त ऋतुमा आरोहण गर्ने मध्ये पाँच जनाले ज्यान गुमाएका छन् । हिमाल आरोहण गर्न आउने टिमका लागि गाइडको व्यवस्था ट्रेकिङ एजेन्सीले गरेका हुन्छन् । त्यसैले गाइडले एजेन्सी मार्फत मात्र अनुमतिका लागि विभाग आउनुपर्ने हुन्छ । आरोहण गर्ने गाइडले १५ लाख रुपैयाँको बिमा अनिवार्य गर्नुपर्ने हुन्छ । विदेशी आरोहीले भने आफ्नै देशमा बिमा गरी नेपाल आउने गरेका छन् ।

आठ हजारभन्दा माथिका हिमाल आरोहण गर्ने पर्वतारोही टिमले कम्तिमा एक÷डेढ महिनामा सफल आरोहण गर्ने गरेका छन् । कम उचाइ भएका हिमाल चढेर अनुभव बटुलेका आरोहीले भने सगरमाथा चढ्न १५ देखि १६ दिन लगाएको रेकर्ड पर्यटन विभागमा रहेको छ । यसरी सफल आरोहणपश्चात पर्यटन विभागले सफल आरोहीको प्रमाणपत्र दिने गरेको छ ।

यस वर्षको वसन्त ऋतुमा आरोहण गर्नेमा महिला भन्दा पुरुषको संख्या बढी रहेको छ । विशेष गरी हिमाल आरोहणको सहयोगी तथा गाइडको रुपमा शेर्पा समुदाय अगाडि रहेका छन् । उनीहरुको जीविकोपार्जन नै यसैबाट चलेको भन्दा पनि अत्युक्ति नहोला । नेपाल सरकारले आरोही व्यवस्थापनको सम्पूर्ण जिम्मा नेपाल पर्वतारोही संघलाई दिएको छ ।

त्यसैले समय समयमा नेपाल सरकारले नेपाल पर्वतारोही संघलाई आरोही व्यवस्थापनका लागि अनुदान सहयोग पनि दिने गरेको छ । यसै संघमार्फत नै आरोहीका लागि ट्रेडिङहरू सञ्चालन हुने गरेको छ । हाल शेर्पा समुदायसँगै अन्य जातिका पनि गाइडमा अभिरुचि देखाउँदै आएका छन् । विशेष गरी हिमालमै जन्मी, हुर्की त्यहीँको हावापानीमा भिजेका हुनाले शेर्पा समुदायले वरदान नै पाएका छन् ।

त्यसैले हिमाल आरोहण शेर्पाको पैत्रिक पेसा हो भन्दा पनि फरक पर्दैन । शेर्पा समुदायका कैयौँ पुस्ता यसै पेसामा लागेको कुरा सापकोटा बताउँछन् । जसरी व्यापारीको छोरा व्यापारबाट आफ्नो जीवनको सुरुआत गर्छ भने शेर्पा समुदाय हिमालको आवतजावतबाट नै आफ्नो पहिचान अघि बढाउँछन् । पर्वतारोहीले हिमाल आरोहण गर्दा लगाउने लुगादेखि प्रयोग गर्ने हतियारसम्म बोक्नुपर्ने हुन्छ ।

अन्य स्थानको तुलनामा माइनस तापक्रम भएको स्थानमा जाँदा आरोहीले त्यहि अनुसारको वेशभुषा लगाएर जानुपर्ने हुन्छ । पर्वतारोहण एउटा व्यक्तिले गर्ने कार्य होइन । यो समूह मिलेर गर्नुपर्ने हुन्छ । हिमाल आरोहण एक साहसिक कार्य हो ।आरोहणको क्रममा कुनै जोखिम आइपरेमा त्यसको अध्ययन नगरी आरोहण गर्नु हुँदैन । अन्य देशको तुलनामा नेपालमा हिमाल गर्ने सम्भावना बढी छ । विदेशीले नेपालमा आई हिमाल आरोहण गर्नुलाई साहसिक कार्य मान्दछन् ।

यसैवर्ष नेपालका ४८ वर्षीय कामीरिता शेर्पाले २२औँ पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका छन् भने दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयुले पनि सफल आरोहण गरेका छन् । सगरमाथामाको पहिलो सफल आरोहण गरेको दिन अर्थात मे २९ लाई हिमाल आरोहण दिवसको रूपमा मनाउने गरिएको छ । यसै दिन पर्यटन विभागले हिमाल आरोहण गरेका स्वदेशी तथा विदेशी नागरिकलाई सम्मानसमेत गर्ने गरेको छ ।

प्रतिक्रिया