अमेरिकी किशोरकिशोरीमा फेसबुक मोह ‘घट्दै’

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक र अमेरिकी किशोरकिशोरीबीच पछिल्लो समय दूरी बढ्दै गएको छ । पछिल्लो समय उनीहरूमाझ अरू माध्यमहरू लोकप्रिय हुँदै गएका छन् ।

द प्यू रिसर्च सेन्टरका अनुसार १३ देखि १७ वर्षका अमेरिकी किशोरकिशोरीमध्ये ५१ प्रतिशतले मात्रै फेसबुक प्रयोग गरिरहेको पाइएको छ । यो सन् २०१५ को तुलनामा २० प्रतिशतले कम हो ।

अमेरिकी किशोरकिशोरीमाझ सबैभन्दा बढी लोकप्रिय युट्युब रहेको पाइएको छ, जसको प्रयोग ८५ प्रतिशत किशोरले गर्छन् ।

द प्यू रिसर्च सेन्टरको सर्वेक्षण अनुसार ७२ प्रतिशत किशोरकिशोरीले इन्स्टाग्राम र ६९ प्रतिशतले स्न्यापच्याट प्रयोग गर्ने गरेका छन् । कुनैबेला सबैभन्दा बढी प्रयोग गरिने ट्विटर अहिले ३२ प्रतिशत किशोरकिशोरीले मात्रै प्रयोग गरिरहेका छन् । सर्वेक्षणमा सहभागी १० प्रतिशतले मात्रै अरू सामाजिक सञ्जालभन्दा फेसबुक प्रयोग गर्ने गरेको बताएका थिए ।

फेसबुकका साथै इन्स्टाग्रामका पनि मालिक भएकाले क्यालिफोर्नियास्थित मार्क जकरबर्गको कम्पनीले अहिलेसम्म राम्रो व्यापार गरिरहेको बतान्छ । तर युट्युब र ट्विटर सञ्चालन गर्दै आएको गुगलले किशोरकिशोरीमाझ पकड बढाउँदै गएको देखिन्छ ।

सर्वेक्षणका अनुसार तीन वर्षअघि ७३ प्रतिशत अमेरिकी किशोरकिशोरीसँग स्मार्टफोन भएकोमा अहिले बढेर ९५ प्रतिशत पुगेको छ ।

अध्ययन अनुसार बढी आय हुने परिवारका किशोरकिशोरीले भन्दा कम आय हुने परिवारका किशोरकिशोरीले फेसबुकमा बढी समय बिताउन रुचाउने गरेको देखाएको छ ।

किशोरकिशोरीको जीवनमा सामाजिक सञ्जालको असरबारे चाहिँ सो अध्ययनले कुनै स्पष्ट नतिजा देखाएको छैन ।

३१ प्रतिशतले सामाजिक सञ्जालको सकारात्मक प्रभाव भएको बताएका छन् भने २४ प्रतिशतले नकारात्मक भएको जवाफ दिएका छन् । तर, ४५ प्रतशितले सकारात्मक वा नकारात्मक कुनै प्रभाव नपार्ने बताएका छन् ।

एक १५ वर्षीया किशोरीले भनिन, ‘मेरो विचार सामाजिक सञ्जालका कारण तपाईँ एक्लोपन महसुस गर्न पाउनुहुन्न । तपाईँ आफ्नो उमेरका मान्छेसँग कुरा गर्न सक्नुहुन्छ ।’

सोही उमेरका एक किशोरले भने, ‘सामाजिक सञ्जालका कारण वास्तविक जीवनमा सामाजिक बन्न झन् गाह्रो हुन्छ । सामाजिक सञ्जालका कारण तपाईँले व्यक्तिगत रूपमा मानिसहरूसँग भेटघाट गरिरहेको हुँदैन ।’ बीबीसी

प्रतिक्रिया