शासन सत्तामा कम्युनिस्ट एकताको प्रभाव

‘नेपालमा रहेको गरिबीलाई हुबहु राजनीतिमा रूपान्तरित गर्न सक्षम रहनु वाम समूहको राजनीतिक चातुर्यता पनि हो । गरिबी नै नेकपा एमाले एवं माओवादी समूहबीच विगतमा कायम रहेको असहमतिको बाबजुद पनि एकताको सूत्रधार हो ’

प्रदीप उप्रेती विश्व जनमञ्चमा लोकतान्त्रिक शक्तिहरूले आफ्नो आधिपत्यता जमाएको २१आैँ शताब्दिको परिवेशमा कम्युनिस्ट सिद्धान्तलाई आत्मसात गर्ने समूह ज्यादै न्यून मात्रामा रहेको पाइन्छ । थोरै मुलुकले मात्र आफ्नो शासकीय पद्धतिको रूपमा यस सैद्धान्तिक पृष्ठभूमिलाई अंगिकार गर्दै आएका छन् ।

सैद्धान्तिक पद्धतिका आधारमा एसियामा कम्युनिस्ट शक्तिको बाहुल्यता रहेको मुलुकको नाम उच्चारण गर्नुपर्दा नेपालको उत्तरी छिमेकी राष्ट्र चीन र उत्तर कोरियाको नाम लिन सकिन्छ । नेपालमा कम्युनिस्ट संगठनको आरम्भ २००६ सालबाट भएको हो ।

राजा महेन्द्रले नेपालको लोकतान्त्रिक समूह मानिने नेपाली कांग्रेस लगायतका अन्य केही पार्टीगत समूहलाई कमजोर तुल्याउने नियतवश राष्ट्रवादी समूहको रूपमा आफ्नो प्रतिनिधित्व कायम गर्दै आएको वाम समूहसँग सामिप्यता बढाउँदै लगेका हुन् । तर, यो यर्थाथतालाई आजका वाम समूहका कार्यकर्ताले सहज रूपमा विश्वास गरी हाल्ने पक्षमा रहेको पाइँदैन ।

किनकी मुलुकको राष्ट्रियताको प्रश्नमा लोकतान्त्रिक समूहभन्दा कम्युनिस्टहरू अग्रणी स्थानमा रहेको पाइन्छ । कांग्रेसभित्र राष्ट्रियताको सवालमा अपवाद बाहेक त्यति मार्मिक रूपमा चिन्तनको तयारी भएको भेटिएन । यहि नेपाली राष्ट्रवादको विषयगत बुँदा नै लोकतान्त्रिक एवं वाम समूहबीचको द्वन्द्वात्मक अवस्था हो । जुन विभेदकारी अवस्थालाई वाम समूहले टपक्कै टिपी नेपाली जनमानसको ढुकढुकीमा निर्वाचनको समयमा सफल रूपमा राख्न सफल भएको पाइन्छ ।

उक्त कदम पश्चात् : निर्वाचनजन्य गतिविधिमा सफलता प्राप्ति गर्दै नेकपा माओवादीसँग कतिपय विषयगत विधाहरूमा विविधता रहँदा रहँदै पनि गठबन्धनमा आबद्ध रहन सफल भई एकता प्रयासको सैद्धान्तिक पृष्ठभूमि तयार भएको हो ।राष्ट्रियता तथा समृद्धिको मार्गलाई इमान्दारीतापूर्वक डोर्याएकै कारण नेपाल, नेपाली जनता, प्रतिपक्षमा रहने मुलुकका अन्य लोकतान्त्रिक समूहलगायत समस्त दक्षिण एसियामा नै नौलो एवं कौतुहलित राजनीतिक तरंग भर्न सम्बद्ध पक्ष सफल भएका हुन् ।

नेपालको राजनीतिमा देखिएको वर्तमान अवस्थाप्रति नेपालका अन्य राजनीतिक समूह लगायत छिमेकी मुलुक भारतमा समेत सूक्ष्मरूपमा अध्ययन गर्दै चर्चा परिचर्चाहरू निश्चित रूपमा सुरू भइसकेको वर्तमान अवस्था समेत हो । समाहित दुई समूहमध्ये एक समूह विगत केहि समय अगाडिसम्म बन्दुकलाई विश्वास गर्ने समूह भएको हुँदा एकताको बारेमा अझ बढी रोचकता एवं जिज्ञासा विश्व जनमतमा थपिएको हो ।

यस समूहको अर्को महत्वपूर्ण विशेषता भनेको समस्त दक्षिण एसियामा नै करिब–करिब मृतप्रायः भइसकेको कम्युनिस्ट सैद्धान्तिक पृष्ठभूमिमा नेपालको निर्वाचन पद्धतिमार्फत शासन व्यवस्थामा समाहित रहनु अर्को रोचक प्रसंग हो । यसबाहेक करिब–करिब ५२ प्रतिशत नेपाली जन प्रतिनिधिमूलक निर्वाचित समूहमा रहनु अर्को आकर्षणको केन्द्रविन्दु मान्न सकिन्छ ।

हिमाली गणराज्य नेपालमा कम्युनिस्ट समूहको बाहुल्यता एवं वर्चस्व देखिएको हुँदा विश्व जनमतले पुनः एकपटक पक्कै पनि कम्युनिस्ट दर्शनसम्बन्धी विधामा आत्मबोध सहितको मूल्यांकन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कम्युनिस्ट राजनीतिक दर्शनको प्रभाव विश्वमाझ न्यूनरूपमा रहँदारहँदै पनि नेपालको सन्दर्भमा झांगिदै जानुको रहस्यमय कारकतत्वको बारेमा राजनीति गर्नेहरूका लागि अवश्य पनि अध्ययनको विषयवस्तु बन्न पुगेको छ ।

छिमेकी मित्रराष्ट्र भारत समस्त दक्षिण एसियाको घरेलु राजनीतिमा विशेष महत्व राख्ने पक्ष हो । साथै, छिमेकमा दबाबकारी रणनीति निर्माण गर्न समक्ष रहेको भारत विश्वको उदयमान शक्ति पनि हो । देशभित्रै घोषित अघोषित मतभेदको बाबजुद पनि राष्ट्रिय एकता सम्भव रहनु भारतको महत्वपूर्ण पाटो हो । प्रस्तुत अवस्थालाई अध्ययन गर्ने हो भने मित्रराष्ट्र भारतसमेत नेपाल नीतिमा कहिँ न कहिँ असफल भएको देखिन्छ ।

यस्ता क्रियाकलापको विकासले भारतको आन्तरिक राजनीतिमा समेत दूरगामी प्रभाव पर्न जाने सम्भावनालाई नजरअन्दाज गर्न पक्कै पनि मिल्दैन । जसको कारण भारतको वर्तमान सत्तामा आसिन रहेको समूहको राजनीतिक दर्शनमा समेत विरोधका स्वरहरू प्रबल रूपमा गुञ्जायमान हुन सक्ने देखिन्छ । भारत एवं सम्पूर्ण दक्षिण एसियामा रहेका अन्य वाम समूहलाई नेपालको वाम एकताले निश्चय पनि आत्मबल प्रदान गर्ने भएको हुदा एकपटक भारत लगायत सम्पूर्ण दक्षिण एसियाको राजनीतिमा तरङ्ग आउने छ ।

नेपालको राजनीतिक दर्शनमा धेरै जसो अवस्थामा मुखरित हुने आवाज भनेको राजाको अभाव नै कम्युनिस्ट उद्गमता हो भन्ने तथ्यलाई वास्तविक रूपमा प्रमाणित गरेको अवस्था हो वा आर्थिक समृद्धिको लागि एकाकार भएका राजनीतिक समूहको जमात हुन् भन्ने तथ्यलाई राम्ररी मनन गर्नुपर्ने परिस्थितिको जन्म भएको पाइन्छ ।

उक्त तथ्यलाई आम नागरिक समाजलगायत विश्व जनमतले पर्ख र हेरको अवस्थामा राखेकोे हुँदा सम्बद्ध पक्षले विशेष सावधानी अपनाउदै आफ्नो कार्यगत एकतालाई अगाडि बढाउनुपर्ने चुनौतीसमेत थपिएको छ । १९औँ शताब्दिको मध्यतिर कार्ल माक्र्सद्वारा प्रतिपादित प्रस्तुत राजनीतिक दर्शन हालको परिपेक्षमा अपवादबाहेक विश्व जनसमुदायको लागि अफापकारी दर्शनको रूपमा लिइएको छ ।

तर पनि नेपालमा यसको प्रभावकारिता एवं उपादेयता अझै सान्दर्भिक छ भन्ने कुरालाई वाम एकताले नेपाललगायत विश्वसामु सम्प्रेषण गरेको छ । कम्युनिस्टहरूको उर्वरभूमि मानिएको तत्कालिन सोभियत संघमा समेत समयसापेक्ष नदेखिएको प्रस्तुत राजनीतिक दर्शन नेपालको माटो सुहाउँदो हुन्छ वा हुँदैन भन्न सकिने प्रष्ट आधार अन्य राजनीतिक सम्प्रदाय लगायत आम जनसमुदायलाई प्रष्ट गर्नुपर्ने समयको माग हो ।

अधिकांश राजनीतिक शिक्षाको अभावले मौलाएको वर्तमान अवस्था हो वा यथार्थ मै नेपाली जनको चाहना वाम एकता हो अझै यथार्थ रूपमा बुझन नसकिएको अवस्था भएको हुँदा अन्य समुदायले समेत शर्तकता अपनाउनुपर्ने हुन्छ । साथै, समस्त दक्षिण एसियाको क्षेत्रीय राजनीतिमा वाम एकताले कस्तो प्रभाव पार्छ, सोही अनुपातमा यसको अल्पकालिन एवं दिर्घकालीन सकारात्मक वा नकारात्मक लक्षणहरू आफैँ जनमानसमाझ अवश्य पनि आउने नै छ ।

सैद्धान्तिक तवरले हेर्दा अन्य लोकतान्त्रिक समूहको तुलनामा कम्युनिस्ट गठबन्धनको अभिवृद्धि हुनुमा अशिक्षित जनसमुदायको बाहुल्यता एवं गरिबीलाई प्रमुख तत्वको रूपमा लिन सकिन्छ । आर्थिक विकासको अभावमा रहेको गरिबीको कूचक्र आज पर्यन्त नेपाली माटोमा रहनु नै वाम समूहलाई एकाकार गर्ने मजबुती आधार मान्न सकिन्छ । मूलतः विकासको अभावमा समाजमा देखिएको गरिबीलाई आम जनमानस माझ खरोरूपमा उत्तार्दै आफ्नो लक्ष्यको दैलो उघार्न सम्बद्ध पक्ष सफल रहेका हुन् भन्दा त्यति अत्युक्ति नहोला ।

नेपालमा रहेको गरिबीलाई हुबहु राजनीतिमा रूपान्तरित गर्न सक्षम रहनु वाम समूहको राजनीतिक चातुर्यता पनि हो । गरिबी नै नेकपा एमाले एवं माओवादी समूहबीच विगतमा कायम रहेको असहमतिको बाबजुद पनि एकताको सूत्रधार हो ।बृहत् राजनीतिक परिवर्तन पश्चात् एकतामा आबद्ध भएका दुई वाम समूहको गठबन्धन तथा त्यसबाट प्राप्त हुने असरले मुलुकको भावी रणनीतिक क्रार्यक्रम कुन रूपमा अगाडी बढ्छ तत्पश्चात् नेपाल र नेपालीहरूको वास्तविक भविष्य निर्धारण गर्न सम्भव रहन्छ ।

यसका अतिरिक्त एकतामा समाहित भएका यी दुई घटकहरू राष्ट्रिय हितको लागि एकीकृत भएका हुन् वा अन्य कुनै उद्देश्य प्राप्तिको लागि भन्ने कुराको अन्तिम निर्णय गर्ने वास्तविक अधिकार सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको नै हो । जसले निःसन्देह सही समयमा आवश्यक निर्णयहरू दिने नै छन् ।

नेपालको राजनीतिमा लोकतान्त्रिक समूहको खम्बा मानिएको नेपाली कांग्रेसमा आएको आन्तरिक कलहको साथै मुलुक र जनताप्रति पूर्णरूपमा बफादार हुन नसकी आन्तरिक द्वन्द्वमा उन्मुख भएको कारण नेपाली जनसमुदायले अन्य लोकतान्त्रिक समूहको अभावमा मुलुकको राष्ट्रिय राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा वाम समूहलाई आसिन गराउने निर्णय गरेको हुँदा वर्तमान एकताले पूर्णता पाएको हो ।

जे भएता पनि लामो संक्रमणकालीन द्वन्द्वात्मक परिवेशबाट आक्रान्त भएका नेपाली जनताले द्वन्द्वबाट मुलुकलाई क्रमशः शान्तिमा रूपान्तरित गर्दै आर्थिक समृद्धि स्थिरता तथा समयानुकुल विकासको पक्षधर शक्तिको रूपमा एकीकृत वाम समूहलाई औँल्याएका हुन् ।

तसर्थः जनविश्वासलाई तिरस्कार गर्ने दृष्टता एकीकृत कम्युनिस्ट पार्टीबाट नहोस् । मुलुकको विकासमा काँधमा काँध मिलाई समृद्धिको उन्नत मार्गमा उन्मुख भई निरन्तररूपमा अगाडी बढ्दै जाओस् । तद्अनुरूप हालसम्म नेपाली जनताले कल्पना गर्न नसकेको आर्थिक विकासको प्रतिफल प्राप्त गर्ने योग्यता प्रदर्शन गर्दै आगामी केही वर्ष भित्रमा नै आर्थिक समृद्धि हासिल गर्न हर प्रकारले सफल रहोस् ।

प्रतिक्रिया